रौतहट । रौतहटस्थित गौरका एक युवकको भारतको बिहारको रामगढवा बजारमा गोली हानेर हत्या भएको छ । भारतको रक्सौलबाट करिब १३ किलोमिटर मोतीहारी जाने मुलसडकको रामगढवामा मंगलबार गौरनगरपालिका-९ का ४० वर्षीय दिलीप सिंहमाथि अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको हो।
भारतको मुजफ्फरपुरबाट मिलको रकम संकलन गरी फर्किरहेका सिंहलाई मिल नजिकै अज्ञात समूहले गोली हानेका थिए ।
गोली सिंहको छातीमा लागेको र घटनास्थलमै मृत्यु भएको मृतकका नातेदार गौर नगरपालिका- ९ का वडाध्यक्ष अर्जुन सिंहले बताए। उनको साथमा रहेको २९ लाख भारतीय रुपैयाँ उक्त समूहले लुटेको छ।
लुटेरा समूहले प्रयोग गरेको बिआर २९ जी ७८५१ नम्बरको बोलेरो जीप प्रहरीले घटनास्थलबाट बरामद गरेको र थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ।
रौतहटका प्रहरी प्रवक्ता डीएसपी दामोदर केसीले घटनाको पुष्टि गरेका छन् । मृतकको शव मंगलबार साँझ परिवारलाई जिम्मा लगाइएको र भारतीय प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताए।

















