काठमाडौं । प्यालेस्टाइनी समूह हमाससँगको युद्धबाट ग्रस्त इजरायलमा रहेका धेरै नेपालीले स्वदेश फर्किन अस्वीकार गरेका छन् ।
इजरायलको तेल अबिबस्थित नेपाली राजदूतावासका अनुसार आक्रमणको सुरुवाती समयमा अनलाइन नाम दर्ता गराएका नेपालीहरू पुनः सम्पर्कमा आउन छाडेका छन् । दूतावासका प्रथम सचिव अर्जुन घिमिरेका अनुसार मंगलबार भारतले आफ्नो उद्धार विमानमा नेपालीका लागि २० वटा सिट उपलब्ध गराए पनि १८ जना मात्रै सम्पर्कमा आएका थिए ।
घाइते भएकामध्ये एक जना डिस्चार्ज भएर नेपाल आइसकेका छन् भने एकजना इजरायलमा नै दूतावासको निगरानीमा छन् । बाँकीको पनि अस्पतालनबाट छिट्टै डिस्चार्ज गर्ने तयारी चलिरहेको छ । एकजना नेपाली विद्यार्थी विपिन जोशी भने घटनाकै दिनदेखि सम्पर्क विहीन छन् । दूतावासका प्रथम सचिव घिमिरेका अनुसार विपिनको खोजीलाई प्राथमिकताका साथ अघि बढाइएको छ ।
अहिलेसम्म कुनै नतिजा हात लाग्न सकेको छैन । घटनामा परी ज्यान गुमाएका १० जनामध्ये पाँच जनाको शव इजरायलले नेपाली राजदूतावासलाई हस्तान्तरण गरिसकेको छ । बाँकी पाँच जनाको शवको पहिचान र केही कानुनी प्रक्रिया बाँकी रहेको दूतावासले जनाएको छ । छिट्टै मृतकका शव नेपाल पठाउने तयारी भइरहेको घिमिरेको भनाइ छ ।















