भूकम्पमा परी जाजरकोटमा मात्रै ३ हजार ६ सय ५० घरमा क्षति

55

जाजरकोट । भूकम्पमा परी जाजरकोटमा मात्रै ३ हजार ६ सय ५० घरमा क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटको प्रारम्भिक तथ्यांकअनुसार भूकम्पका कारण जाजरकोटमा मात्रै ९ सय ५ घर पूर्णरुपले क्षतिग्रस्त भएका छन् ।

प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार भूकम्पका कारण जिल्लाभर ३ हजार ६ सय ५० घरमा क्षति पुगेको हो । त्यसमध्ये ९ सय ५ घर पूर्णरुपले क्षतिग्रस्त भएका छन् भने २ हजार ७ सय ४५ घरमा आंशिक क्षति पुगेको छ ।

सबैभन्दा धेरै भेरी नगरपालिकामा ३ सय ४४ वटा घर पूर्णरुपले क्षतिग्रस्त भएका छन् । नलगाड नगरपालिकामा २ सय घरमा क्षति पुग्दा छेडागाड नगरपालिकामा एक सय घरमा क्षति पुगेको छ । त्यस्तै, कुशे गाउँपालिकामा ९५, बारेकोट गाउँपालिकामा १ सय ६०, शिवालय गाउँपालिकामा १ र जुनिचाँदे गाउँपालिकामा ५ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

भूकम्पका कारण जाजरकोटमा मात्रै १ सय ५ जनाको मृत्यु भएको छ । मृतकमध्ये सबैभन्दा धेरै नलगाड नगरपालिकाका छन् ।

प्रमुख जिल्ला अधिकारी सुनारका अनुसार नलगाड नगरपालिकाका मात्रै ५५ जनाको मृत्यु भएको छ । भेरी नगरपालिकाका ३८, छेडागाड नगरपालिकाका १, कुशे गाउँपालिकाका ७ र बारेकोट गाउँपालिकामा ४ जनाको मृत्यु भएको छ ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा १ सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पमा परी दुई सयभन्दा बढी घाइते भएका छन् भने स्थानीयवासीका हजारौँ घरगोठलगायत भौतिक संरचनामा क्षति पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here