काठमाडौं । प्रचण्ड नेतृत्वकाे सरकारले टिकटकमा लगाएकाे प्रतिबन्ध विरुद्ध राजधानीकाे माइतीघर मण्डलामा युवाहरूले प्रदर्शन गरेका छन्।
उनीहरूले साेमबार बिहान टिकटक बन्द हाेइन, भ्रष्टाचार बन्द गर सरकार भन्दै प्रदर्शन गरेका हुन्।
‘देशमै गरिखान देऊ’, ‘मेराे अधिकार कहाँ छ?’, ‘टिकटक प्रतिबन्ध खारेज गर’, ‘तानाशाही बन्द गर’, ‘टिकटक बन्द हाेइन, भ्रष्टाचार बन्द गर’ लगायतका नारा लेखिएका ब्यानरसहित प्रदर्शन गरेका छन्।
कात्तिक २७ गते बसेकाे मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियाे।
टिकटकबाट सामाजिक सद्भाव विगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय सरकारले गरेकाे हाे।
टिकटक प्रतिवन्धविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन्। टिकटकमाथि लगाएको प्रतिवन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजैबाट सुनुवाइ प्रारम्भ हुँदैछ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले रिट दायर गरेका थिए। टिकटकमा प्रतिवन्ध लगाएकाे भन्दै सरकारकाे चाैतर्फी विराेध भइरहेकाे छ।


















