प्रेस काउन्सिल नेपालको द्वन्द्व बढाउने सामग्री हटाउन निर्देशन

45
?????????????????????????????

काठमाडौं । प्रेस काउन्सिल नेपालले मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंसँग जाेडिएका भिडिओसहित असान्दर्भिक, अफवाह फैलाउने तथा द्वन्द्व बढाउने सामग्री हटाउन विभिन्न मिडिया तथा युट्युब च्यानललाई निर्देशन दिएको छ । बुधवार एक विज्ञप्ति जारी गर्दै काउन्सिलले त्यस्ता सामग्री हटाउन निर्देशन दिएको हो ।

“राजनीतिक दल, समूह एवं सामाजिक अभियन्ता समूहबाट हुने भनिएको प्रदर्शनीको विषयलाई लिएर एकपक्षीय सामग्रीलाई प्रश्रय दिई प्रायोजित एवं एकोहोरो रूपमा जनमानसलाई उत्तेजित, त्रसित पार्ने भाषा शैलीमा हिंसा, आतङ्कलाई प्रश्रय पुग्ने किसिमबाट सामग्री सम्प्रेषण भई आचारसंहिता उल्लङ्घन गर्नेमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ,” काउन्सिलले विज्ञप्तिमा उल्लेख गरेको छ ।

त्यस किसिमका सामग्री सम्प्रेषण हुनु प्रचलित कानून एवं पत्रकारिता आचारसंहिता विपरीत कार्य भएको काउन्सिलको ठहर छ । काउन्सिलका अनुसार पछिल्लो समय यस्ता सामग्री प्रकाशन/प्रसारण भएकोबारे कार्यालयमा गुनासो तथा उजुरी पर्ने गरेका छन् ।

काउन्सिलले दर्ता सूचीकृत भएका सञ्चारमाध्यमलाई सामाजिक सञ्जालबाट त्यस्ता सामग्री सम्प्रेषण भएको अवस्थामा २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न पनि पत्राचार गरेको छ ।

प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले टेकपानासँग कुरा गर्दै मिडियाअन्तर्गत आवद्ध नभएका सामाजिक सञ्जाल (युट्युब च्यानल)बाट आचारसंहिता विपरीत अफवाह फैलाउने, द्वन्द्व बढाउने, अश्लील सामग्री सम्प्रेषण गर्ने, घृणास्पद अभिव्यक्ति लगायतका भ्रमपूर्ण सामग्री हटाउन निर्देशन दिइएको बताए ।

“काउन्सिलमा दर्ता भएका मिडियालाई हामीले हाम्रो तरिकाले पत्राचार गरेका छौं,” उनले भने, “तर दर्ता नभएका सामाजिक सञ्जालका पेज तथा युट्युब च्यानलमाथि थप अनुसन्धान गरी कारवाही गर्न साइबर ब्यूरोमा पत्राचार गरिएको छ । योभन्दा पहिले पनि ३५ ओटा मिडियालाई निगरानीमा राखेर पत्राचार गरेका थियौं । त्यसको एउटा सिरिज मात्र हो यो । त्यसमा दुर्गा प्रसाईं सम्बन्धी भिडिओ पनि छन्, अनि अन्य अश्लील भिडिओ, हिंसा मच्चाउने भिडिओ पनि छन् ।”

काउन्सिलले आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गरेकाे भन्दै युट्युब च्यानल/फेसबुक पेजहरू भृकुटी टिभी, डिम्पल म्यागेजिन, वीर गोर्खाली अनलाइन टिभी, एभरेस्ट नेपाल, एरो खबर र आवाजपाटी टिभीलाई​ त्यस्ता सामग्री हटाउन निर्देशन दिएकाे छ ।

स्पष्टीकरण तथा निर्देशन दिइएका अन्य १२ युट्युब च्यानल/फेसबुक पेजहरू भने प्रेस काउन्सिलमा मिडियाअन्तर्गत सूचीकृत भएका छन् । काउन्सिलको कारबाहीमा परेका अधिकांश युट्युब च्यानलहरूका पछिल्ला भिडिओ सामग्रीहरू दुर्गा प्रसाईं र उनकाे अभियानसँग सम्बन्धित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here