एजेन्सी । बलिउड अभिनेता सलमान खानको घर ग्यालेक्सी अपार्टमेन्टमा गोली चलाउने व्यक्तिको पहिचान खुलेको छ।
सोमबार सामाजिक सञ्जालमा एक तस्बिर भाइरल भइरहेको छ। जसमा गोली चलाउने एक व्यक्तिले कालो र सेतो रंगको टिर्सट लगाएका छन् भने अर्काे व्यक्तिले रातो टिर्सट लगाएका छन्।
उनीहरू दुवैजना गोली चलाएपछि बान्द्रा रेलवे स्टेशनमा देखिएका थिए। भारतीय सञ्चारमाध्यमका अनुसार एकको नाम विशाल उर्फ कालू जनाइएको छ।
उनीहरूलाई गोली चलाउन बिश्नोई ग्याङका रोहित गोदाराले सुपारी दिएका थिए। विशालले गत महिना गुरूग्रामको एक ढाबामा गोली चलाएर एक व्यक्तिको हत्या गरेका थिए। त्यतिबेलादेखि नै उनी फरार थिए। उनी रोहित गोदाराको लागि विदेशमा बसेर काम गरिरहेका थिए।
शनिबार बिहान मोटरसाइकलमा आएका दुई जनाले सडकबाटै सलमान खान बस्ने घरमा गोली चलाएका थिए। उनीहरूले गोली चलाउन चोरीको मोटरसाइकल प्रयोग गरेका थिए।
त्यहाँ उनीहरूले पाँच राउन्ड गोली चलाएर फरार भएका थिए। सलमान खानलाई वाइ प्लस श्रेणीको सुरक्षा दिइएको छ। त्यसमा ११ जना प्रहरी खटिने व्यवस्था छ।


















