काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्नातक तहमा एक वर्षको बीचमा दुई वर्षको परीक्षामा सामेल गराएको तर ट्रान्सकृप्ट नदिएको भन्दै केही विद्यार्थीहरुले रजिष्ट्रार कार्यालय परिसरमा धर्ना दिएका छन् ।
त्रिचन्द्र र इटहरी मल्टिपल क्याम्पसका विज्ञान संकायको स्नातक तहका विद्यार्थीहरु धर्नामा बसेका छन् । यो धर्नालाई आफूहरुले पनि साथ दिएको अखिल क्रान्तिकारी क्याम्पस जिल्ला समिति अध्यक्ष प्रदीप भण्डारीले बताए ।
‘०७५ सालको पहिलो वर्षको परीक्षा दिएका विद्यार्थी ०७६ सालमा दोस्रो वर्षमा भर्ना भए, तर परीक्षा फर्म भरेनन्,’ दाहालले भने, ‘०७७ सालमा भने दोस्रो वर्षको आंशिकको रुपमा र तेस्रो वर्षको नियमितको रुपमा परीक्षामा सहभागी गराइयो । ०७८ सालमा चौथो वर्ष परीक्षा पास भइसके । तर त्रिविका पदाधिकारीले ओभरल्यापिङ भएकालाई ट्रान्सकृप्ट दिने नियम छैन भन्छन् ।’
धर्नामा बसेका विद्यार्थीहरुलाई अखिल क्रान्तिकारी क्याम्पस जिल्ला अध्यक्ष प्रदिप भण्डारीले ऐक्यबद्धता जनाएका छन् । उनले विद्यार्थीको माग पूरा जायज भएकाले त्रिविले माग पूरा गर्नुपर्ने जनाए । ‘माग पूरा भएन भने थप आन्दोलन गर्छौं,’ भण्डारीले सुनाए ।


















