ललितपुर । ललितपुर महानगरपालिकाले चुनिखेल र नख्खु करिडोरका सुँगुर/बङ्गुरमा अफ्रिकन स्वाइन फिभर सङ्क्रमण देखिएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । वडा नम्बर २२ चुनिखेल, नख्खु करिडोरमा सुँगर/बङ्गुरमा लाग्ने महामारीजन्य रोग अफ्रिकन स्वाइन फिभर देखा परेको महानगरले जनाएको छ ।
गएको कात्तिक २५ गते केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरको पीसीआर रिर्पोटबाट सङ्क्रमण पुष्टि भएकोले राेग फैलिन नदिनका लागि उच्च सतर्कता अपनाउन किसान/व्यवसायीलाई महानगरको पशु सेवा शाखाले अनुरोध गरेको छ ।
फर्ममा जैविक सुरक्षाका विधि अवलम्बन गर्न, बङ्गुर पालिएको खोर र फार्म परिसरमा नियमित सरसफाइ गरी चुना, ब्लिचिङ्ग पाउडर, फर्मालिन लगायतका निःसङ्क्रमणका औषधिहरू प्रयोग गरी निःसङ्क्रमण गर्न र रोगको शङ्का लागेका पशुहरूलाई बथानबाट अलग्गै राख्न महानगरले अनुरोध गरेको छ ।
यस्तै मरेका पशुलाई राम्रोसँग खाडलमा गाड्न तथा जलाउन, घरपालुवा सुँगुर/बङ्गुरलाई जङ्गली बँदेलको सम्पर्कमा आउन नदिन, अनिवार्य रूपमा स्वास्थ्य प्रमाणपत्र लिएर मात्र स्वस्थ सुँगुर/बङ्गुर वा मासुको ओसारप्रसार गर्न/गराउन र सुँगुर/बङ्गुर तथा बँदेललाई होटेल/रेस्टुरेन्टबाट फालिएका खानेकुरा नखुवाउन ललितपुर महानगरपालिकाले आग्रह गरेको छ ।


















