काठमाडौं । लामो समयदेखि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई पार्टीमा जिम्मेवारी दिने चर्चा चले पनि नेकपा माओवादी केन्द्रले अझै यस विषयमा निर्णय गर्न सकेको छैन । सोमबार बसेको पार्टीको पदाधिकारी बैठकले पनि यसबारे कुनै निर्णय गरेन ।
आजको बैठकले केही पदाधिकारीको जिम्मेवारी हेरफेर र कार्यविभाजन गर्दा पासाङको विषयमा भने कुनै निर्णय नभएको बैठकमा सहभागी नेताहरूले जनाएका छन् । उनलाई जिम्मेवारी दिने विषयमा छलफल बाँकी नै रहेको उपमहासचिव हरिबोल गजुरेलले बताए । ‘पासाङजीलाई दिइने जिम्मेवारीबारे बैठकले कुनै निर्णय गरेको छैन । छलफल बाँकी नै छ । उहाँ अहिले आमन्त्रित सदस्यका रूपमा बैठकमा आइरहनुभएको छ । सायद अर्को बैठकले निर्णय गर्ला । आन्तरिक र बाहिरी अवस्था मूल्यांकन गरेर पार्टीले निर्णय गर्छ,’ रातोपाटीसँग गजुरेलले भने ।
उपमहासचिव शक्ति बस्नेतले पासाङलाई उपाध्यक्ष वा अन्य जिम्मेवारी दिने विषयमा छलफल भएको तर निर्णय नभएको रातोपाटीलाई बताए । यद्यपि पासाङलाई यस विषयमा सबै पदाधिकारी सकारात्मक नै रहेको बस्नेतले दाबी गरे ।
‘पासाङजीलाई उपाध्यक्ष बनाउन वा कुनै जिम्मेवारी दिने विषयमा सबै पदाधिकारी सकारात्मक छन् । यसबारे बैठकमा छलफल पनि भयो तर निर्णय भएको छैन । अर्को बैठकले निर्णय गर्ला,’ उनले भने ।
राज्यको सम्मानित पदमा पुगेको व्यक्ति फेरी पार्टीको सक्रिय राजनीतिमा आउने चर्चाले बाहिर राम्रो सन्देश नभएको भन्दै केन्द्रीय समिति बैठकमा नेताहरूले तीव्र आलोचना गरेका थिए । तीव्र आलोचना भएपछि अध्यक्ष प्रचण्डले पासाङलाई आफूले बोलाएको नभई उनी आफै आएको जिकिर गरेका थिए ।