प्रधानमन्त्री ओलीले आम मतदाताको अपमान गरेको आरोप

40

काठमाडौं । लुम्बिनी प्रदेशसभामा सम्बोधन गर्न गएको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले ५ फागुनमा एमालेको आमसभालाई सम्बोधन गरे ।

विपक्षी दलका नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको उछितो काढेका ओलीले दाङका मतदातालाई पनि बाँकी राखेनन् ।

आफ्ना पार्टीका महासचिव शङ्खर पोखरेलको गृह जिल्ला पुगेका ओलीले आमसभामा प्रतिनिधि सभा निर्वाचनको विषयमा मतादातासँग असन्तुष्टि पोखेका थिए । “शङ्कर पोखरेललाई चुनाव हराएर अरू ‘आधा न साधा’ का मान्छेलाई जिताएर पठाउनु तपाईंहरूको गल्ती त भयो नि ।” उनले भनेका थिए ।

ओलीले पोखरेललाई हराएर माओवादी केन्द्रकी नेतृ रेखा शर्मालाई चुनाव जिताएको भन्दै असन्तुष्ट व्यक्त गरेका थिए । ओलीले दाङमा पुगेर मतदाताको अपमान गरेको भन्दै प्रधानमन्त्री ओलीविरुद्ध मङ्गलबारको प्रतिनिधि सभा बैठकमा माओवादी सांसद रेखा शर्मा खरो उत्रिएकी छिन् ।

बैठकको विशेष समयमा बोल्दै शर्माले प्रधानमन्त्री ओलीले आम मतदाताको अपमान गरेको आरोप लगाएकी हुन् ।

प्रधानमन्त्री ओलीको सम्बोधनमा आफ्ना पार्टीका नेता पोखरेललाई हराएर आधा न साधाका मान्छेलाई जिताएको भनेकोमा आफू आश्चर्यमा परेको बताइन् ।

बहुदलीय प्रतिस्पर्धामा आफूले जित्दा ठीक र अरूले जित्दा बेठीक ठान्नु लोकतन्त्र विरोधी चिन्ता रहेको शर्माले बताइन् । “निर्वाचन भनेको लोकतन्त्रमा जनताले आफ्नो मत जाहेर गर्ने माध्यम हो । यसमा जित हार स्वाभाविक हुन्छ,” शर्माले भनिन्, “आफू र आफ्नोले जित्दा ठीक र लोकतन्त्र । अरूले जित्नु बेठीक र अयोग्यता । त्यो मात्र हैन मतदाताको गल्ती ठान्नु लोकतन्त्र विरुद्धको चिन्ता हो ।”

लोकतन्त्रमा हार स्वीकार गर्न नसक्नेले जित्न पनि नसक्ने भन्दै शर्माले ओलीमाथि थप आक्रोश पोखेकी थिइन् । ओलीको भनाइ सामन्तवाद र पितृसत्तात्मक सोच भएको बताउँदै शर्माले भनिन्, “जसले लोकतन्त्रमा हार स्वीकार्दैन उ जित्न पनि सक्दैन । म उहाँको अभिव्यक्ति माथि दु:ख प्रकट गर्न चाहन्छु । खेद प्रकट गर्न चाहन्छु ।”

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here