काठमाडाैं । जाडो मौसमको आगमनसँगै चिसोबाट बच्न विभिन्न उपायहरू अपनाइन्छ । जाडो मौसममा पानी तताउन र कोठा न्यानो बनाउन ग्यास गिजर र विद्युतीय हिटरहरू प्रयोग गर्ने तथा आगो ताप्ने गरिन्छ । तर, जाडोबाट जोगिन यस्ता उपाय अपनाउँदा थोरै लापरबाहीले ठूलो जोखिम निम्त्याउन सक्छ ।
ग्यास तथा विद्युतीय उपकरणले दैनिक जीवनलाई सहज बनाए पनि यसको प्रयोगमा सावधानी नअपनाउँदा धेरै दुर्घटनाका खबर सुनिने गरेको छ । चिसो मौसममा तापक्रम घट्दा मानिसहरू कोठा बन्द गरी हिटर कोइला ताप्छन् । यसो गर्दा ग्यास जम्मा भई स्वास्थ्यमा गम्भीर असर पार्छ । जसमा टाउको दुख्ने, वाकवाकी लाग्ने, रिँगटा लाग्ने, चक्कर लाग्ने र बेहोस भएर मृत्यु समेत हुन सक्छ ।
हिटर
केरलाको गर्मीमा बसेका उनीहरूलाई दामनको तापक्रम अत्यधिक चिसो लाग्यो । कोठामा ‘इलेक्ट्रिक बेड’ भए पनि उनीहरूले ‘रिसेप्सन’बाट हिटर लगे । अर्को कोठामा सुतिरहेकाहरू त्यही कोठामा हिटर ताप्न आए । कोठाको झ्याल ढोका पूरै बन्द गरे ।
हिटरको तातोमा निदाएका उनीहरू बिहान अबेरसम्म उठेनन् । होटेलका कर्मचारी चिया लिएर जाँदा अचेत अवस्थामा फेला परे । तत्कालै हेलिकप्टरमार्फत काठमाडौँको एक निजी अस्पताल ल्याइयो । अस्पतालमा ल्याउनेबित्तिकै चिकित्सकले मृत्यु भइसकेको घोषणा गरे । उनीहरूको मृत्युको कारण ‘हिटर’ बालेर सुत्दा निसास्सिएर भनियो ।
यो घटनाले हिटरको प्रयोगमा कत्तिको सावधानी अपनाउनुपर्छ भन्ने कुरा स्पष्ट पार्छ । नेपालमा यस्ता घटनाहरू जाडोमा बढ्ने गरेका छन्, जसको मुख्य कारण कोठामा हावा ओहोर-दोहोर नहुनु र ग्यास वा विद्युतीय हिटरबाट निस्कने विषालु ग्यास हो । यसले फोक्सो र मस्तिष्कमा अक्सिजन पुग्न नदिएर मृत्युको मुखमा पुर्याउँछ ।
हिटर ताप्दा ध्यान यी कुरामा दिनुपर्छ
हिटरको प्रयोग गर्दा सानो लापरबाहीले पनि ठूलो दुर्घटना निम्त्याउन सक्छ । यसलाई सुरक्षित बनाउन ग्यासबाट चल्ने हिटरको नजिक छिटो जल्ने खालका कुनै पनि सामग्री राख्नुहुँदैन ।
जहिले पनि कागज, ब्लाङ्केट, कपडा, दाउरा लगायत सामाग्री हिटरभन्दा टाढा राख्नुपर्छ । ग्यासबाट चल्ने हिटरलाई धेरै ओहोरदोहोर गरिरहनुपर्ने ठाउँमा राख्नु हुँदैन। अझ ध्यान पुर्याउनुपर्ने विषय भनेको हिटरलाई बच्चाले नभेट्ने ठाउँमा राख्नुपर्छ । यसलाई कडा सतहको किनारमा राख्नुपर्छ ।
चलिरहेको हिटरलाई समय–समयमा बन्द गरिरहनुपर्छ । हिटर बलेको बेला ढोका र झ्याललाई पनि खुला राख्नुपर्छ । सुत्नुअघि अनिवार्य रुपमा हिटर निभाउनुपर्छ यस्तो गर्दा दुर्घटना हुने सम्भावना कम हुन्छ ।
कतिपयले भान्सा कोठामा काम गर्दा पनि खुट्टा नजिकै हिटर राख्छन्, यसो गर्नुहुँदैन । पानी प्रयोग हुने ठाउँमा हिटर प्रयोग गर्नुहुँदैन हिटर विद्युतीय साधन भएकाले पानीको छिटा पर्नु खतरनाक हुन्छ । जहाँ पानीले स्पार्क निम्त्याउने यसमा आगो लाग्ने खतरा हुनुका साथै विद्युतीय झट्का पनि लाग्न सक्छ ।
हिटरलाई बच्चाको नजिक राख्नु हुँदैन । किनकि साना बच्चाहरू प्रायः खेल्दा त्यसको वरिपरि जान सक्छन् । हिटर चलाउँदा वरिपरि पानीले भरिएको भाँडो राख्नुपर्छ । यसले हावाको आद्र्रता कायम राख्छ र हावालाई सुक्खा हुनबाट रोक्छ ।
यीबाहेक, कार्बन मोनोअक्साइड डिटेक्टर जडान गर्न सकिन्छ, जसले ग्यासको स्तर बढ्दा अलार्म बजाउँछ । नियमित रूपमा हिटरको मर्मत गर्नुहोस् र जाडोमा यसको प्रयोगलाई सीमित राख्नुपर्छ ।
ग्यास गिजर
जाडोमा तातोपानीका लागि ग्यास गिजरको प्रयोग बढ्छ, तर यसले पनि कार्बन मोनोअक्साइड उत्पादन गरेर जोखिम बढाउँछ । २०८० माघ १५ मा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९, लामसुरेमा बाथरुममा प्रयोग गरिएको ग्यास गिजरका कारण निसास्सिएर एक युवकको मृत्यु भएको थियो ।
बाथरुम छिरेका युनेश निकै बेरसम्म बाहिर ननिस्केपछि परिवारका सदस्यले बाहिरबाट बोलाएका थिए। बोलाउँदासमेत नबोलेपछि ढोका फोडी बेहोस अवस्थामा उद्धार गरिएको थियो। उनलाई तत्काल उपचारका लागि अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
नेपालमा ग्यास गिजरबाट हुने यस्ता घटनाहरू धेरै छन्, जसको मुख्य कारण बाथरुममा पर्याप्त हावा ओहोरदोहोर नहुनु हो । ग्यासले मिनेटभरमा नै बेहोस बनाउन सक्छ ।
ग्यास गिजर प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा
गिजर जडान गर्दा सकेसम्म बाथरुमभन्दा बाहिर छुटै कोठा वा अन्य भौतिक संरचनाभित्र गर्ने ता कि जसले गिजरबाट निस्कन सक्ने ग्यास बाथरुमसम्म आउँदैन । गिजरको आउटलेट पाइप मात्र बाथरुमभित्र जोड्ने गरी प्रबन्ध मिलाउन सके सम्भावित जोखिमलाई ठूलो मात्रामा घटाउन सकिन्छ ।
कोठाभित्र अक्सिजनको सहज र नियमित आपूर्तिका लागि बाथरुममा भेन्टिलेसनको व्यवस्था मिलाउनुपर्छ। उक्त भेन्टिलेसन बेलाबेलामा निरीक्षण र आवश्यक मर्मत–सम्भार गर्ने गर्नुपर्छ ।
बाथरुमभित्र कार्बनमोनोक्साइड ग्यासको मात्रा असुरक्षित हुन पुगेको कुरा पत्ता लगाएर पूर्वसचेत गराउने सेन्सर जडान गर्न पनि मिल्छ । यस्ता उपकरणहरूले जोखिमको पूर्व सूचना दिएर सम्भावित जोखिमहरूबाट बच्न मद्दत गर्दछन् ।
जडान गरिएको गिजरमा प्रयोग गर्दै जाँदा प्राविधिक समस्याहरू आइरहेको वा आउन सक्ने हुनसक्छ । यस्ता कुराहरूका समाधानका लागि समय–समयमा सम्बन्धित प्राविधिक बोलाएर आवश्यक मर्मत÷सम्भार र अन्य निरीक्षण गराउने गरेमा जोखिम घट्छ ।
यीबाहेक, गिजर प्रयोग गर्दा बाथरुमको ढोका आंशिक खुला राख्नुपर्छ र लामो समयसम्म गिजर चलाएर भित्र बस्नुहुँदैन ।
कोइला
जाडोमा कोइला वा आगो ताप्ने चलन पुरानो हो, तर यसले पनि कार्बन मोनोअक्साइड उत्पादन गरेर घातक साबित हुन सक्छ । २०७८ माघ १ गते वीरेन्द्रनगर–१० बुदबुदीमा राति कोइला बालेर सुतेका चार जना मृत फेला परेका थिए । राति कोइला बालेर कोठामा सुतिरहेका आमासहित तीन बालकको मृत्यु भएको थियो ।
कोठाभित्र न्यानोपनका लागि बालिने कोइला, गुइँठा, आगो, भुसले कार्बन मोनोअक्साइड ग्यास उत्पन्न हुन्छ । कार्बन मोनोअक्साइड विषालु ग्यास भएकाले भेन्टिलेसन अर्थात् झ्याल, ढोका बन्द भई पर्याप्त मात्रामा हावा ओहोरदोहोर हुन सक्तैन । यसले सो ग्यास उत्पन्न भई स्वास्थ्यमा गम्भीर असर पुर्याउनुका साथै ज्यानै जान सक्छ ।
त्यसरी कोइला ताप्दा कार्बन मोनोअक्साइड ग्यास ओहोरदोहोर गर्न नपाएमा सुरुमा टाउको दुख्ने, वाकवाकी हुने, रिँगटा लाग्ने, चक्कर लाग्ने, बेहोस भई मृत्यु समेत हुन्छ।
कोइला ताप्दा ध्यान दिनुपर्ने कुरा
घरभित्र कोइला, आगो ताप्दा कोठाभित्र हावा छिर्ने गरी झ्याल ढोका खुल्ला राख्नुपर्छ । यीबाहेक, कोइला बाहिर बाल्नुपर्छ । जाडोमा वैकल्पिक सुरक्षित ताप स्रोतहरू जस्तै इलेक्ट्रिक ब्लाङ्केट प्रयोग गर्नु उत्तम हुन्छ ।


















