विश्वकै पहिलो मिठाईका रूपमा लिइने टाेखाको चाकु मुख्यतः उखु (तु) बाट निर्माण गरिन्छ। इतिहासकालमा काठमाडौं उपत्यकाको उत्तरी भूभाग-धर्मस्थली, मनमैजु, फुतुङ्ग, टाेखा, धलंपुली, तुप्या, तुसा, तख्य:, गाँचा लगायतका क्षेत्रमा व्यापक रूपमा उखु खेती हुने गर्थ्यो। ठाउँ–ठाउँमा उखु पेलेर रस निकाल्ने चलन थियो। उखु (तु) खेतीसँगै टाेखा क्षेत्रका धेरै स्थानहरूको नामकरण पनि भएको पाइन्छ। उखु रोप्ने ठाउँलाई तुख्य: भनिन्थ्यो, जुन कालान्तरमा अप्रभ्रंश भई टाेखा नाम प्रचलनमा आएको मानिन्छ।
उखु पेल्ने स्थानलाई तुप्या, उखुबाट निस्केको रस उमाल्ने स्थान तुसा: भनिन्थ्यो, जुन आज तुसालका रूपमा परिचित छ। उखुको रसलाई खासिमा (तामाको अर्धगोलाकार भाँडो) मा उमालेर सखर बनाइन्छ। त्यसपछि सखरलाई तामाकै फ्वसिमा दावेलोले चलाउँदै पकाइन्छ। राम्रोसँग पाकेपछि माटोको अथमा खनाइन्छ र मनतातो हुने गरी सेलाइन्छ। त्यसपछि चाकुलाई फित्ने गरिन्छ।
चाकु फित्ने प्रक्रियाको मुख्य उद्देश्य अक्सिजनसँग रासायनिक घुलन गराउनु हो, जसले चाकुलाई अझ स्वादिलो, नरम र आकर्षक रङ प्रदान गर्दछ। टाेखाको चाकुबारे नेपालभर प्रचलित लोक उक्ति आज पनि उत्तिकै चर्चित छन् : —
“टाेखाको चाकु म्हुतु गुलि माकु” “टाेखाको चाकु मचाबुल हाकु” टाेखामा आज पनि परम्परागत रूपमा विभिन्न प्रकारका चाकु तथा परिकारहरू निर्माण गरिन्छन्। जसमा सादा चाकु, मसला चाकु, खुवा चाकु, सुत्केरी चाकु, पुस्तकारी, कालो तथा सेतो तिलका लड्डु, मखन लड्डु, भुजा लड्डु आदि प्रमुख छन्।
इतिहासकालमा टाेखा काठमाडौं उपत्यकाको पहिलो वस्तु–बस्तीका रूपमा परिचित थियो। नेपालमा प्रचलित “चार सय टाेखा, सात सय फेरा” भन्ने उक्ति टाेखा राज्यको व्यापक फैलावटलाई संकेत गर्छ। उक्त उक्ति अनुसार टाेखा राज्य उत्तरमा रसुवा, दक्षिणमा भैसेपाटी, पूर्वमा साँखु र पश्चिममा तीनपिप्लेसम्म फैलिएको मानिन्छ।
टाेखा एक समृद्ध ऐतिहासिक राज्य थियो। इतिहासका विभिन्न कालखण्डमा टाेखाले अन्य राज्यका सहरहरूमा मठ–मन्दिर निर्माण गर्दा चाकु उपहार दिने परम्परा रहेको दस्तावेजहरूमा उल्लेख छ।
साथै, टाेखामा फेला परेका पाषाण हतियारहरूले यो क्षेत्र प्राचीन मानव बस्ती भएको प्रमाण प्रस्तुत गर्छन्। आज पनि माघे संक्रान्ति नजिकिँदै जाँदा टाेखाको चाकु केवल स्वादको परम्परा जोगाइरहेको छ, बल्कि नेपाली सभ्यता, इतिहास र सांस्कृतिक पहिचानलाई पनि पुस्तौँदेखि जोड्दै आएको छ।
















