चन्द्रप्रकाश वानियाा
पच्चीस वर्षअगाडि जिन्दगीमै पहिलोचोटि कसैको मुखारविन्दबाट आफ्नो लागि ‘बाजे’ को सम्बोधन प्रयुक्त भएको सुन्दा अलिकता नमीठो र अलिकता असजिलोको अनुभूति भएको थियो । मेरा लागि अप्रीतिकरजस्तो बनेको त्यो क्षणको आजपर्यन्त राम्रो हेक्का छ । त्रिभुवन विमानस्थलबाट सहरतिर फर्कनका लागि त्यो दिन सवारीसाधन पाउन गाह्रो परेको थियो । सायद, सार्वजनिक सवारीचालकहरूको हडताल थियो क्या रे ! सहर फर्कनु नै थियो र पैदल कुद्नुको विकल्प नपाउादा खुट्टा घिसार्दै तीनकुनेतिर आइपुग्दा सौभाग्यवश एउटा थोत्रो बस पछ्याउादै आइपुग्यो । यात्रुहरूद्वारा खचाखच भरिएको सवारीसाधनभित्र पाइलो राख्ने ठाउा थिएन । दुर्लभ सवारी छोड्नुको अर्थ पैदलमार्च गर्नु हुन्थ्यो । कोचिएर वा झुण्डिएरै भए पनि यात्रा गर्नुको विकल्प थिएन । जसोतसो एउटा पैतालो बसको मूलढोकाको खुट्किलोमा टेकाएर मुस्किलले झुण्डिएा । जनजाति अनुहारका कन्डक्टरले ‘अलि बलियोसाग समात्नु है, बाजे । लड्नु होला !’ भनेर सचेत गराए । उनको ममतायुक्त सल्लाहले भने मलाई कताकता चसक्क घोचेजस्तो लाग्यो । पठ्ठो नै ठान्ने उमेरको मैले आफूलाई बाजे भनाउन मन पराउने कुरै भएन । भन्न त ‘महिलाहरूको उमेर नसोध्नू’ भनिन्छ । वास्तवमा लोग्नेमान्छेलाई पनि असमयमै बूढो भनेर सम्बोधन गरिएको मन पर्दैन । टाउकोको एउटा रौं पनि नफुलिसकेको मेरो मन अपेक्षाकृत बूढो भन्ने अर्थबोध गराउने बाजेको सम्बोधनबाट त्यतिबेला नमीठो गरी कुाडिएको थियो । कमसेकम ‘दाइ वा अंकल’ सम्म भन्न पनि नजानेको कस्तो बेसोमति केटो रहेछ ! भनेजस्तो लागेको थियो ।
उल्लेखित घटनाको बीस वर्षपछि रत्नपार्क–गोंगबुको माइक्रोबस यात्रामा अर्को एकपटक फेरि अर्को एक जनाले उही सम्बोधन दोहोर्याउने संयोग जुर्यो । समय फेरिइसकेको थियो । उमेरले तीन बीस नाघिसकेको हुनाले ‘बाजे’ को सम्बोधन सामान्य लाग्न थालेको थियो । अघिल्लोपटक जस्तो त्यसपटक मन दुखेन । कुाडिएन पनि । त्यतिबेलासम्म ‘बाजे’ लाई राम्रैसाग पचाइसकिएको रहेछ । मलाई स्वाभाविक लागे पनि बाजे भनेर सम्बोधन गरेको कुरा अर्को एक जनालाई रुचेको रहेनछ । दुई जना केटाहरूबीच आपसमा चलेको संक्षिप्त तर्क–चर्चाले मलाई कसैले ‘बाजे’ भनेर सम्बोधन गर्नुको रहस्य खुलाइदियो । मनले त्यसबाट किञ्चित् खुशीको अनुभूति पनि गर्यो । ‘के बाजे भन्छस् यार, बुबा वा अंकल भन्नु नि !’ भनेर अर्को छेवैको साथीले दिएको सल्लाहको प्रत्युत्तरमा मलाई बाजे भनेर सम्बोधन गर्ने केटाको ‘आदर गरेरै बाजे भनेको त हो नि, खस–बाहुन समुदायका जेष्ठ नागरिकहरूलाई बाजे त भन्छन् नि’ भन्ने जवाफले जनजाति समुदायका मानिसहरूले खस समुदायका मानिसहरू सबैलाई सगोलमै बाजे भन्दा रहेछन् भन्ने रहस्योद्घाटन गरिदियो । त्यत्ति जाबो कुरो बुझ्न पनि मलाई दिव्य बीस वर्ष लागेको रहेछ ।
अपेक्षाकृत बाटुलो अनुहार, अनुन्नत नासिका, पुड्के पुड्के मध्यम कदको मेरो शारीरिक बनोट जनजाति समुदायसाग मिल्दो छजस्तो लाग्थ्यो । सायद त्यो मेरो व्यर्थभ्रम रहेछ । गलत बुझाइ रहेछ । यथार्थमा कुरो त्यस्तो होइन रहेछ । विशुद्ध जनजाति आाखाले मेरो अनुहारमा पनि स्पष्ट ‘खस आकृति’ पहिल्याउादो रहेछ । पच्चीस वर्ष अगाडि अपेक्षाकृत तरुनो अवस्थाको मलाई बसको सहचालकले ‘बाजे’ भनेर सम्बोधन गर्नुको कारण मेरो खस आकृति पो रहेछ भन्ने सत्यबोधले त्यतिबेला मन कुाडाएकोमा आफ्नै गलत बुझाइप्रति दया लाग्यो, हाासो उठ्यो । जनजाति समुदायका मान्छेहरूले खस समुदायका पाका मान्छेहरूलाई बाजे भनेर सम्बोधन गर्नुको अर्थ वास्तवमा आदरभाव प्रदर्शन गर्ने चेष्टा नै रहेछ !
जेष्ठताबोध गराउने बाजेको सम्बोधन आदरार्थीबोधक शब्द पनि हो । तीनपुस्ते विवरण दिनुपर्दा बाबुपछि बाजेको नाम लेख्ने चलन छ । अर्थात् बाजे भन्ने शब्दले ‘बाबुको पनि बाबु’ भन्ने अर्थबोध गराउाछ । बाबुको बाबुलाई संस्कृत भाषामा ‘पितामह’ भनिन्छ । पितामहलाई ‘बूढाबा’ अथवा ‘हजुरबा’ भनेर सम्बोधन गर्ने खसहरूको परम्परागत चलन हो । कसै कसैले ‘जी’बा’ भन्ने गरेको पनि सुनिन्छ । लिखतमा जे भए पनि आमरूपमा खससमाजमा बूढाबालाई बाजे भन्ने चलन हुादैन । अग्रजपुस्तालाई सगोलमा ‘बाबुबाजे’ भनिने भए पनि व्यवहारमा ‘बाजे’ चल्दैन । बरु नेपालका खसेत्तर जाति जनजातिहरूमा ‘बूढाबा’ लाई ‘बाजे’ भन्ने सम्बोधन आमप्रचलनमा रहेको देखिन्छ । आफ्नो समुदायमा ‘बाजे’ प्रचलनमा रहेकै कारणले खसहरूका जेष्ठ नागरिकहरूलाई पनि जनजाति समुदायका मानिसहरूले आदरभाव प्रकट गर्ने सन्दर्भमा बाजे भन्ने गरेका होलान् । उनीहरूको त्यस्तो सम्बोधनलाई अन्यथा अर्थमा लिइादैन, लिनु हुादैन रहेछ पनि । बीसको दशकतिरको काठमाडौंको आफ्नै एउटा अनुभव त्यस्तै छ । कुचो पानी, जुठोभााडो गरिदिने पाको उमेरकी दिदीले सानो उमेरका हामीलाई ‘बाज्या’ भनेर गर्ने गरेको सम्बोधन मीठो नलागे पनि अनौठो लाग्दैनथ्यो ।
खस समाजभित्र सानै उमेरका भए पनि पूजाआजा गराउने बाहुनले ‘बाहुनबाजे’ को सम्बोधन पाउने गर्छन् अर्थात् उमेरसाग बाजेको कुनै सम्बन्ध हुादैन । जुनसुकै उमेर समूहका भए पनि बाहुनसाग बाजे अनिवार्यरूपमा जोड्ने चलन व्यवहारमा सनातन मानिन्छ । तर ब्राह्मणहरूलाई सम्बोधन गरिने ‘बाजे’ले बूढाबा, हजुरबा अथवा पितामह भन्ने अर्थ भने दिादैन । पुरेतबाजे, पण्डितबाजे, ज्योतिषबाजे, भान्सेबाजे जस्ता व्यवसायजनित पदहरूसाग मात्र होइन, विशुद्ध जातिवाचक ‘बाहुनबाजे’ पनि प्रचलनमा छ । सानाठूला दरबारतिर ‘केटीपस्ने’ चलन तामाङ समुदायमा रहेजस्तै बाहुनसमुदायमा भान्से बस्ने चलन थियो । भान्सेका लागि लिङ्गभेद गरिादैनथ्यो अर्थात् लोग्नेमान्छे र आइमाईहरू समानरूपमा दरबारमा भान्से बस्ने चलन थियो । भान्से बाजे वा भान्से बज्यै उनीहरूले पाउने नाम (सम्बोधन) हुन्थ्यो । भारतीय समाजमा पनि भान्से लाग्ने वा राख्ने चलन हुन्छ । फरक कति मात्रै हो भने भान्से ब्राह्मणलाई उता बाजे होइन, ‘महाराज’ भनिन्छ । महाराज अर्थात् भान्छेको स्त्रीलिङ्ग भने बज्यै वा महारानी होइन, ‘महाराजन्’ हुन्छ ।
खसेत्तर समुदायद्वारा सिंगो खससमाजका पाका नागरिकहरूलाई बाजे भनेर सम्बोधन गरिए पनि खससमाजभित्र भने ब्राह्मण वर्णसाग मात्र बाजे जोडिन्छ । खससमाजले बाजे भनेर बाहुनलाई सम्बोधन गर्दा उसको उमेर हेर्दैन । सबै उमेर समूहका मानिसलाई सगोलमै बाजे भन्ने चलन हुन्छ । सिंगो ब्राह्मण समुदायलाई सगोलमा बाजे भन्ने चलन किन कसरी चलेको हो भन्ने सन्दर्भमा खोजी गर्दा केही सामाजिक तथ्यहरू फेला पर्छन् । मूलत: स्वाहा र स्वधा दुवैखाले यज्ञ (देवयज्ञ र पितृयज्ञ) आयोजनमा ‘होता’ को भूमिका निर्वाह गर्ने पुरोहित वा पण्डित भन्ने अर्थमा ‘बाजे’ प्रयोग हुने गरेको हो । भन्दै सुन्दै जाादा व्यवहारमा ‘बाजे’ ब्राह्मणसाग जोडिने अनिवार्य शब्दावली बन्न गएको छ । बाहुनलाई प्रयुक्त हुने बाजेको सम्बोधनले वंशजको नातासाग साइनो सम्बन्ध राख्दैन । दारीजुङ्घा पालेको वा फुलेको बूढो भनेर अथवा आफ्ना बाबुको पनि बाबुसमान आदरणीय मानेर बाहुनलाई बाजे भन्ने गरिएको होइन । प्रारम्भमा यज्ञ सम्पन्न गराउने होता, पूजा गराउने पूजारी वा पुरेत अथवा पण्डित भन्ने अर्थमा ‘बाजे’ भन्ने गरिएको हो । जसरी सवारीचालक र शिक्षक दुवैलाई ‘गुरु’ भनिए पनि सम्बोधनको भावार्थ फरक हुन्छ त्यसैगरी बाबुका बाबुलाई बाजे भन्नु र बाहुनलाई बाजे भनेर सम्बोधन गर्नुमा अन्तर्निहित भाव फरक रहन्छ ।
खासमा पूजा गराउने ब्राह्मणलाई बाहुनबाजे भनिने भए पनि यतिबेलासम्म आइपुग्दा बाजे सिङ्गो ब्राह्मण समुदायको साझा सम्बोधन बन्न गएको छ । अन्य समुदायको कुरा अलग हो, खससमुदायमा बाहुनहरूलाई मात्र बाजेको सम्बोधन प्रयोग गरिन्छ र सबै ब्राह्मणहरूका निमित्त बाजे सगोलमै प्रयुक्त हुन्छ । अर्थात् कर्मकाण्डको रत्तिभर ज्ञान नहुने बाहुनलाई पनि बाजे भनिन्छ र कर्म नचलेकै किन नहोस् ब्राह्मणपुत्र बालकहरू पनि बाजे नै भनिन्छ । बाजे अब बाहुनको पर्यायवाची नै बनिसकेको छ भन्दा फरक पर्दैन । बाहुनलाई बाजेको सम्बोधन कहिलेदेखि र कसरी जुराइएको होला भनेर हिन्दू धर्मग्रन्थहरू टटोल्दा वास्तविक कारण फेला पर्दो रहेछ । यद्यपि ऋग्वेदकालमै ‘पितृयज्ञ’ को कुरा परेको भेटिने भए पनि श्राद्ध गर्ने व्यवस्थित परम्परा भने ब्राह्मण ग्रन्थकालपछि मात्र सुरु भएको प्रमाण फेला पर्छ । ऋग्वेदमा पितृयज्ञको प्रयोग वृद्धाश्रममा रहने उमेरका जेष्ठ नागरिकहरूको सेवा, सुश्रुषा र हेरचाह भन्ने अर्थमा गरिएको पाइन्छ । पितृ भन्नाले जीवित वृद्धवृद्धा भन्ने अर्थ लाग्छ । पितृ शब्दावलीलाई दिवङ्गत आत्मा भन्ने अर्थमा बुझ्न वा प्रयोग गर्न थालिएको ब्राह्मणग्रन्थकालमा हो । त्यस कालखण्डसम्म आइपुगेपछि मात्र श्राद्ध र पिण्डदानको महत्व र तरिका (व्यवस्था) को विस्तृत व्याख्या विवरणको लिखत भेटिन्छ । श्राद्धयज्ञको विधिविधानको विस्तृत जानकारी गराउने सन्दर्भमा पितृकार्यको समाप्तिपछि आमन्त्रित पुरोहित ब्राह्मणलाई विधिपूर्वक विदा गर्नुपर्ने कुरा लेखिएको छ । त्यो विधिमा ब्राह्मणलाई अन्तिम विदाई गर्ने बेलामा यजमानले एउटा वैदिक मन्त्र पाठ गर्दै प्रदक्षिणा गर्नुपर्छ पनि भनिएको छ । हो, त्यही मन्त्रमा ‘बाजे’ शब्द परेको छ । अर्थात ‘सत्यका ज्ञाता हे देवता (पुरेतबा) ! सबै संग्रामहरूमा हाम्रो रक्षा गर’ भन्ने अर्थ लाग्ने ऋग्वेद–७।३८।८ मा परेको त्यो मन्त्र वाजसनेयी संहिता–२१।११ र तैत्तरीय संहिता–१।७।८।२ मा समेत दोहोरिएको छ । सबै बाहुनहरूलाई ‘बाजे’ भनाउने परम्पराको कारणको रूपमा रहेको त्यो वैदिक मन्त्र यस्तो छ:–
‘वाजेवाजे वत वाजिनो नो धनेषु विप्रा अमृता ऋतज्ञा:।’
यही बाजे भन्ने शब्दको तीनपटक पुनरुक्ति भएको ऋग्वेदको मन्त्र सस्वर वाचन गरेर हातजोडी विनम्रतापूर्वक पुरोहित बाहुनको भक्तिपूर्वक प्रदक्षिणा गर्नुपर्ने वेदोक्त परम्पराको कारणले बाहुनहरूलाई ‘बाजे’ नामको संयुक्त सम्बोधन जुराइदिएको हो । अर्थात् वाजे वाजेको उच्चारण गर्दै ब्राह्मणहरूको प्रदक्षिणा गर्नुपर्ने विधानले पुरोहित बाहुनलाई स्थायी बाजेको नाम दिएको हो, न्वारान गरिदिएको हो । कालान्तरमा त्यही पुरोहितहरूका निमित्त प्रयुक्त हुने ‘बाजे’ सिङ्गो ब्राह्मण समुदायको साझा सम्बोधन बन्न पुगेको हो ।














