काठमाडौं÷ नेपालको लगभग सबैजसो क्षेत्रमा आफ्नो स्वार्थ लागू गराउन उद्दत भारतले नेपालका निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा पनि आफ्नो चासो देखाएको छ । नेपालका निर्माणाधीन ठूला अन्तर्राष्ट्रिय विमानस्थल पोखरा तथा निजगढमा चीनले सहयोग गर्न लागेको सूचना पाएपछि भारते चीनलाई चुनौती दिनका लागि नेपालको उड्डयन क्षेत्रमा सहयोग चासो देखाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
भारतले नेपालका विमानस्थल निर्माणमा चिनियाँ सहयोगका बारेमा सूचना पाएलगत्तै नेपाली अधिकारीहरूलाई भारतलमा बोलाएको छ । एयरपोर्ट अथोरिटी अफ इन्डियाले नेपालको उड््डयन निकायका अधिकारीहरूलाई बोलाइएको र दुई पक्षीय भेटमा यस विषयमा विस्तृत छलफल हुने जनाएको छ । नेपालका अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा चीनले सफ्ट लोन तथा विज्ञसम्बन्धी सहयोग गर्ने सूचनाले भारत आश्चर्यमा परेको भारतीय पत्रिका इकोनमिक टाइम्सले लेखेको छ । भारतले पोखरा तथा निजगढमा निर्माण हुन लागेका विमानस्थलमा आफ्नो चासो रहेको जनाएको छ । विशेष गरी निजगढ विमानस्थल भारतको विहार राज्यसँग नजिक रहेकाले यसप्रकित आफ्नो विशेष चासो रहेको भारतले जनाएको छ । आफूले महत्वका साथ हेरिरहेको आयोजनामा चीनले सहयोग गर्न लागेको चाल पाएपछि भारत सशंकित बनेको हो । भारतले नेपालको एयर ट्राफिक कन्ट्रोल (एटीसी) निर्माणका विषयमा पनि नेपालका अधिकारीहरूसँग छलफल भएको जनाएको छ । एटीसी निर्माणको योजना भने पुरानै भएको भारतले जनाएको छ । भारतले नेपालका ठूला आयोजनाहरूमा आफूबाहेकको तेस्रो मुलुकको उपस्थितिलाई आफ्नो सुरक्षा चुनौतीका रूपमा लिँदै आएको छ ।















