क्रान्तिकारी कम्युनिष्ट पार्टीका लागि स्थानीय निर्वाचन

323

हुकुमबहादुर सिंह
२०५२ साल फागुन १ गतेबाट नेपालमा सर्वहारावर्गको राज्यसत्ता स्थापना गर्ने महान् लक्ष्य र उद्देश्य लिएर करिब १० वर्षसम्म सशस्त्र जनयुद्ध सञ्चालन गरेको माओवादी आन्दोलनको एउटा पार्टी नेकपा (क्रान्तिकारी माओवादी) ले आफ्नो केन्द्रीय समितिको विस्तारित बैठकको आयोजना गर्दै दुई दिनको व्यापक बहस तथा छलफल गरी एकमतले स्थानीय निर्वाचनलाई उपयोग गर्ने निर्णय गरेको छ । तर यसले यसको उपयोग आफ्नो वैधानिक मोर्चा–देशभक्त जनगणतान्त्रिक मोर्चामार्फत गर्ने निर्णय गरेको छ ।
सबैलाई थाहा छ, नेकपा (क्रान्तिकारी माओवादी) ले प्रचण्डको नेतृत्वमा पहिलो संविधानसभाको निर्वाचनमा भाग लिएता पनि उनीसित विद्रोह गरेपछि गरिएको दोस्रो संविधानसभाको निर्वाचन बहिष्कार गरेको थियो र अहिले पनि यसले यो संविधान पश्चगामी छ, त्यसैले यसको खारेजी हुनु पर्दछ भनेको छ । यसको खारेजीपछि संघीय जनगणतन्त्रात्मक संविधानको निर्माण गनुपर्ने विकल्प अगाडि सारेको छ । किनभने वर्तमान संविधानले दलाल एवं नोकरशाही पुँजीपति र सामन्तवर्गको नेतृत्व र अधिनायकत्वमा आधारित पश्चगामी राज्यसत्ताको प्रतिनिधित्व र संरक्षण गर्दछ ।

त्यसकारण नेकपा (क्रान्तिकारी माओवादी)का लागि त्यस्तो संविधान अस्वीकार्य छ र यस्तो संविधानको खारेजी अनिवार्य छ । तर धेरैले अचम्म मान्ने छन् कि उल्लेखित घोषणा गर्दै फेरि यसैअन्तर्गतको निर्वाचनको उपयोग कसरी गर्न लागेको होला । के यो सैद्धान्तिक तथा वैचारिक र हरेक हिसाबले उपयोग गर्नु सही हुन्छ ? यो प्रश्न पनि पार्टी भित्र र बाहिर उठ्नु स्वाविक हो र उठेका पनि छन् ।
उल्लेखित प्रश्नलाई वैज्ञानिक तरिकाले बुझ्न हामीले लेनिनका निम्न भनाइहरु पुनः एकपटक आत्मसातको साथ आवश्यक छ । विश्व कम्युनिष्ट आन्दोलनमा एउटा सर्वहारावर्गले र त्यसको राजनीतिक पार्टीले खासगरी लेनिनको अनुभवका निम्न भनाइहरु आजको समयमा पनि अनुकरणीय छन् । जसमा उनले भनेका छन्– ‘यो सही हो कि एउटा सर्वहारावर्गको राजनीतिक दलले प्रतिक्रियावादी राजयसत्तालाई ध्वंस पार्न जनताको विशाल पंक्तिलाई गोलबन्द गर्दै तिनीहरुको नेतृत्व गर्न संसदीय तथा गैरसंसदीय दुवै प्रकारका संघर्षहरु सञ्चालन गर्न पर्ने हुन्छ ।

जसका लागि लेनिनको भनाइमा घोर प्रतिक्रियावादी संसदमा पनि जसलाई उनले सुँगुरको खोरभित्र पस्ने भनेका छन् तर त्यहांभित्र पसेर आफै सुँगुर बन्ने नभई त्यसलाई ध्वस्त पारी जनताको पक्षमा नयां सत्ताको निर्माणका लागि मार्ग प्रशस्त गर्ने हो । त्यसकारण एउटा कम्युनिष्ट पार्टीले तत्कालीन परिस्थितिको ठोस विश्लेषण गरी संसदीय निर्वाचनको बहिष्कार वा उपयोग गर्न सक्छ र गर्नु पनि पर्दछ । यसरी संसदीय निर्वाचन बहिष्कार गर्नेहरु सबै क्रान्तिकारी हुने तर उपयोग गर्ने वा भाग लिनेहरु सबै दक्षिणपन्थी तथा संशोधनवादी भन्ने गलत तर्क हो ।’ क्रान्तिको उभार आएको समय वा क्रान्तिले धोका खाएर जनतामा पार्टीको संगठन र आन्दोलन कमजोर भएको अवस्थामा लेनिनको उक्त सल्लाह यस्ता निर्वाचनको उपयोग मार्फत क्रान्तिलाई अगाडि बढाउने हुन्छ । एउटा वास्तविकता के हो भने ती दुवै उपयोग वा बहिष्कार क्रान्तिको हितमा छ कि छैन ? त्यसले महत्व राख्दछ । नेपालमै पनि विगतमा उपयोग गरिएका कैयौ निर्वाचनले क्रान्तिलाई मद्दत गरेको र कैयौ बहिष्कार क्रान्तिकारी नभई केबल ढोंगमा परिणत भएका उदाहरणहरु प्नि छन् । यसले के स्पष्ट हुन मद्दत गर्दछ भने संसद् र त्यस अन्तरगतका संसदीय निर्वाचनहरुको उपयोग हमेसा गलत र बहिष्कार हमेसा सही हुन्छ भन्ने कुरा पनि सही होइन । जसरी उपयोग क्रान्तिकारी, सुधारवादी र प्रतिक्रियावादी हुन्छ त्यसैगरी बहिष्कार पनि क्रान्तिकारी, गैरक्रान्तिकारी र प्रतिक्रियावादी सबै हुन सक्छ । यी दुवै क्रान्तिको हितमा गरिएका छन् वा संशोधनवादको मार्ग फराकिलो बनाउनका लागि गरिएका छन्् परिणामले देखाउने छ ।

नेपालको पछिल्लो अवस्थामा माओवादी आन्दोलनभित्र पनि यो अवस्था देखिएको छ र कसरी प्रचण्ड र बाबुराम संविधानसभाको नारालाई क्रान्तिका लागि उपयोग नगरी प्रतिक्रियावादी राजयसत्तालाई सुदृढ गराउनमा नै लागे ? आखिरमा उनीहरुले पनि विगतका निर्वाचनहरुमध्ये केही बहिष्कार र उपयोग दुवै गरेका थिए । त्यसकारण के स्पष्ट हो भने अहिले पनि माओवादी आन्दोलनभित्रका दुई राजनीतिक दलहरु, नेकपा (क्रान्तिकारी माओवादी) र विप्लवको नेकपा । प्रथमले उपयोग र दोस्रोले बहिष्कार भनेका छन् ।

ती दुवै आ–आफ्ना हिसाबले सही होलान् । तर के निश्चित हो भने पहिलोले आफूलाई सुधारवाद तथा दक्षिणपन्थी संशोधनवादी अवसरवादबाट जोगाउन आवश्यक पर्दछ भने बहिष्कार गर्ने दोस्रो थरिकाहरुले पनि यदि क्रान्तिकै लागि इमान्दारीताका साथ बहिष्कार गरेका हुन् भने उनीहरुबाट पनि यान्त्रिकतावाद, संकीर्णतावाद र सर्वहारावर्गीय क्रान्तिविरोधी उद्देश्यलाई मलजल गर्ने खालको काम नहोस् । माथि उल्लेखित दुवै प्रवृति र नेपालको सन्दर्भमा बलियो देखिएको दक्षिणपन्थी अवसरवाद तथा क्रान्तिविरोधी चिन्तनप्रतिको सतर्कता अनिवार्य छ । यसो भएमा नेपाली क्रान्तिले एउटा नयाँ उँचाइ प्राप्त गर्ने निश्चित छ । [email protected]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here