राधा बुढाथोकी मगर
देशले ४०औं प्रधानमन्त्रीका रूपमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पाएको छ । चारपटकसम्म प्रधानमन्त्री हुने मौका पाएका व्यक्ति नेपालको इतिहासमा वास्तवमै भाग्यमानी ठान्नुपर्दछ । देउवाले विगत तीन कार्यकालमा गरेका कामहरूको अधारमा भन्ने हो भने यो कार्यकाल आशाप्रद छैन । तैपनि शुभारम्भमै देउवाले गर्नुभएको प्रतिबद्धता र फेरिएको राजनीतिक परिवेशका आधारमा भन्नुपर्दा देउवाले केही फरक शैलीमा आफ्नो कार्य देखाउनु हुनेछ ।
विगत तीनपटक प्रधानमन्त्रीमा कार्यरत रहँदा शेरबहादुर देउवालाई यसपटकको जस्तो हैसियत प्राप्त थिएन । तीनपटकसम्म राजतन्त्रको छहारी थियो भने नारायणहिटीमा सपथग्रहण गर्नुपर्ने अवस्था थियो । राजाप्रति वफादारिता प्रधानमन्त्रीको कर्तव्य हुन आउँदथ्यो । दुईपटक राजाबाटै अपदस्थ गरिएका शेरबहादुर देउवालाई हेर्दा आजको हैसियतमा हिजोको इतिहासलाई हेर्नु हुँदैन भन्ने यो पंक्तिकारको मत छ ।
शेरबहादुर देउवाले तीनपटकसम्म प्रधानमन्त्री हुँदा नेपाली कांग्रेसको पहिलो व्यक्तिको रूपमा कहिल्यै पनि गर्नुभएन । यसपटक शेरबहादुरको हैसियत नेपाली कांग्रेसको सभापतिका रूपमा रहेको छ । कांग्रेस पार्टीभित्र गिरिजाप्रसाद कोइरालाजस्ता विरोधी नेतासँग पौठेजोरी खेल्दै सत्ताको भ¥याङ उक्लनु त्यो बेला सामान्य थिएन । तीनपटकसम्म गिरिजाप्रसाद कोइरालालाई पछि पार्दै प्रधानमन्त्रीमा पदासिन हुन पुग्नु शेरबहादुर देउवाको कार्यकुशलता मान्नु पर्दछ । तथापि शेरबहादुर देउवा कांग्रेसभित्रको दोस्रो वा तेस्रो व्यक्तिका रूपमा पनि नभएको अवस्थामा समेत प्रधानमन्त्री बन्न सफल हुनुभएको थियो । त्यस आधारमा भन्नुपर्दा यसपटकको पदीय जिम्मेवारी शेरबहादुर देउवाका लागि निर्णायक र ऐतिहासिक छ । त्यसअर्थमा यसपटकको जिम्मेवारी नितान्त फरक छ भन्ने निष्कर्षमा पुग्न सकिन्छ ।
शेरबहादुर देउवाको विगतको प्रधानमन्त्रीको रूपमा गरेका कामहरूलाई हेर्ने हो भने आगामी दिनहरू पनि त्यही प्रकृतिका नहोलान् भन्न सकिंदैन । शेरबहादुरले संसद्मा आफ्नो पक्षमा बहुमत पु¥याउन सांसदहरूलाई खरिद बिक्री गर्ने वस्तुको रूपमा प्रयोग गर्ने परम्परा बसाले । त्यसले गर्दा संसद्को बदनाम भयो । त्यसैगरी शेरबहादुरकै कार्यकालमा ‘पजेरो संस्कृति’ भित्रियो । यसले संसद्लाई ‘खसीको टाउको राखेर कुकुर मासु बेच्ने थलो’ भनेर संसद्को उपहास गर्नेहरूलाई भरपूर सहयोग पु¥यायो । शेरबहादुर देउवाले नै संसद्बाट महाकाली सन्धि पारित गराएको कलंकित इतिहास बनेको छ । महाकाली सन्धि पारित गराउन मध्यरातसम्म संसद् सञ्चालन गरियो । २० वर्ष बितिसकेको छ महाकाली सन्धि भएको । मध्यरातमा पारित गरिएको सन्धि २० वर्ष बितिसक्दासम्म पनि कार्यान्वयन हुन नसक्नु कसको कमजोरी हो ?
महाकाली सन्धि नेपालको हितमा छैन भनेर आवाज उठाउनेहरूको संख्या कम थिएन । सडक गुञ्जायमान थियो । युद्धमा रहेको माओवादी शक्तिले पनि महाकाली सन्धिलाई राष्ट्रघाती सन्धि भनेको थियो । त्यही महाकाली सन्धिलाई पारित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका शेरबहादुर देउवा माओवादीकै सहयोगमा चौथोपटक प्रधानमन्त्री बन्न पाउनु संयोग भएको छ । देउवाले नै युद्धकालमा माओवादीद्वारा प्रस्तावित संविधानसभाको चुनावको विरोध गरेका थिए । संविधानसभाको विरोध गर्दै देशमा संकटकाल लगाइएको थियो । त्यही दिन रामेछापको दोरम्बामा १९ जना माओवादी कार्यकर्ताहरूको एउटै चिहान बनाइएको थियो । इतिहासका यस्तो त्रूmर घटनाहरूलाई बिर्सिएर माओवादी नेताहरूले शेरबहादुर देउवाको नेतृत्वमा सत्ता साझेदारी गरिरहेका छन् । सफलता होला कि असफलता ? भोलिका दिनहरूले देखाउने नै छ ।
-जनधारणा साप्ताहिक


















