प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि तर्कसंगत बहस गर्न आफू तयार रहेको बताएका छन् । उनले डा. गोविन्द केसीमाथि समस्या समाधान खोज्नुको सट्टा समाधान खडा गरेको आरोपसमेत लगाएका छन्।
नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औं स्मृति दिवसमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘डा. केसीले समाधान खोज्ने भन्दा पनि समस्या मात्र खडा गर्नुभएको छ । स्वास्थ्य तथा शिक्षा क्षेत्रलाई कस्तो बनाउने तपाईं नै जिम्मा लिनुहोस । आयोग चाहिन्छ भने त्यसको अध्यक्ष तपाईं नै बन्नुहोस् ।’
ओलीले डा. केसी अनशन बसे पनि अनशन कायम गर्ने अरू नै भएको आरोप लगाए । प्रधानमन्त्री ओलीले भने, ‘डा. केसी बिरामी छन्, तर अरूले उपचार गर्न दिँदैनन् । राजनीतिक स्वार्थका लागि डा. केसीको उपचार गर्न दिन्न भन्न पाइन्छ ?’ नेपाल चिकित्सक संघले अस्पताल बन्द गर्दै हिँड्नु गैरकानुनी र अमानवीय भएको ओलीले बताए । ‘सरकारी जागिर खाएका डाक्टरले उपचार गर्दिनँ भन्न पाइन्छ ?’ ओलीले भने । उनले डा. केसीको फेरो समाएर राजनीति गरिरहेको कांग्रेस देख्दा आफूलाई दया लागेको बताए। नागरिक दैनिकाबाट ।


















