काठमाडौं / पछिल्लो समययता कानुन त्रिभुवन विश्वविद्यालय अन्तर्गतको केन्द्रिय कानुन क्याम्पसमा कानुन विषय पढ्न चाहने विद्यार्थीहरुको चाप बढेपछि त्यहाँ अवस्थित पुस्तकालयबाट आवश्यक पुस्तक पाउन समेत कठिनाइ परेको छ । नेपाल ल क्याम्पसको पुस्तकालयलाई बृहत् रुपमा व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।
विद्यार्थीलाई आवश्यक पुस्तक समयमै सजिलै उपलब्ध गराउने हेतुले र पुस्तकालयलाई आधुनिक रुपमा व्यस्थित गराउन पुस्तकालयको व्यवस्था गरिन थालिएको छ । विद्यार्थीको सहायतामा ५ दिनसम्म निरन्तर रुपमा पुस्तकालयको व्यवस्थापन गरिने भएको छ ।
अन्य विषयमा स्नातक गरेपछिको पढ्न पाइने तीन वर्षे एलएलबि र अन्य जुनसुकै विषयमा +२ पास गरेकाले प्रवेश परीक्षा दिएर पढ्न पाइने पाँच वर्षे बिएएलएलबि तह गरी दुई स्नातक तहका कोर्स पढाइने गरिएको छ । साथै तीन वर्षे र दुई वर्षे गरी दुईटा एलएलएम कोर्स उक्त क्याम्पसमा अध्यापन हुँदै आएको छ ।
यो वर्ष मात्र ३ वर्षे एलएलबिमा १२००० विद्यार्थी भर्ना भएको नेपाल ल क्याम्पसमा हाल एलएलबि मै अध्ययनरत करिब २४ हजार विद्यार्थी छन् भने १०५ जनाको मात्र कोटा भएको बिएएलएलबि मा करिब ४०० विद्यार्थी र एलएलएम मा करिब ३०० को संख्यामा छन् । यतिका सँख्यामा रहेका विद्यार्थीलाई कलेजमा अध्ययापन गर्न कक्षा समेत अभाव हुन थालेको छ भने पुस्तकालयको उचित व्यवस्थापनको अभाव रहेको छ ।


















