-डा.दीपेन्द्र रोकाया /देवकी तिमल्सिना
संग्रहालयले सम्झाएको मोर्चा
हामी प्याङयोङस्थित क्रान्तिकारी संग्रहालयमा पुग्दा बेलुकी ४ बज्न लागि सकेको थियो । हामीलाई स्वागत गर्न त्यस संग्रहालयकी वोन सोङ हुई गेटमै आउनुभयो । सन् १९५० देखि १९५३ सम्मको अमेरिकीविरोधी लडाईलाई प्रर्दशन गरी पितृभूमिको मुक्ति संग्रहालय निर्माण गरिएको रहेछ । यो संग्रहालय पनि सन् २०१३ मा १० महिनामा निर्माण गरिएको रहेछ । यो त ज्यादै आश्चर्य लाग्दो विकास लाग्यो हामीलाई ।
यस अवधिमा अमेरिकाले कोरियालाई तहसनहस पार्न चार लाख वम त प्याङयोङमा मात्र खसालेको थियो रे ! त्यस समयमा कोरियन जनताले पनि १२००० अमेरिकी हवाई जहाज खसालेका रहेछन् । अमेरिकी एअर क्राफ्ट र विभिन्न ट्याङ्कहरू हे¥यौ । यस्तै जासुसी पानी जहाजका क्याप्टेन लोइट माक प्रचरले आत्मसर्मपण गरेको र सोही घटनामा अमेरिकाले आधिकारिक रूपमा माफी मागेको पत्र समेत प्रर्दशनीमा राखेको देखियो ।
कोरियाले अमेरिकी साम्राज्यवादीसँग लडेर मुक्त भएपछि सोभियत रुसका नेता स्टालीनले उपहार स्वरूप राष्ट्रपति किम इल सुङलाई दिएको उपहार स्वरूपको कारलाई समेत सुरक्षित राखिएको छ । यस कारलाई रुसीहरूले पवेदा भन्दा रहेछन् ।
अमेरिकी समुद्री कमाण्डर जन स्मिथलाई कोरियन जनसेनाको कार्बाहीमा मारिएको घटना ताजै देखाइएको छ । यसो त सिन्चाउन काउण्टीको मोर्चामा जनसेनाको लर्को र उनीहरूले बहादुरीताका साथ लडेको घटना स–चित्र देख्दा आफैले भोगेको जनयुद्धका घटनाक्रमहरू सम्झनामा आउन थाल्यो । कतै उनै मोर्चाहरूमा छुजस्तो अनुभूति भयो ।
भावना न हो, हामी उद्देलित भयौ । हाम्रा शहिद तथा वेपत्ता साथीहरूको सम्झनाले सतायो । गहभरी आँसु छचल्कियो । कतिपयलाई रोमाञ्सजस्तो लाग्दो हो, हामीले त त्यो जिन्दगी गुजारेर आएकाले पीडा हुने गर्दछ । यसैले कतिपयले गर्ने माओवादी र त्यसका नेता कार्यकर्ताप्रति गर्ने हल्का टिप्पणीप्रति पनि सहमति जनाउन सकिदैन । यद्यपि हाम्रो नेतृत्वप्रति औला ठड्याएर भन्न मन लाग्छ, तपाईहरूले आफ्नो विगत भुल्दै कहाँदेखि कहाँ पुगी सक्नुभयो ? तपाईहरू होसमा त हुनुहुन्छ ?
अरुलाई औला ठड्याइरहँदा आफु पनि त्यस अभियानको अभियन्ता हुनाले आफ्नो कर्तव्यको पनि सम्झना गर्दछु । हामीले सामन्तवाद र शाही अमेरिकी सेनासँग लड्यौ । त्यतिबेला विस्तारवादविरोधी मोर्चाको रूपमा सुरुङ युद्ध समेत लड्न परेको थियो । त्यसवखत हाम्रा नेताहरू कोरिया र भियतनामको युद्धको उदाहरण दिने गर्दथ्ये, त्यो कुरा यो संग्रहालयमा पुगेपछि ताजा भएर आयो ।
संग्रहालयबाट बाहिर निस्कदा रात परिसकेको थियो । जीवनमा उज्यालोको खोजी गर्दागर्दै ४० वर्ष बितिसकेछ । मैले यस्तैगरी नेपालमा जनयुद्ध संग्रहालय निर्माण गर्ने सपना देखेको थिएँ । यो प्रस्तावलाई कमरेड मोहन वैद्यले संस्थागत रूप दिन सघाउनुभयो । त्यसलाई कमरेड प्रचण्ड, कृष्णबहादुर महराले साथ दिने कुरा गर्नुभयो । यस सपनालाई साकार पार्न रोल्पाका कुलप्रसाद केसीलाई नेतृत्व गर्न लगाइयो । यो संग्रहालय काठमाडौ उपत्यकाको शान्त र पर्या पर्यटकीय रूपमा विकास भइरहेको गोदावरीमा स्थापना गर्न सकिन्थ्यो । स्थानीय साथीहरूसँग छलफल समेत गरेको थिएँ कि, मार्वल फ्याक्ट्री बन्द भएको ठाउँ उपयोग गर्न सकिन्थ्यो ।
रोल्पालीहरू ब्यक्तिवादी भइसकेका रहेछन् । उनीहरूले रोल्पामै गर्नमा जोड दिए । त्यसमा कसैले राङ्कोट, कसैले लिवाङ त कसैले टिला व्यारेक भने । मेरो विचारमा रोल्पा गर्ने हो भने थवाङ गरौ भन्ने थियो । नेताहरूको कुरा मिलेन । यसले गर्दा अन्नतः टिलामा गर्न सहमत भयौ । कारण त्यहाँ माओवादीद्धारा गठित तर समायोजन प्रक्रियामा विघटित जनमुक्ति सेनाको अस्थायी व्यारेक निर्माण गरेको ठाउँ भएकाले । यस संग्रहालय निर्माण होस् भनी सरकारसँग बजेट राख्नका लागि निकै लबिङ गरियो । बजेट आएपछि त्यसलाई हामीले होइन, स्थानीयबाट काम गर्ने नीति लिनेतिर रोल्पाली नेतृत्व केन्द्रित भयो । त्यसमा पनि सहमत नै थियौ, तर यसको प्राविधिक काम हामी गर्न चाहन्थ्यौ । उनीहरूले विभिन्न वाहनामा हामीलाई फगत पैतला मात्र बनाए । जसलाई मैले तुहिएको सपनासँग दाँज्ने गर्दछु । तर आफ्नो सपना साकार पार्न कर्नाली प्रदेशमा जनयुद्ध संग्रहालय स्थापना गर्ने कार्यक्रम राखेको छु । यहाँ पनि यस्तै पहलकदमी लिन परिरहेको छ ।
नयाँ सभ्यताको निर्माण
होटलमा ‘द जुछे आइडिया स्पीडस् अल ओभर द वल्र्ड नामक फिल्म हे¥यौ । यस फिल्मले संसारमा सबै क्षेत्रका मान्छेलाई यो वा त्यो रूपमा जुछे विचारले प्रभाव पारेको जानकारी गरायो ।
पार्टी फाउण्डेशन मनिमण्डमा पुग्दा त्यहाँको जानकारी दिन डि उन सिम आउनुभयो । यो स्तम्भ सन् १९९५ अक्टुवर १० मा बनेको हो । यो स्तम्भ निर्माण गर्ने निर्णय गरेको भोलिपल्ट राष्ट्रपति किम इल सुङको निधन भएको थियो ।
यो ५० मिटर अग्लो स्तम्भलाई एक वर्ष लगाएर निर्माण गरिएको थियो । भोलिको पुस्तालाई देश, परिस्थिति र क्रान्तिकारी विचार ज्ञात रहोस् भनी यो स्तम्भ र यसभित्र चित्रहरू कुदिएको छ । कोरियाली श्रमिक पार्टीको निर्माण बुद्धिजीको ब्रस, किसानको हसिया र मजदुरको हतौडालाई प्रतिक बनाइएको छ । किसानको वास्तविक प्रतिनिधित्व महिलाले गर्दछन् भन्ने मानिएको पाइयो । यो स्तम्भलाई हेर्दा कोरियाका ढुङ्गाले जीवन पाएको अनुभव भयो ।
यस स्तम्भको उत्तरी क्षेत्रको दुई वटा भवनमा ‘हामी संधै विजयी हुन्छौ’ राष्ट्रिय झण्डा फहराएको आकारमा लेखिएको छ । दक्षिणतर्फ भने राष्ट्रपति किम इल सुङ, कोरियाका महान नेता किम जोङ इलको तस्वीर देखिन्छ । यो फराकिलो क्षेत्र छ ।
यसका साथै, हामी सास्कृतिक प्रर्दशनी हलमा गयौ । विभिन्न आर्ट तथा नेताहरूको तस्वीरहरूको अवलोकन ग¥यौ । यतिबेला चाँहि गहिरो गरी अनुभव भयो कि जहाँ कला र साहित्य तथा ढुङ्गा माटोले ज्युदो हुने अवसर पाउँछ त्यहाँ नयाँ सभ्यता निर्माण गर्ने आधार निर्माण हुन्छ ।
केन्द्रीय चिडियाखाना
हामीलाई गेटमै स्वागत गर्न एनमी ह्याङ आइन् । सन् १९५६ मा स्थापित राष्ट्रिय चिडियाखाना करिव १०० हेक्टरको भएको जानकारी दिदै भनिन्, यहाँ १०५०० जनावर छन्, यिनको व्यवस्थापनका लागि ४५ वटा शाखा रहेका छन् । त्यसमा पाँच हजारभन्दा बढी त माछा नै छन् । विभिन्न प्रकारका माछा मध्ये ऋभिअतखष्अ भ्भ िनामक माछाले ८५० भोल्ट करेन्ट निकाल्छ भन्ने जानकारी पाइयो । व्याउँदै गरेको अझिंगर पनि देखियो । संसारमा ५३ प्रकारका कुकुर हुने र त्यसमा कुकुर संकलन केन्द्र कोरियामा मात्र रहेको जानकारी पाइयो ।
यहाँ अन्त देखेको भन्दा फरक उड दखियो । भियतनामका क्रान्तिकारी नेता हो चि मिन्हले उपहार स्वरूप दिएको हातीको परिवार हेरियो । अलि फरक खालको बाँदर र चिनपान्जीको जोडीलाई देखियो । सेतो बाघ पनि प्रत्यक्ष यहीँ हेर्न पाइयो ।
यो चिडियाखानाको अवलोकनबाट हामी यहाँको राम्रो व्यवस्थापन, वातावरण संरक्षण तथा प्रस्तुतिले निकै प्रभावित भयौ ।
समृद्धि स्टेशन
बेलुकीपख हामी सडक छेउमा कारबाट उत्र्यौ । त्यहाँनेर सब–वे देखियो । त्यहाँ छिर्न खोज्दा निकै लामो ओरालो लिफ्ट देखा प¥यो । लिफ्टबाट हामी भूमिगत रेल स्टेशनमा पुग्यौ । रेल २ मिनेटको फरकमा आउने जाने गर्दो रहेछ । मान्छेहरू सडकमा प्रायः किन देखिदैनन् भन्ने रहस्य बल्ल खुल्यो । यसै रेलबाट ओहोर होहोर गर्ने रहेछन् । निश्चित स्टेशनमा मात्र अलि अलि भीड लाग्ने रहेछ ।
सुनेअनुसार यो रेल संसारकै सबभन्दा गहिरो स्थानमा सञ्चालन गरिएको छ । यो हेर्ने कार्यक्रम त थिएन तर मेरो विशेष अनुरोधमा त्यहाँ पुग्दा साथीहरू आश्चर्यचकित हुनुभयो । यो रेल जमिनभन्दा १०० मिटर तल रहेछ । रेलको स्प्रीड भारतको कोलकोत्ता र दिल्लीमा चढेको मेट्रोजस्तै लाग्यो ।
यसलाई कोरियाली जनताले पुहुङ स्टेशन अर्थात् समृद्धि स्टेशन भन्ने रहेछन् । अनुवादक पाकका अनुसार यसले टा«फिक व्यवस्थापन तथा सुरक्षित यात्राका लागि उपयोगी छ ।
वाई वाई कमरेड
कोरिएन एशोसिएसन अफ सोसल साइन्टिक्स्का एसिएन शाखा प्रमुख किम छोल होक हामी बसेकै होटलमा आउनु भयो । उहाँले समग्र यात्राका बारेमा सोधपुछ गर्नुभयो । आफ्नो सन् २०१६ को नेपाल यात्राको सम्झना गर्नुभयो र आउँदो वर्ष नेपाल भ्रमणको निम्ता समेत दिदै भन्नुभयो, ‘तपाईहरूले अन्तर्राष्ट्रिय इन्स्च्यिुट अफ जुछे आइडियाका एसिया शाखाका उपाध्यक्ष हरिश गुप्तासँग सम्पर्क गर्नुहोस् ।’
हामीले आफ्ना कुरा राख्यौ । उहाँले राष्ट्रपति किम इल सुङको लकेट वितरण गर्नुभयो र यात्रा सुखद् रहोस् भनी कामना गर्नुभयो । हामीले अनुवादक साथी पाक र ३ जना ड्राइभरलाई एक, एक पाकेट चुरोट उपहारको रूपमा दियौ । किनकि कोरियनहरू नेपाली चुरोट भनेपछि हुरुक्कै हुने रहेछन् । तर मिस लीलाई भने सम्झना स्वरूप डायरी प्रदान ग¥यौ ।
सोमवार विहानको ब्रेक फास्टपछि हामीहरू तयार भएर लबीमा आइ सकेका थियौ । मिस ली र पाकले हाम्रो लागि दिउँसोको खाना समेत बोकेर आउनुभयो । एक हप्ता दिनको उठवसका कारण हामीहरू नजिकका साथी भइसकेका थियौँ । मिलनपछि विछोड अवश्य हुन्छ । कोरियामा समय बितेको थाहै भएन । छुटिदा सबै जना भाबुक भाबुक थियौ । दह्रा हातहरू मिलायौ । अंगालो हालेर धाप मा¥यौ । हाम्रा आँखाहरू रसाए । क्रमशः…


















