काठमाडौं / चन्द्रगढी विमानस्थल भद्रपुर झापामा रात्रीकालीन उडान सुरु भएको छ।
प्रधानमन्त्री केपी ओलीले भद्रपुरस्थित चन्द्रगढी विमानस्थलको रात्रिकालीन उडानको बिहीबार साँझ उद्घाटन गरे। ओली यती एयरलायन्सको रात्रिकालीन उडानमार्फत भद्रपुरबाट काठमाडौँ आएका थिए ।
विसंं २०२६ मा स्थापना भएको चन्द्रगढी विमानस्थलको पन्ध्र सय मिटर लामो धावनमार्गमा रहेको रनवे लाइटको ‘स्विच अन’ गरेर प्रधानमन्त्री ओलीले रात्रिकालीन उडानको उद्घाटन गरे।
बुधबार मात्रै बुद्ध एयरले त्यहाँ रात्रीकालिन उडानको सफल परीक्षण गरेको थियो। यती एयरलायन्सले आजैदेखि सन्ध्याकालीन एक उडान नियमित रुपमा गर्ने जनाएको छ भने बुद्ध एयरले दश दिनपछि नियमित रात्रि उडान गर्ने भएको छ।
विगत ५ महिना अघिदेखि धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा विराटनगर विमानस्थलमा रात्रीकालीन उडान सञ्चालनमा छन्। अबको २ महिना पछि जनकपुरमा पनि रात्रीकालीन उडान हुने जनाइएको छ।
उद्घाटन अवसरमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, पूर्वाधार विकास तथा भौतिक योजनामन्त्री रघुवीर महासेठ लगायतको उपस्थिति रहेको थियो।
चन्द्रगढी विमानस्थलबाट हाल यती एयरले दैनिक दुई, बुद्ध एयरले दैनिक दुई, श्रीएयरले दैनिक दुई र नेपाल एयरलायन्सले सातामा तीन दिन काठमाडौँसम्मको हवाई यातायात सञ्चालन गर्दै आएका छन्।

















