कमलपोखरी हडप्ने ११७ बर्षे तिगडम

228

जेवी पुन मगर ्र

दक्षिणएशियाकै नमुना भनि प्रचारित ठमेलको मुटुमा ठडिएको १५ तले छाँयादेवी मल मुनि केहि मुठ्ठीभर ब्यक्तिद्धारा कसरी राज्यशक्तिको आडमा स्थानीय नेवार समुदायको साँस्कृतिक सम्पदाको चिहान बनाईयो । यसरी बदमासी गर्ने खलपात्रहरु को को हुन् रु खोजमूलक रिपोर्ट ।

– जेवी पुन मगर

२५ डिसेम्बर २०१८ का दिन ठमेल स्थित भब्य सपिङ् कम्प्लेक्स ‘छाँया सेन्टर‘ दुलही झैं सिंगारिएको थियो । संस्कृति, पर्यटन तथा उड्ययनमन्त्री रविन्द्र अधिकारीको प्रमुख आतिथ्यमा दिउँसो २ बजे १५ तले छाँया सेन्टर उद्घाटन हुने सेन्टरका अध्यक्ष पृथ्बिबहादुर पाँडेद्धारा हस्ताक्षरित ब्यवसायी, राज्यका हर्ताकर्ता र संचारकर्मीहरुका नाममा बाँडिएका निम्तोपत्रमा उल्लेख थियो ।

पर्यटनकेन्द्र ठमेलको मुटुमा ‘१५ रोपनी क्षेत्रफल ओगटेको र ५ अर्ब लगानी गरिएको’ छाँया सेन्टरको ब्यावसायिक वेवपेजमा कम्प्लेक्सभित्र २५० वटा पसल, दुई सय वटा सुविधासम्पन्न कोठा भएको पाँचतारे होटल, एक हजार क्षमतायुक्त बैंकटहल, पाँचसय क्षमताको कन्र्फेन्स हल र ७ वटा रेष्टुरेन्ट सहितको ४५० वटा गाडी अटाउने क्षमताको कारपार्क रहने उल्लेख छ । ‘यस्तो कम्प्लेक्स दक्षिणएशियामै नयाँ अवधारणा हो ।’ छाँया सेन्टरका बजार निर्देशक सुमन पाण्डे मीडियामा बोलिरहेकाछन्, ‘ छाँया सेन्टरले ठमेल क्षेत्रको पर्यटनको श्रृबद्धिमा महत्वपूर्ण योगदान दिनेछ ।’

तर यसरी दक्षिणएशियाकै नमुना भनि बिज्ञापन गरिएको छाँया सेन्टर बिरुद्ध उद्घाटनकै दिन कालो ब्यानर र प्लेकार्ड बोकेका एक हुल मान्छेले गेटअगाडि धर्ना मात्र दिएनन, ‘पैसा खर्च गरि पाप नबोकौं । धार्मिक स्थल मिचि बनाईएको छाँया सेन्टर बहिष्कार गरौं । छाँयादेवी कम्प्लेक्समा पसल नराखौं । किन्न नजाऔं । काम गर्न नजाऔं र कुनैपनि ब्यापार नगरौं ।’ भन्दै नारावाजी गरे । नाराबाजी गर्ने मान्छे संख्यामा निकै कम थिए तर तिनको आवाजमा दम रहेछ भन्ने केहि क्षण मै पुष्टि भो ।

विरोधका कारण प्रमुख अतिथि मन्त्री अधिकारी कार्यक्रममा सहभागी भएनन । उनको साटो नेकपा केन्द्रका युवा नेता योगेश भट्टराई पछिल्लो गेटबाट सुटुक्क कम्प्लेक्स भित्र छिरे र उद्घाटन गरि फर्किए । बाहिर हतियारबन्द सुरक्षाकर्मीको आमनेसामने नारावाजी चलिरहेकोथियो भने भित्र उदघाटनको कर्मकाण्ड थियो ।

शाहकाल, राणाकाल र त्यसयताको पन्चायत, प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रका नाममा चलिरहेका राज्यसत्तामा हस्तक्षेपकारी भूमिका खेल्दै आईरहेको पाँडे खलक प्रत्यक्ष जोडिएको छाँया सेन्टरलाई ति केहि मान्छेको आवाजसंग किन डर थियो रु राज्य किन ति मान्छेका रौद्ररुपका अगाडि प्रकट भइ आँखा जुधाउन सकेन, उसलाई चोरबाटो पक्रनु प–यो रु यिनै प्रश्नको जवाफ खोज्दैं जाँदा मिनी ठमेलको रुपमा प्रचारित सपिङ कम्प्लेक्स निर्माणभित्र कसरी सत्ता र शक्तिको नांगो नाच रचिएको रहेछ भन्ने कथाबाट पर्दा उघ्रिन्छ ।

सदियौं पुरानो पुरातात्विक ९धार्मिक र साँस्कृतिक ० महत्वको स्थल कब्जा गर्न सत्ता र षड्यन्त्रको कसरी प्रयोग गरिंदोरहेछ भन्ने पनि यस प्रकरणले प्रष्ट उजागर गरेकोछ । यो आलेखले सत्ता, शक्ति र षड्यन्त्रको बलमा राज्यपोषित ब्यवसायीले गरेका बदमासी र आफ्नो पहिचान स्थापित गराउन लागिपरेका स्थानीय नेवार समुदायका जनताबीच चलिरहेको ११७ बर्ष लामो संघर्षको कथा पनि कहन्छ ।

नेवारी साँस्कृतिक सम्पदा
इतिहासको लामो कालखण्डको अद्योपान्त अध्ययन नगरि छाँया सेन्टरका नाममा भैरहेको विवादको जड बुझ्न सकिदैंन । ठमेल वडा नं।२९ स्थित राणाकालिन केशरमहल दरबारसगैं जोडिएको लिच्छवीकालीन विक्रमशील महाविहार जसलाई थँ वहिल पनि भनिन्छ, सम्मुख रहेकोे धार्मिक र साँस्कृतिक महत्वको कमलपोखरी मिचेर बनाईएको छाँया सेन्टर अहिले बिवादको केन्द्रमा रहेपनि यस पुरातात्विक स्थलको ऐतिहासिक बैभवता भने लोभलाग्दो छ ।

बौद्ध धर्मावलम्बीहरुको आस्थाको केन्द्र यस विहारमा जन्म–मरण संस्कार बज्राचार्यले गर्छन् भने करिब १५२ घर परिवार सदस्य रहेको प्रधानहरुले श्री सिंह सार्थवाहक गरुड भगवान गुठी अन्र्तगत विक्रमशील महाविहारको रेखदेख गर्दै आएकाछन् । डंगोल र महर्जन समुदायले विहारको सरसफाई र संरक्षणमा योगदान दिन्छन् । कपाली समुदायले जात्रा–पर्व र साँस्कृतिक मेलामा बाजागाजा बजाउने कार्य गर्दछन् । नङ् काट्ने काम नाउनी र मुल देउताको पुजा ‘पाँचथरी श्रेष्ठ’ ले सम्पादन गर्दछन् । बौद्ध धर्मावलम्बीले यस विहारमा प्रज्ञा पारमिताको सुत्रपाठ गर्ने परम्परा छ । प्रधान परिवारका पूर्खा सिंह सार्थवाहले पुनःनिर्माण गरेको यस विहारमा प्रधान खलकले मुर्ति स्थापना गरि कुल देउताको रुपमा उनको पुजाआजा गर्दै आईरहेकाछन् ।

कान्तिपुरको शिरानमा रहेकोले थँ ९नेवारी भाषामा माथि वा पुरानो ० वहिल ९विहार ० विक्रमशील महाविहार अत्यन्त प्राचिन मानिन्छ भने यो विहार भन्दा उत्तरतर्फ अर्को कुनै विहार छैन । श्री सिंहसार्थ वाहु गरुड भगवान गुठीका सदस्य मधुमम प्रधानका अनुसार, थँ वहिल अपभ्रंश हुदैं ठमेल नामाकरण भएको ठानिन्छ । थँ वहिल कान्तिपुरका संस्थापक राजा गुणकामदेव ९ विस १०४३–५०० ले आज भन्दा एकहजार बर्ष अगाडि बसालेको अधिकाँश बंशावलीहरुमा पाईएको इतिहासविद भुवनलाल प्रधानले मधुपर्क ९अंक २४, असोज २०४८ ० मा प्रकाशित ‘थँबहिल अर्थात ठमेलको ऐतिहासिक प्राधान्य’ लेखमा उल्लेख गरेकाछन् । उनका अनुसार, यस क्षेत्रमा बौद्धमार्गी प्रधानहरुले नै राजकाज संचालन गर्दै आएकाथिए । त्यसैले यस क्षेत्र वरपर उनीहरुकै साँस्कृतिक, धार्मिक र पारम्पारिक सम्पदाहरुको प्रधानता भेटिन्छ ।

तर पुरातात्विक विभागले विक्रमशील महाविहार परिसरमा लिच्छविकालिन अर्थात गुणकामदेव भन्दा अगाडि नै बनिसकेको चैत्यहरु प्राप्त गरेकोछ । त्यसलेपनि थँवहिल क्षेत्रमा धेरै अगाडि नै बस्ती बसिसकेको देखिन्छ । एउटा लिखतमा थँ वहिलमा मल्लकालदेखि नै गुठी रहेको लेखिएकोछ । ९हेर्नोस् दस्तावेज ०

कुनैबेला थमविहारको रुपमा चिनिने यो विक्रमशील महाविहार फराकिलो क्षेत्रफलमा फैलिएको र अति सम्पन्न रहेको बिभिन्न ग्रन्थहरुमा उल्लेख छ । सन १०४१ मा नालन्दा विश्वविद्यालयका प्राध्यापक तथा महायान बौद्ध धर्मका बिद्धान अतिशा पश्चिम तिब्बतका राजाको निम्तोमा त्यसतर्फ जादैं गर्दा एक बर्ष नेपालमा बिताएकाथिए । उनले विहारको हाताभित्र एकैचोटी ५ सय भिक्षु र श्रमणलाई शिक्षादिक्षा दिन मिल्ने फराकिलो क्षेत्रफलमा फैलिएको सुविधासम्पन्न र ब्यवस्थित आवासीय शिक्षालय रहेको उल्लेख गरेकाछन् ।

भारतको विक्रमशील महाविहारबाट आई यस विहारको शैक्षिक र भौतिक विकासमा टेवा दिएकोले अतिशाको सम्मानमा थमविहारलाई विक्रमशील महाविहार नामाकरण गरिएको भागवतनरसींह प्रधानद्धारा थँ वहिल उपर लेखिएको ‘कमलपोखरी भाग–१’ पुस्तकमा उल्लेख छ । उनीपछि तेह्रौ शताब्दिको पूर्वाद्धमा नेपाल आई आठ बर्ष ज्ञानआर्जन गरि भारततर्फ लागेका तिब्बतका बौद्ध बिद्धान धर्मस्वामीले पनि यस विहारको ज्ञानको बैभवता उपर चर्चा गरेकाछन् । राणाकाल सम्म पनि ठमेलदेखि नागार्जुन सम्म फैलिएकोे जग्गाबाट प्राप्त आयश्रोतबाट गुठी ब्यवस्था अन्र्तगत विहारको संचालन हुनुले पनि यसको सम्पन्नता अनुमान गर्न देखिन्छ ।

विभिन्न कालखण्डमा भएका राजनीतिक उतारचढावले यसको आकारप्रकारमा पनि परिवर्तन हुदैं आएको देखिन्छ । नेपाल सम्बत ४७० मा दक्षिणबाट उक्लिएका सामन्त शामसुद्धिन सुल्तानले नेपाल जिति लुटपाट मात्र गरेनन् पशुपति, स्वयम्भू, पाटन, भादगाँउ लगायत यहाँका वैभवशाली शहरहरुमा आगजनी गरि यहाँका सम्पदा र ज्ञानका भण्डार नष्ट गरिदिए । त्यसबखत विक्रमशील महाविहार पनि जलेको ‘मास्टर इन नेपाल दि थम वहिल एण्ड फाईभ स्टुपाज फाउण्डेसन आक्रडिङ टु दि ब्रम स्टोन आइटिनररी’ मा हवर्ट डेकलरले उल्लेख गरेकाछन् । त्यसपछि विस १५८२ मा पाल्पाका राजा मुकुन्द सेनले पनि नेपाल आक्रमण गरि ठमेलको उत्तरी भेगमा आगजनी गरेको ईतिहास छ । थँ वहिलका अध्येता भागवतनरसींह प्रधानको अध्ययनमा विहारको अहिलेको भौतिक संरचना तेश्रो चोटी बनाइएको हो ।

पृथ्विनारायण शाहले उपत्यका विजय ९विस १८२५ भाद्र २२ ० पछि विहार सहित गुठी अन्र्तगत रहेका सयौं रोपनी जग्गा आफ्नो नियन्त्रणमा आएपनि चलिआएको धार्मिक, साँस्कृतिक परम्परालाई रोक्न सकेनन । उनले गुठीका सबै जग्गा लालमोहर गरिदिई विहारमै चढाएकाथिए । यसको एउटा कारण ‘समुदायसंग जोडिएको धार्मिक, साँस्कृतिक र परम्पराको लामो श्रृखंलाले जोडेको पहिचान थियो भने अर्को पृथ्विनारायण शाहले कान्तिपुर आक्रमणमा थँवहिलका प्रधानहरुको महत्वपूर्ण सहयोग प्राप्त गरेकाथिए भनिन्छ । उनले त्यहि सहयोगको पैंचो तिर्न जितेका गाउँ फर्काईदिएको बिश्वास गरिन्छ ।

श्री सिंह सार्थवाह गरुड भगवान गुठीद्धारा २०५२ सालमा प्रकाशित थँ वहिल अनुसार, गुठी मातहत रहेको र विक्रमशील महाविहारसंग घनिष्ठ साईनो रहेको सय मिटर पूर्व पट्टिको कमलपोखरीलाई तान्त्रिक विधिले निर्माण गरिएको बिश्वास गरिन्छ । पोखरीमा फूल्ने कमलको फूलले विहारमा दैनिक पूजा गर्ने प्रचलन थियो । पोखरीको पानी ल्याई विहारको सार्थवाहको मुर्तिलाई ‘पन्चामृत स्नान’ गराईन्थ्यो । साथै, बार्षिक रुपमा बज्राचार्यद्धारा गरिने प्रज्ञापारमिता वाचनका दिन पोखरीबाट ल्याईएको कमलको पातमा ८४ ब्यन्जन भोजन चढाईने गरिन्थ्यो । प्रधान खलकले पितृको श्राद्ध समेत यसै पोखरीमा सम्पन्न गरिन्थ्यो । पोखरीको डिलमा चैत्य र मूर्तिहरु कुँदिएकाथिए । पोखरीलाई चारैतीरबाट पर्खालले घेरिएको र त्यहाँभित्र जान आउन गेट बनाईएकोथियो ।

यहि साँस्कृतिक पोखरीमा राणा शासकको कुदृष्टि परेपछि जीतशमशेर राणाद्धारा शुरु भएको कमलपोखरी कब्जाको तिगडमबाजीले अहिले छाँयादेवी कम्प्लेक्सको स्वरुप धारण गरेकोछ । पोखरीलाई पुरेर त्यसमाथि बनाइएको १५ तले छाँयादेवी कम्प्लेक्स सत्ता, शक्ति र षड्यन्त्रको प्रतिकको रुपमा उभिइन पुगेकोछ भने वैभवशाली इतिहास वाचन गरिरहेको विक्रमशील महाविहार त्यस्तो षड्यन्त्र बिरुद्ध भएका संघर्षको साक्षी बस्न अभिशप्त छ ।

जग्गा हडप्ने जालझेल
भण्डारखार ९विस १८६३ साल ० घटनामा मारिएका काजी नरसिंङ् गुरुङको जग्गामा बनाईएको दरबार भाई जितशमशेरबाट किनेपछि त्योे दरवार चन्द्रशमशेरले छोरा केशरशमशेरलाई उपहारमा दिए, जसलाई पछि केशरमहल नामाकरण गरियो । जितशमशेरले विस १९५८ मै कमलपोखरीको ३ रोपनी जग्गा दरवारको कम्पाउण्डभित्र पारेकाथिए, जसवापत उनले ठमेलबाट धेरै पर ललितपुर इमाडोलमा ३ रोपनी जग्गा सट्टाभर्ना दिएकाथिए । ९ हेर्नोस् दस्तावेज ०

केशरशमशेरले विस १९७७ मा श्री सिंह सार्थवाह गरुड भगवान गुठीका गुठीयारहरुलाई भेला गरि ‘बलजफ्ती’
कमलपोखरी र डिल केशरमहलको हाताभित्र छिराए भने पुजा गर्न बनाइएको प्रवेशद्धार समेत बन्द गरिदिए । उनको यस्तो बदमासीको विरोध भएपछि केशर शमशेरले डिलको जग्गा बापत अर्को ठाँउमा सट्टाभर्ना दिने र पोखरी प्रयोग गरेबापत जग्गा भाडा बापत बार्षिक मोरु १२५ भूवहाल दिने लिखत गरे । ९ त्यतिबेला भएको बिवादसम्बन्धि दस्तावेज हेर्नोस् ०

जितशमशेरले जस्तो केशर शमशेरले गुठीलाई जग्गा सट्टाभर्ना दिएनन् । गुठीयारहरु पनि त्यसमा राजी भएनन् । तर उनले बार्षिक १२५ भू–वहाल भने तिरिरहे । केशर शमशेरको मृत्यु पश्चात उनका छोरा केयुरशमशेरले पोखरी सुकाएर त्यसमा खेती गरेको नौटंकी गरे । ९ भू–वहाल नतिरेपछिको बिवाद सम्बन्धि दस्तावेज ०

पोखरी सुकाएर धान रोपेपछि गुठीयार र धर्मशिला विहार सम्बद्ध नेवार समुदायले उनलाई त्यसो नगर्न अल्टिमेटम दिए । यदि यो समस्या आफु–आफुमै मिलाउन नसके अदालतको ढोका ढक्ढक्याउन बाध्य हुने चेतावनी दिंदा त्यसरी गएका मान्छेलाई २९ बर्षीय केयुरले उल्टै ‘पोखरी र डिल आफ्नो जग्गामा पार्ने र पार्न नसकेपनि मोहियानी हक प्राप्त गरेर देखाईदिन्छु । तिमीहरु जे गर्नसक्छौ गर ।’ भन्दै धम्क्याएको २०२७ सालमा जिल्ला अदालत काठमाण्डौमा पीडित पक्षले चढाएको फिरादपत्रमा उल्लेख गरिएकोछ ।

दुई पक्षबीच विवाद यति उत्कर्षमा पुग्यो कि भगवान गुठी प्रशासनले पोखरी र डिलबापत तिर्नुपर्ने बार्षिक १२५ भू–वहाल समेत बुझिदिएनन् । भू–वहाल नबुझिदिएपछि केयुरले ‘गुठीले पैसा नबुझिदिएको’ भन्दै निवेदन सहित गुठी संस्थानमा गई भू–वहाल तिरेकाछन् । उनले गुठी संस्थानमा २०२६ फागुण ३० गते निवेदन दिएको र मुख्य लेखापालले चैत ३ गते पैसा दाखिला गरेको देखिन्छ । ९ हेर्नोस दस्तावेज ०

भूमि सम्बन्धि ऐन, २०२१, दफा २५ को ‘मोही सम्बन्धि ब्यवस्था’ को फेरो समाई विस २०२७ सालमा केयुरशमशेरले कमलपोखरीमा मोहियानी हक कायम गराउन पोखरीको पानी सुकाई त्यसमा खेती गरेको नौटंकी गरेकाथिए । मोहियानी हक दावी गर्न खोज्नुको पछाडि खास कारण थियो ।

संशोधित गुठी संस्थान ऐन ३०३३ को दफा २७ ले ‘गुठी जग्गामा खास जोताहा किसानले प्रचलित कानुन बमोजिम मोहियानी हक पाउने’ ब्यवस्था गरेतापनि त्यहि ऐनको दफा २५ ९४० मा ‘देवस्थल रहेका वा देवी देवता देवस्थल पर्व पूजा जात्रासँग सम्बन्धित धार्मिक एवं सार्वजनिक पर्ति जग्गा कुनै व्यक्तिको नाममा दर्ता गरिने छैन । त्यस्तो जग्गा दर्ता गरिएको रहेछ भने पनि संस्थानले त्यस्तो जग्गाको दर्ता बदर गर्न सक्ने’ ब्यवस्था गरेको छ ।

मालपोत ऐन २०३४ ले यस्ता जग्गा दर्ता गर्न नपाईने र यदि कसैले त्यसो गरेमा एउटा निवेदनको भरमा ब्यक्तिको नियन्त्रणबाट पुनः सार्वजनिक गराउन सक्ने ब्यवस्था छ ।

भूमि सम्बन्धि ऐन, २०२१ को दफा २५, उपदफा ५ ९ग र घ० ले ‘नेपाल सरकारको स्वामित्व भएको जग्गा कमाउने ब्यक्ति वा औद्योगिक ब्यवसायको निमित्त नेपाल सरकारले तोकिदिएको जग्गा कमाउने ब्यक्ति’ लाई मोहीको हक नलाग्ने भनेको छ । अर्थात केयुरशमशेरले जति नौटंकी गरेपनि उनी कुनैपनि कोणले मोही बन्ने योग्यता बोक्दैनथे ।

बिस २०२१ सम्म समुदाय र ब्यक्तिले संचालन गर्ने गुठी अन्र्तगतका जायजेथा भूमी सम्बन्धि ऐन २०२१ ले राजगुठी अन्र्तगत नियमन गर्ने र त्यसलाई गुठी संस्थानले सन्चालन गर्ने ब्यवस्था ग–यो । तथापि राजगुठी राज्यको सम्पत्ति भएतापनि त्यसको चलअचल सम्पत्तिको आयश्रोतबाट स्वायत्त रुपले गुठी सन्चालन गर्ने अधिकार समुदायलाई नै दिइएकोथियो ।

त्यहि नियम बमोजिम विक्रमशील महाविहार र कमलपोखरी सन्चालन गर्ने सामुदायिक गुठी श्री सिंह सार्थवाह गरुड भगवान गुठी राजगुठीमा परिणत भई सरकारको स्वामित्वमा गएकोले केयुरलाई जग्गा कब्जा गर्न सजिलो थिएन । त्यसैले उनले कमलपोखरी मासि त्यसलाई साँस्कृतिक सम्पदाबाट सामान्य जग्गामा परिणत गर्ने र त्यसको ऐतिहासिकता ९धार्मिक, साँस्कृतिक र परम्परा० मेटाउन खोजिरहेकाथिए ।

एकसय चार बर्षे जहानिया राणा सत्ता चलाउने खलकका कान्छा उत्तराधिकारीले कमलपोखरी कब्जा गर्न आफुलाई जसरी सामान्य कृषक बनाउने प्रपन्च रचे, त्यसले उनलाई दुईटा फाईदा दियो । पहिलो, चार किल्ला कायम गराई साढे २६ रोपनी जग्गाबाट आधा भन्दा बढी जग्गा उनको नियन्त्रणमा गयो भने दोश्रो, बाँकी बचेंको १२।१३।२।२ रोपनी जग्गामा समेत आफुलाई मोहीको रुपमा स्थापित गराउन जालझेल शुरु गरे ।

विस २०३३ कार्तिक १९ गते नापी शाखाले गरेको फिल्डबुकमा साढे २९ रोपनी जग्गाबाट घटेर कायम गरिएको कित्ता न १६७े मा उल्लेखित कमलपोखरीको १२।१३।२।२ रोपनी जग्गामा जग्गाधनीको नाम पोखरी र मोहीको महल खाली थियो । त्यो जग्गामा केयुर मोही दावी गर्न खोजिरहेकाथिए । त्यसैले आफ्नो धार्मिक,साँस्कृतिक र परम्पराको केन्द्र पोखरी मासेर जग्गा कब्जा गर्ने योजना बनाएका केयुर बिरुद्ध अदालतको ढोका ढक्ढक्याउन पुगेका गुठीयारहरुसंग उनी अदालतमै भिडिरहेकाथिए ।

ऐन कानुन समुदायकै पक्षमा बलियो भएकोले साँस्कृतिक सम्पदा कब्जा गर्न सत्ता र शक्ति दाहिना भएपनि केयुरलाई सोंचेजस्तो सहज थिएन । सर्वोच्चले समुदायको पक्षमा निर्णय सुनायो र पोखरी र डिललाई गुठीकै सम्पत्तिको रुपमा ब्याख्या गरिदियो । तर केयुर सत्ता र शक्तिको प्रतिनीधि भएकोले हुनसक्दछ, सर्वोच्चवको रोहवरमा दुई पक्षबीच मिलापत्र गराएर ‘दुबैले जित्ने’ वातावरण मिलाईएकोछ ।

२०३३ माघ ८ गते सर्वोच्च अदालतमा गुठी संस्थानको रोहवरमा दुइ पक्षबीच भएको मिलापत्रले त्यहि कथ्य कहन्छ, जसमा केयुरशमशेरलाई मोही कायम गराउने र त्यसबापत भूवहाल तिराउने सहमति गरिन्छ ।

मोहियानी दावीको अभिष्ट
कमलपोखरीको पानी सुकाई त्यसमा जोतेर आफुलाई कृषक बनाई केयुरले मोहि दावी किन गरेकाथिए भन्ने रहस्यबाट पर्दा ६ बर्ष पछि मात्र खुल्न थाल्दछ । विस २०३९ जेठ २४ गते जारी भूमी सुधार मन्त्रालयको जग्गाधनी पूर्जामा कित्ता नम्बर १६७ मा पोखरी नै देखिन्छ तर मोहीको महलमा केयुरशमशेरको नाम थपिसकिएको हुन्छ । पूर्जामा जग्गाधनीमा श्री सिंहसार्थ वाहु गरुड भगवान गुठी उल्लेख छ । ९ हेर्नोस दस्तावेज ०

आफुलाई मोहीको रुपमा दर्ता गराउनासाथ यसै साल केयुरले झटपट एउटा काम गरे । उनले ०।६।०।० रोपनी ९ कित्ता नं। १६१६० सुधा पौडयाल र २।१०।०।० रोपनी ९कित्ता नं १६१७० बीना पौडयाललाई राजिनामा गरिदिई बाँकी जग्गा ९कित्ता नं।१६१८० आफ्नो नाममा राखे । ९ हेर्नोस दस्तावेज ० उनले गुठी संस्थान ऐन, २०३३, दफा ३० को ‘मोहियानी हक को खरीद–बिक्री गर्न सकिने विशेष व्यवस्था’ लाई समाति यसरी कित्ताकाट गराएको देखिन्छ ।

केयुरको जग्गा हडप्ने त्यस्तो चतु–याईले काम गरेको कम्तिमा गुठी संस्थानमा रहेको २०४२ सालको फिल्डबुकले चाहिं देखाउँदैन । त्यसमा जग्गाधनीमा पोखरी र जोताहा महलमा पर्ती नै उल्लेख छ । ९ हेर्नोस दस्तावेज ० आफ्नो चतु–याई फेल भएको देखेपछि केयुरले विश्वस्नीय गुठीयारलाई हातमा लिई भित्रभित्र अर्को बदमासी गरेको ठमेल गुठी तहसिल कार्यालयमा रहेको २०४४ सालको रेकर्डले देखाउँछ । त्यसमा कमलपोखरीलाई सीम जग्गा कायम गरिएको मात्र छैन, कित्ता नं। १६७ लाई ब्यक्तिका नाममा कित्ताकाट गरि ९कित्ता नं।१६१६,१६१७,१६१८० कुत ९तिरो० समेत बुझाईएकोछ । यी सबै प्रक्रियामा गरुड भगवान गुठीका केहि गुठीयारहरु नै राणा खलकसंग मिलेको देखिन्छ, जसको पछिल्लो खण्डमा चर्चा गरिनेछ ।

विस १९७७ मा आफ्नो बुवा केशर शमशेरले शक्तिको आडमा डिल र कमलपोखरी केशरमहलको हाताभित्र पारेपनि समुदायले
विरोध गरेपछि उनको केहि जोर चलेको थिएन । बाध्य भई केशर शमशेरले जग्गा बापत अर्को ठाँउमा सट्टाभर्ना दिने र पोखरी प्रयोग गरेबापत जग्गा बापत बार्षिक मोरु १२५ भू–वहाल दिने लिखत गर्नुपरेकोथियो । यो सबै बुझेका केयुरको खुराफाती दिमाग कमलपोखरी जग्गालाई कसरी हत्याउन सकिन्छ भन्नेमा केन्द्रित थियो । त्यसैले उनी कानुनी दाउँपेच खेलिरहेका मात्र थिएनन्, संघर्षमा उत्रिएका नेतृत्वलाई नै किन्ने दाउँमा थिए, जसमा उनका उत्तराधिकारी सफल भएको देखिन्छ ।

गुठीयारकै शंकास्पद रोल
विस २०४४ सालमा थँवहिल ९ठमेल० वडा नं। २९ को ५७।१४।३।२ रोपनी क्षेत्रफलमा फैलिएको सार्वजनिक जग्गा श्री ५ को सरकारले आफ्नो नाममा दर्ता गर्यो । त्यसरी दर्ता गरिएको कमलपोखरीको कित्ता नं १६७ को १२।१३।२।२ रोपनी जग्गाको विवरणमा आवादीमा पर्ती पोखरी र घर जग्गाको महलमा पोखरी कायम गरिएको छ भने जग्गाधनीको नाममा श्री ५ को सरकार लेखिएकोछ । मोहीको महलमा पोखरी नै उल्लेख छ । ९ हेर्नोस दस्तावेज ० २०३९ सालमा मोहीको महलमा छिरेका केयुरशमशेरको नाम कतै देखिदैंन ।

त्यसका पछाडि दुईटा कारणले काम गरेको देखिन्छ । पहिलो, जे तिगडम गरेर मोही लेखाएपनि धार्मिक, साँस्कृतिक र परम्परागत थलोमा मोहियानी हक नलाग्ने ब्यवस्था थियो । दोश्रो, २०४७ सालसम्ममा मोहियानी हक लाग्ने ब्यवस्था समेत खारेज भैसकेकोथियो ।

तर यसका बावजुद २०४७ माघ १८ गते अम्बिका राणाले कित्ता नं। १६७ को जग्गा आफु र आफ्नो दाई शंकरप्रसाद शाहको नाममा गुठी रैतानी ९ब्यक्तिगत नाममा ० दर्ता गरिन, जसको विरोध भयो । गुठी संस्थानले भुलवश आफ्ना कर्मचारीका कारण सार्वजनिक जग्गा ब्यक्तिको नाममा दर्ता हुन गएको भन्दै दुई महिना नबित्दै ९२०४७ चैत १५ गते० त्यसरी दर्तामा संलग्न श्री सिंहसार्थ वाहु गरुड भगवान गुठीका गुठीयार र सम्बन्धित कर्मचारीलाई विभागीय कार्वाही गर्न ९ पत्र हेर्नोस् ० र जग्गा श्री सिंहसार्थ वाहु गरुड भगवान गुठी लाई नै फिर्ता गराउने निर्णय गर्यो । सो निर्णय खारेज गर्न राणा र शाहले गुठी संस्थान बिरुद्ध जिल्ला अदालत काठमाण्डौमा मुद्दा दर्ता गराए, जसमा ति हारे ।

त्यसपछि उनीहरु पुनरावेदन गए । यस मुद्दामाथि २०५३ जेठ २५ मा पुनरावेदन अदालतले गरेको निर्णय राणा र शाहकै पक्षमा आयो । यहि निर्णयको आधारमा कम्प्लेक्स ठड्याईएको तर्क छाँयादेवी कम्प्लेक्सका कानुन ब्यवसायीहरुले सर्वोच्चमा दिईरहेकाछन् । उक्त निर्णयको विरोधमा २०५५ मंसीर १८ गते श्री सिंहसार्थ वाहु गरुड भगवान गुठीका गुठीयारहरुले ‘पोखरी र डिल पुरानै स्वामित्वमा फर्काउन र पुनरावेदन अदालतको निर्णय बदर गर्न ‘ गुठी संस्थान केन्द्रिय कार्यालय, गुठी लागत तथा तहसिल कार्यालय, अम्बिका राणा र शंकरप्रसाद शाह बिरुद्ध काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरे ।

कानुनी रुपले जित्ने छाँट नदेखेपछि अम्बिका राणाले गुठीयारको तर्फबाट संघर्षको नेतृत्व गरिरहेका र पारिवारीक सम्बन्ध भएका सर्वोच्चका पूर्व न्यायाधिस हिरण्यश्वरमान प्रधानलाई प्रभावमा पारेको देखिन्छ । साँस्कृतिक सम्पदा कमलपोखरी फर्काउन संघर्ष गरिरहेका हिरण्यश्वरमान सहितका गुठीका केहि नेताहरुले २०६२ असार १६ गते काठमाण्डौ जिल्ला अदालतमा रहस्यमयी तरिकाले यस्तो मिलापत्र गरे, जसले दुई पक्षबीच चलेको संघर्षको दशा र दिशा नै अर्कोतर्फ मोडियो ।

गुठी संचालन गर्न आर्थिक अभाव भएकोले कमलपोखरीको जग्गामा गुठीयारद्धारा हकदावी छाड्ने र त्यसबापत अम्बिका राणाले एक करोड पचास लाख र चार आना जग्गा दिने सहमतिमा मिलापत्र गरिएकोछ । चुपचाप गरिएको यस्तो सहमतिबारे प्रमुख सरोकारवाला गुठी संस्थानलाई नै जानकारी गराईएकोछैन । गुठी संस्थानले यो मिलापत्रमा आफ्नो कुनै भूमिका र संलग्नता नरहेको प्रष्टिकरण उसले २०७० सालमा जिल्ला अदालतमा पठाएको प्रतिउत्तर पत्रमा लेखेकोछ ।

१ करोड ५० लाखको हिसाबकिताब समेत गुठी संस्थानमा बुझाईएको देखिदैन । जबकि राजगुठीले पाइ पाइ हिसाबकिताब गुठी संस्थानमा बुझाउनैपर्ने बाध्यकारी नियम छ र राखिएका लिखतमा ति बुझाईएको पनि देखिन्छ । यहाँनेर हर्ताकर्ता हिरण्यश्वरमान प्रधानको भूमिका शंकास्पद देखिन्छ ।

राजा ज्ञानेन्द्रको हातमा शासनसत्ता गएको र राजनीतिक अवस्था तरल रहेको बेला यस्तो मिलापत्र गरिएकोछ । यसका निम्ति तत्कालिन सचिव र पछि मूख्य सचिवमा पदोन्नति भएका आफ्ना मान्छेका निम्ति जस्तोसुकै हर्कत गर्नसक्ने लोकमान कार्कीको सहयोग लिइएको बताईन्छ । लोकमानका भतिजी ज्वाइँ सुमन विक्रम पाण्डेले यसमा भूमिका खेलेको विश्वास गरिन्छ । छाँया कम्प्लेक्सका अंशियार तथा ‘मार्केटिङ् डाइरेक्टर‘ पाण्डे तिनै ब्यक्ति हुन् जसको चुरीफुरी कार्की अख्तियार प्रमुख हुँदा खास्सा चुलिएकोथियो । त्यतिबेला उनी कार्कीका ब्यावसायिक सल्लाहकारको रुपमा निकै सक्रिय थिए । ९ हेर्नोस् ‘लोकमानको भारदारी’ हिमालखबरपत्रिका अंक १४–२७ कार्तिक २०७३ ०

मिलापत्र रहस्यमयी हुनाका कारण अरु पनि छन् । अदालतमा मुद्दा दर्ता गराएको ६ महिनापछि संघर्ष समितिका नेता हिरण्यश्वरमान प्रधानलाई ‘सर्वोच्च अदालतका न्यायाधीसले पाए सरहको पारिश्रमिक तथा अन्य सुविधा पाउने गरी ३ बर्षको लागि न्यायपरिषदको सदस्यमा मनोनित गरिएको’ छ । ९ हेर्नोस २०५५ माघ २१ गतेको नेपाल राजपत्र ० एक जना गुठीयारको भनाईमा त्यसपछि प्रधान आश्चर्यलाग्दो किसिमले मौन बसेकाछन् । त्यति मात्र होईन २०५५ सालमा ‘ साँस्कृतिक सम्पदा कमलपोखरी संरक्षण’ को निम्ति नेतृत्व गरेर अदालत पुग्ने उनैले २०७१ चैत १० गते सर्वोच्चलाई पठाएको प्रत्युत्तर पत्रमा ‘कमलपोखरी ऐतिहासिक महत्वको पोखरी नै होईन’ भनि लेखेकाछन् ।

२०६२ सालमा उनको नेतृत्वमा डेढ करोड लिई अम्बिका राणासंग अदालतमा मिलापत्र गरेपछि २०७० सालमा जिल्ला अदालतमा गुठीयारहरुकै कुलका ६ जना ९ भागवतनरसींह प्रधान, सन्जिवमान प्रधान, अर्जुनलाल प्रधान, अन्जिरमान प्रधान, राजेशमान प्रधान र रन्जयमान प्रधान ० ले हिरण्यश्वरमान प्रधान लगायतकालाई विपक्षी बनाइ हालेको मुद्दामा उनले त्यस्तो जवाफ फर्काएकाथिए ।

त्यस पत्रमा आफु विरुद्ध अदालत जाने रिट निवेदक अनिल बहादुर प्रधानलाई ‘प्रधान कुलको होईन’ भनि झुटो विवरण समेत पठाएकाछन्, जबकि अनिल प्रधान उनकै कुलघरानाका सदस्य हुन् । अनिल सिंह सार्थवाह गरुड भगवान गुठीका संचालक समितिका सदस्य दिवंगत कदम बहादुर प्रधानका भाई इन्द्र बहादुरका छोरा हुन् । हिरण्यश्वरमानको नाममा लिखित जवाफ पठाउने शरदप्रकाश श्रेष्ठ देखिन्छन् । यी छाँया कम्प्लेक्सका म्यानेजिङ डाइरेक्टर महेश्वरप्रकाशका सहोदर दाज्यु हुन् । उनी छाँया कम्प्लेक्सका अख्तियारप्राप्त ब्यक्ति हुन् । यसरी हेर्दा झुठो विवरण सहितको यो लिखित जवाफ छाँया कम्प्लेक्सको मिलेमतोमा पठाईएको देखिन्छ ।

कमलपोखरी संरक्षणमा सक्रिय भूमिका निभाएका हिरण्यश्वरमान प्रधानका बुवा सर्वोच्चका तत्कालिन न्यायाधिस हिरामान प्रधानको नेतृत्वमा कमलपोखरी र डिल कायम हुनुपर्ने माग सहित २०२७ सालमा दायर गरिएको मुद्दामा सर्वोच्च अदालतले उनीहरुकै पक्षमा निर्णय सुनाईसकेको नजीर छ । न्यायाधिसद्धय प्रकाशबहादुर केसी र विश्वनाथ उपाध्यायको डिभिजन बेन्चले २०३३ पुष ३ गते गरेको निर्णयमा ‘ श्री सिंहसार्थ वाहु गरुड भगवान गुठीको मातहत रहेको पुरातात्विक महत्वको कमलपोखरी र त्यसको डिल कायम हुनुपर्ने’ निर्णय गरेको देखिन्छ । र, त्यो मुद्दालाई सकार्ने ७ जना प्रमुख संस्था र ब्यक्तिहरु मध्ये हिरामानको मुद्दा सकार्ने उनै ९ त्यतिबेला४५ बर्ष० हिरण्यश्वरमान प्रधानले निर्णयमा हस्ताक्षर गरेकाछन् ।

मालपोतबाट मिसिल गायब
२०७३ चैत १० गते भागवतनरसींह प्रधानको ‘गुठी रैतानी निर्णय बदर गराईपाउँ’ भन्ने मुद्दामाथि न्यायाधिसद्धय जगदिश शर्मा पौडेल र केदारप्रसाद चालिसेको संयुक्त इजलासबाट भएको निर्णयमा निवेदकको दावीलाई तथ्यपरक ठह–याउँदै मुद्दा अगाडि बढाउन निस्सा प्रदान गरिएकोमात्र नभई त्यसअघि प्रधानको विपक्ष र अम्बिका राणाको पक्षमा जिल्ला र पुनरावेदन अदालतले गरेको निर्णयलाई त्रुटिपूर्ण भनेकोछ ।

समुदायको पक्षमा सर्वोच्च अदालतको यस्तो सकारात्मक निर्णय आउनासाथ मालपोत कार्यालयबाट २०४४ मंसीर २३ गते तत्कालिन श्री५ को सरकारको नाममा दर्ता कित्ता नं १६७ को जग्गाधनी श्रेष्टाको मिसिल नै गायव भएकोछ ।

मुद्दा अगाडि बढाउन सर्वोच्चले २०७४ चैत २७ गते मालपोत कार्यालय काठमाण्डौलाई जग्गाधनी श्रेष्टाको सक्कल मिसिल मागेपछि २०७५ जेठ २ गते ‘ पुरानो कागजात राख्ने स्थानमा विशेष प्राथमिकता साथ खोजी गर्दा समेत फेला पार्न नसकिएकोले माग बमोजिम मिसिल पठाउन नसकिएको’ पत्र पठाईएकोछ । त्यस जग्गाधनी श्रेष्टामा कमलपोखरी सरकारको नाममा दर्ता भएको र विभिन्न प्रपन्च गरि घुसाइएको मोहीको नाम नपरेकोले मिसिल नै गायब बनाइएको देखिन्छ । ‘मिसिल हराएपछि’ अदालतमा मुद्दाको पेशी चढ्न सकिरहेकोछैन ।

यो तिगडममा सम्बन्धित निकायको भूमिका बिझ्नेगरि सहयोगी देखिन्छ । छाँयादेवी कम्प्लेक्सको निर्माण कार्य शुरु हुनु अगावै महानगरपालिकाको नक्शा शाखा बिरुद्ध अदालतमा मुद्दा परेकोछ तर उसले बिना छानवीन छाँयादेवी कम्प्लेक्सको नाममा नक्शा पास गरिदिएकोछ । समुदाय सडक, मीडिया, अदालत र संसदिय समिति मार्फत संघर्षमा उत्रिएपछि महानगरपालिकाले लालपुर्जाको आधारमा नक्शा बनाईदिएको र अब छानविन गर्ने बताईरहेकोछ । पुरातात्विक विभागले पनि कमलपोखरी विवादबारे आफुलाई ‘आधिकारिक रुपमा थाहा नभएको’ जवाफ दिएकोछ, जबकि उसको विरुद्ध पनि कम्प्लेक्स निर्माण कार्य थालिनु अगाडि नै सर्वोच्चमा मुद्दा परिसकेकोथियो ।र, उसले त्यसउपर सर्वोच्चले मागेको जवाफ समेत पठाईसकेकोछ ।

साँस्कृतिक सम्पदा मासेर बनाउन थालिएको विवादास्पद जग्गामा देशका चार प्रमुख बैंक र ४३ जना देशका नामीगिरामी ब्यक्तिहरुको लगानीमा कम्प्लेक्स खडा भएकोछ । ९ति ४३ जनाको फेहरिष्ट ‘छाँया कम्प्लेक्सभित्र लुकेका अनुहार’ स्टोरीमा पढ्नोस् । ०

त्यसैले कमलपोखरी कब्जा गर्ने तिगडममा राणा र पाँडे खलक मात्र नभई सरोकारवाला केहि गुठीयार र राज्यसंयन्त्रको भूमिका पनि शंकास्पद देखिन्छ । अहिले अर्को अनौठो संयोग कस्तो जोडिन आईपुगेकोछ भने चलिरहेको छाँयादेवी कम्प्लेक्स विवादमा गुठीको तर्फबाट पैरवी गर्नुपर्ने बैधानिक रोलमा हिरण्यश्वरमान प्रधानका छोरा चार्टड एकाउन्टेन्ट सुरेन्द्रमान प्रधान देखिन आईपुगेकाछन् । श्री सिंह सार्थवाह गरुड भगवान गुठीका कार्यसमितिका बर्तमान अध्यक्ष उनी पृथ्विबहादुर पाँडेका मिल्ने साथी हुन् । उनकै पालमा अदालतमा मुद्दा चलिरहेतापनि कम्प्लेक्स खडा गरिएकोछ भने कमलपोखरीलाई ‘ऐतिहासिक साँस्कृतिक सम्पदा होईन’ भनि प्रमाणित गर्ने धृष्टता गरिदैंछ ।

यी सबै घटनाक्रमले छाँयादेवी कम्प्लेक्सका हर्ताकर्ताहरु के कुरामा विश्वस्त जस्ता देखिन्छन् भने न्यायिक र समुदायसंग भिडेर यो विवादबाट निपटारा पाउन सकिदैन । त्यसैले ति जालझेल गर्दै मुद्दा लम्ब्याउन र गुठीयारहरुबीच फाटो ल्याई त्यसभित्र चलखेल गर्न खोजिरहेका देखिन्छन् । यसमा हिंजो देखि उपयोग गर्दै आईरहेको रणनीति अहिलेपनि अभ्यास गरिदैंछ ।

राणाबाट पाँडेमा हस्तान्तरण
केयुर शमशेरले बालुवाटार निवासी बर्ष २४ कि सुधा पौडेललाई २०३९ सालमा ६ रोपनी जग्गा जम्मा २० हजारमा बेचेको देखिन्छ । पौडेलको तीन पुस्ते विवरणमा बुवा प्रेममणी आदि र बाजे राममणी लेखिएकोछ । त्यसैगरि उनैले २०४२ सालमा बालुवाटारकै ३७ बर्षीय बिना पौडेललाई २।१०।०।० रोपनी जग्गा २ लाखमा बेचेकाछन् । पौडेलको तीन पुस्तेमा बुवाको नाम टेकराज ज्ञवाली र बाजे रङ्गनाथ लेखिएकोछ ।

केयुरशमशेरको मृत्युपछि यो जग्गा विस २०४४ मा उनका श्रीमती अम्बिका राणा ९शाह ० ले आफ्नो नाममा नामसारी मात्र गरिनन्, २०३९ सालमा सुधा र बीना पौडेललाई कित्ताकाट गरिदिएको जग्गा समेत आफ्नै दाजु शंकरप्रसाद शाहको नाममा फिर्ता लिएको देखिन्छ । ९ दस्तावेज हेर्नोस ०

२०६२ सालमा जिल्ला अदालत काठमाण्डौमा मिलापत्र भएको एक बर्ष पछि अम्विका राणाले २०६३ सालमा कमलपोखरीको जग्गा ९कित्ता नं। १६१८० सुरेशाय हाउजिङको नाममा ९।९।२।२ रोपनी कित्ताकाट गरि कित्ता नं। २४१२ कायम गरिदिन्छिन् । त्यसबापत उनले ३ करोड १९ लाख ५० हजार बुझेको उल्लेख छ । उनकै घरमा कार्यालय ९ तत्कालिन काठमाण्डौ, २९ ० राखिएको र अम्बिका राणाकै स्वामित्वमा रहेको कम्पनी सुरेशाय हाउजिङलाई जग्गा बेचिएको देखाईन्छ ।

यहि जग्गा एक बर्षपछि ९२०६४ साल० सुरेशाय हाउजिङ प्रालिले प्रतिमा पाँडे ९राणा ० लाई ३ करोड ६० लाखमा बेचिदिन्छ भने उताबाट शंकरप्रसाद शाहले कित्ता नं। १६१६ र १६१७ उनै पाँडेका नाममा १ करोड ८० लाखमा नामसारी गरिदिन्छन् ।

२०६५ सालमा प्रतिमा पाँडेको नाममा आएको सबै जग्गा उनकै सासुको नाममा खोलिएको र प्रतिमाका श्रीमान पृथ्विबहादुर पाँडे अध्यक्ष रहेको छाँयादेवी कम्प्लेक्सलाई ४ करोड ६१ लाख २५ हजारमा बेचिदिन्छिन् ।

सार्वजनिक जग्गालाई मोही कायम गराई कसरी ब्यापारिक कारोवार गरिदोंरहेछ भन्ने माथिका तिगडमबाट छर्लङ्ग देखिन्छ ।

चन्द्रशमशेर राणा खलकले साम, दाम, दण्ड लगाई जग्गा हडप्न गरेको १०६ बर्ष लामो तिगडमको अभिभारा पुस्तौदेखि राणा खलकसंग पारिवारीक सम्बन्ध रहेको पाँडे परिवारको काँधमा हस्तान्तरण गरिदिएपछि अहिले तिनै पाँडे परिवारले कमलपोखरी कब्जा गर्ने तिगडमलाई निरन्तरता दिईरहेकाछन् । यसमा पूर्व गर्भनर हिमालय शमशेर राणाकी छोरी तथा पृथ्विबहादुर पाँडेकी श्रीमति प्रतिमा पाँडे सतहमा देखिएपनि यो तिगडममा पृथ्विबहादुरको ‘मास्टरमाइन्ड’ प्रयोग भएको विश्वास गरिन्छ । उनको कर्मको भूत र बर्तमानले यस्तो भन्न सकिने आधार छन् । उनको कर्मबारे पछाडि चर्चा गरिनेछ ।

छाँयादेवीको नाममा जग्गा आफ्नो नियन्त्रणमा आएपछि पृथ्विबहादुर पाँडेको नेतृत्वमा मिनी ठमेलको नाममा ‘एशियाकै नमुना सपिङ् कम्प्लेक्स’ बनाईने उद्घोष गरिन्छ भने आफुहरुलाई जानकारी नदिईकनै अदालतमा मिलापत्र गरि धार्मिक तथा साँस्कृतिक जग्गा ब्यक्तिका नाममा गराईएको भन्दै २०७० बैशाख २ गते श्री सिंहसार्थ वाहु गरुड भगवान गुठीका गुठीयारहरु पुनः काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गर्न पुग्छन् ।

तल्लो अदालतबाट आफ्नो पक्षमा निर्णय नआएपछि ति २०७१ सालमा सर्वोच्चको ढोका ढक्ढक्याउन पुगेकाछन् । कमलपोखरी जग्गा विवादमा अहिले सर्वोच्चमा मुद्दा विचाराधिन छ । सत्ता र शक्तिको मात कति अचाक्ली हुँदो रहेछ भन्ने दृष्टान्ट यस मुद्दामा प्रष्ट देखिन्छ । अदालतमा मुद्दा बिचाराधिन छ तर शक्तिशालीे जमातले झगडिया जग्गामा समेत कानुनको खिल्ली उडाउँदै निर्धक्क १५ तले भब्य सपिङ कम्प्लेक्स खडा गरिसकेको मात्र हैन त्यसको उद्घाटन समेत गरिवरी पसल संचालन गरिसकेकाछन् ।

क्रमशः

९कानुनको आँखामा छारो हाल्ने र समुदायको साँस्कृतिक सम्पदामाथि धावा बोल्ने छाँया कम्प्लेक्सभित्र लुकेका अनुहारहरु को को हुन् रु दोश्रो स्टोरीमा पढ्नोस् । ०

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here