राजसंस्था पुनःस्थापनाको अभियानले ओली सरकारको असफलताको अपजसबाट नेकपालाई जोगाउने छ

181

 काठमाडौं / पछिल्लो आम निर्वाचनमा नेपाली कांग्रेस नराम्रोसँग पछारियो । निर्वाचन परिणाम अनपेक्षित भने थिएन । संगठन बलियो थिएन । सत्ता सञ्चालनमा असफल सिद्ध भएको थियो । चमत्कारिक नेतृत्व थिएन । जनतालाई आकर्षण गर्ने नीति थिएन । त्यसमाथि थप दुई ठूला कम्युनिष्ट पार्टीहरू एक ठाउँमा उभिएका थिए । पराजय त निश्चित थियो तर यति नराम्रो हारको कल्पना कांग्रेसले गरेको थिएन सायद ! त्यसैले हुनुपर्छ पछिल्लो निर्वाचनपरिणमले नेपाली कांग्रेसलाई शिथिल बनाएको छ, हतप्रभ बनाएको छ, दिशासून्य बनाएको छ, गतिहीन बनाएको छ । कांग्रेस यसरी थलापरेको छ कि नीति परिमार्जन र संगठनको सबलिकरणका लागि फलदायी प्रयत्न गर्नुपर्ने कुरा उसको दिमागमा चढेको देखिदैन । नेपाली कांग्रेसको नाममा गगन थापा र विश्वप्रकाहरूका टुक्रे अभिव्यक्तिबाहेक नेपाली समाजले अरु कुनै गतिविधि देख्न सुन्न पाएको छैन । आशा भरोसा त त्यस्तै हो, कांग्रेसको अस्तित्व खोज्ने ठाउँ तिनै दुई युवा भएका छन् । पछिल्लो पटकको जागरण अभियान वास्तवमा समग्र कांग्रेसको जागरण होइन, गुट जागरणमा रूपान्तरित भएको लज्जाजनक परिदृश्यबाट समेत कांग्रेसले पाठ सिकेजस्तो लक्षण देखापर्दैन । एकथरी कांग्रेसहरू देउवाको आलोचनामा केन्द्रित छन्, संस्थापन पक्ष यी सबै कुराबाट वेखबर कम्बलले मुख छोपेर सुतिरहेको छ । यतिखेर कांग्रेस अनेकबाट द्विगुटमा सीमित हुने लक्षण देखिनु भने सकारात्मक कुरा हो भन्न सकिन्छ ।

कांग्रेसको गुटराजनीतिको कारणले पार्टीघेरा बाहिर किनारीकृत हुनुपरे पनि कांग्रेसको माला जप्न नछोड्नेहरू समर्थक शुभचिन्तकहरू भने यतिखेर उत्साहित देखिन थालेका छन् । उनीहरूको उत्साहको कारण कांग्रेसमा आएको जागरण वा सक्रियता होइन । सांगठनिक हिसावले कुम्भकर्णे निद्रामा निमग्न किन नहोस्, अर्को निर्वाचनमा काँगे्रस सत्तामा फर्कने छ भन्ने आशा उनीहरूमा बलवती बन्दै गएको छ । त्यसको एकमात्र कारण ओली नेतृत्वको नेकपाको सरकारको चौतर्फी असफलता हो । वर्तमान सरकार जुन गतिमा अलोकप्रियताको सिँढी ओर्लदै छ त्यो क्रम रोकिएन भने अर्को निर्वाचनसम्म त्यसको लोकप्रियता सून्यमा झर्ने छ, खाक बन्ने छ । नेकपाको पतनको अर्थ कांग्रेसको उत्थान नै हो । किनकि सत्तामा दावा गर्न सक्नेगरी तेश्रो शक्तिको उदय भैसकेको छैन र निकट भविष्यमा त्यस्तो सम्भावना पनि देखिदैन ।

मनमोहन नेतृत्वको नेकपाको अल्पमतको सरकारले लोकप्रियताको रेकर्ड तोडेको भएपनि नेकपाको वर्तमान सरकार सायद इतिहासकै सबभन्दा अलोकप्रिय बनेको छ । मनमोहनले बनाएको बाटो पहिल्याउन नसकेको हो अथवा त्यो बाटो परित्याग गरेको हो कुन्नी सरकार कही नपुगिने बाटो समातेर हिँडेको छ । त्यसले आफ्नो कार्यशैली परिवर्तन गरेन अथवा पार्टीले अर्को विकल्प दिन सकेन भने नेकपाको हातबाट अर्को निर्वाचनमा सत्ता गुम्ने छ । यदि त्यस्तो दुर्घटना निम्तियो भने नेपालका कम्युनिष्टहरूको हालत पनि पश्चिम बङ्गालकै जस्तो नहोला भन्न सकिन्न । कम्युनिष्टसत्ता एकपटक पछारिएपछि पुनः उठेको उदाहरण विश्व इतिहासमा देखिदैन । त्यसैले नेकपाको सम्भावित पतनबाट कांग्रेसका समर्थक सुभेच्छुकहरूमा आशाको दियो बल्नु स्वाभाविक हो । कांग्रेसको असफलताकै परिणस्वरूप कम्युनिष्टहरूको उदय भएको हो । उसैगरी कम्युनिष्टहरूको पतनबाट स्वाभाविक लाभ मिल्ने पनि कांग्रेसलाई नै हो । यतिखेर देखिन थालेको परिस्थितिमा चमत्कारिक परिवर्तन आएन भने अन्तिम परिणति त्यस्तो हुनेछैन भन्न सकिन्न ।

ओली सरकारको अकर्मण्यता र असफलताबाट अर्को एउटा पक्ष पनि निकै उत्साहित देखिन थालेको छ । यद्यपि जसरी आकाशमा बादल देखियो भन्दैमा सबै बादलले पानी पार्दैन त्यसैगरी ओली सरकारको असफलताले राजसंस्थालाई पुनस्थापना गरिदिनेछ भन्ने कल्पना सोमशर्माका पिताको ‘सातु कल्पना’ जस्तै हो तापनि त्यो जुर्मुराउने प्रयत्नमा भने मुन्टोले जोतेर लागेका छ । हुनत कम्युनिष्टको पतनमा कांग्रेसले आफ्नो उत्थान देख्न थालेजस्तै राजसंस्थाका पक्षपातीहरूले सपना देख्न पाउँदैनन् भन्न मिलेन । तर दिनको घामझै स्पष्ट कुरा के हो भने कांग्रेसको सपना सत्यमा रूपान्तरित हुनसक्छ । किनकि त्यो त घरमा बस्ने भाडावाला फेरिएजस्तै हो । राजावादीहरूको उत्साहमा उति दम देखिदैन किनकि राजसंस्थाको पुनस्थापना भनेको व्यवस्था परिवर्तन हो । घरै फेर्ने कुरा हो । नयाँ घर निर्माण गर्ने कुरा हो । त्यो त कि निर्वाचनमा दुईतीहाई बहुमतबाट सम्भव हुन्छ कि भने ठूलो जनविद्रोहले ल्याउन सक्छ । ती दुईवटै मार्गहरू राजावादीहरूको मोटर कुद्ने खालका होइनन् । त्यसैले राजावादीहरूको सपनाले स्वैर कल्पनाभन्दा बढी महत्व राख्छजस्तोे लाग्दैन ।

राजावादीहरूको उत्साह देखेर कहिलेकहीँ हाँसो पनि उठ्छ । आलु खाने कि बोइलर भनेर रोज्न सकिन्छ । किनकि ती दुबै एउटै बजारमा पाइने एकै प्रकृतिका खाद्यवस्तु हुन । नेपाली भान्सामा ती दुबै चीजले तरकारीको गर्जो टार्छन् । ती दुबै एकैसाथ खान पनि सकिन्छ । वैकल्पिक रूपमा रोज्न पनि सकिन्छ । देशमा ठूलो राजनीतिक परिवर्तन भैसकेको छ । यतिखेर न राजसंस्था र ओली सरकार एकै ठाउँमा रहन सक्छन् न एक अर्काका विकल्प नै बन्न सक्छन् । गणतन्त्र जीवित रह्ुन्ज्याल नेकपाको विकल्प कांग्रेस हुनक्छ, बरु नयाँ विवेकशील विकल्प बन्ला तर राजसंस्था विकल्प बन्न सक्तैन । यतिखेर राजसंस्थाको कल्पना गर्नु वीर अस्पतालको निर्देशक ढयाङ्ग्रो ठोकेर विरामीको उपचार गर्छु भन्ने झाँक्रीलाई बनाउनुजस्तै हो । किनकि मानौं कि राजसंस्था फर्कने भो रे लौं । तर त्यो राजसंस्था कस्तो हुन्छ ? संवैधानिक ? सांस्कृतिक ? अलङ्कारिक ? अब्बलमा आइहाल्यो भने हुने त्यस्तै होला । कार्यकारी अधिकार त फेरि पनि यिनै ओली, देउवा, दाहाल, कोइराला वा भट्टराईहरूको हातमा रहने छ । अहिलेको राष्ट्रपतिले जति पनि अधिकार राजाले पाउने छैन । अनि त्यो पशुपतिको बसाहाजस्तो राजसंस्थाबाट राजावादीहरूले के आशा राखेका होलान् कुन्नी ?

नेपालको राजसंस्था उखेलिएको १०÷१२ बर्ष मात्रै भयो । श्रीपेच खोसिएका ज्ञानेन्द्र शाह जीवितै छन् । उनी जीवित रहुञ्जेल नेपाली समाजले राजसंस्थाको इतिहास बिर्सने छैन । त्यसैले कसैकसैले राजसंस्थाको पुनस्थापनाको कल्पना गर्ने गरिआएका हुन् । जहाँसम्म राजसंस्थाको कुरा हो ज्ञानेन्द्रको जीवनकालमा त्यो फर्कने सम्भावना छैन र उनको शेषपछि राजसंस्थाको सम्झना गर्ने मान्छे पनि बाँकी रहने छैनन् । संस्था फर्केछ भने पनि राजतन्त्र त किमार्थ फर्कदैन । संस्था आउने हो तन्त्र आउँदैन । त्यसैले राजसंस्था पुनस्थापनको रोइलो अर्को एकदशकभन्दा उता नेपाली जनताले सुन्नु पर्ने छैन । “मुल्लाका दौड मस्जिद तक” भनेजस्तो नेपालका राजावादीहरूले भजन कीर्तन गाउने अवधि उति धेरै बाँकी छैन । ज्ञानेन्द्र शाहसँगै आर्यघाटमा पुगेर विसर्जित हुनेछ । त्यसैले विचराहरूलाई धोको पुुगुञ्जायल कीर्तन गर्न दिए हुन्छ । प्रचण्डहरू तर्सनु, उतर्सिनु पर्दैन । पूरा हुने सम्भावना होस कि नहोस माग्न पाइने, धर्ना बस्न पाइने, सत्याग्रह नै गर्न पाइने कुरा हामीले स्थापना गरेको लोकतन्त्रले दिएको अधिकार हो । स्वप्नजीविहरू समाजका बोझ अवश्य हुन् तर तिनीहरूको सपना देख्ने र कल्पनामा रमाउने अधिकार हनन हुनु हुदैन । लोकतन्त्रमा त्यस्तो हुन सक्दैन ।

राजावादीको अमौसमी आलापले नेपाली कांग्रेसको सत्तातिर उठेको खुट्टोमा भने बञ्चरो बनेर बज्रिने सम्भावना रहन्छ । सम्भव होस् कि नहोस् ओली सरकारको अकर्मण्यताको हात्तीमा सवार भएर हिन्दूवाद र राजतन्त्रको भूत विउझाउने कोशिस देशभित्र बाहिर दुबैतिरबाट हुन थालेको देखिन्छ । विडम्वना नै मान्नुपर्छ, कांग्रेसीहरूकै एउटा हिस्साले त्यहि तालमा थपडी बजाएर नाच्न थालेको छ । “राजासँग आफ्नो घाँटी जोडिएको” भन्ने चतुर राजनेता विपीको रणनीतिक लाइनको गलत व्यख्या गरेर संवैधानिक राजतन्त्रको पैरवी गर्ने मुढ कांग्रेसहरूको उपस्थिति कांग्रेस संगठनभित्र सानो ठूलो आकारमा रहँदै आएको छ । विपीले कांग्रेसको घाँटी राजसंस्थासँग जोडिएको छ भनेर कहीँकतै भनेका छैनन् । उनले तत्कालीन परिस्थितिमा तत्कालीन राजासँग सहकार्यको आवश्यकताबोध गरेका मात्र थिए । खयर, भैसीका अगाडि वीन बजाउनुको के अर्थ रहन्छ र ?

राजसंस्थाप्रति आस्थावान् कांग्रेसहरूको संख्या कांग्रेसको मूलप्रवाहलाई नै प्रभावित गर्नेगरी उति ठूलो होलाजस्तो लाग्दैन तर “हिन्दू राष्ट्र”को पक्षमा भने ठूलै हिस्सा उत्रन सक्ने सम्भावना देखिन्छ । बरु सत्य कुरा के हो भने हिन्दू राष्ट्र र राजसंस्थाको भने घाँटी जोडिएको छ । यहीँनेर कांग्रेसीहरूले बुझ्नुपर्ने कुरा के हो भने यी दुई विषयको विपक्षमा नेपालको ठूला जनमत रहेको छ । नेपाली समाजमा जातीय, भाषिक र धार्मिक सांस्कृतिक आगो यसरी सल्कन थालेको छ कि कुनै दिन त्यो विषय खास–आर्यको पर्याय मानिने छ । खसलाई आर्यबाट अलग गर्ने आन्दोलनले गतिलियो भने त्यो पनि विभाजित हुनेछ र आफूलाई आर्यवंशी मान्ने मुठठीभर समुदायको मात्र पेवा बन्ने छ ।

त्यसो भएन भने पनि आफूलाई धुरन्धर विद्वान, अभियन्ता, सिद्धान्तवादी, समाजचेतक मान्ने तर आफ्नो पछाडि आफ्नै घरपरिवारको विश्वाससमेत नरहेका मानिसहरूले यतिखेर चलाउन थालेको राजसंस्था पुनस्थापनाको आन्दोलनले नेकपालाई बलियो बनाउने छ । हिन्दूवादलाई अनावश्यक ठान्ने र राजतन्त्रको पुनरावर्तन पनि आवश्यक छैन भन्ने मान्यता राख्ने जनमतले यिनै दुई विषयलाई रोक्नका लागि पनि नेकपाको समर्थन गनुृपर्ने परिस्थिति उत्पन्न हुनेछ । किनकि कांग्रेसले देखाउन थालेको ती विषयहरूप्रतिको आशक्तिले उसैलाई ठूलो जनमतबाट बाहिर धकेल्ने छ । अर्थात यतिखेर देखिन थालेको राजतन्त्रको भ्यागुते ‘ट्वार, ट्वार’ ले राजसंस्थालाई फर्काउने होइन, सत्तामा नेकपाको पकडलाई मलजल गर्ने छ । र मनसुनको बेलामा प्वालबाट बाहिर निस्केर “टर्टराउने” रङ्गीविरङ्गी भ्यागिुताहरू बर्षा थामिएपछि पुन दुलोभित्र छिरेर समाधिलीन हुनेछन् । – जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here