प्रीति रमण
सिद्धान्तः र कानुनतः महिला र पुरुषलाई समान हैसियतमा राखिएको छ । समानताको वकालत गर्ने क्रममा महिला र पुरुषलाई एक रथको दुई पाङ्ग्रा पनि भन्ने गरिएको छ । २१औं शताब्दीको वर्तमान समयसम्म आइपुग्दा जैविक क्षमता र शारीरिक रूपमा महिला र पुरुषका बीचमा केही भिन्नता भए पनि क्षमताको हिसाबले महिला र पुरुषमा कुनै भिन्नता देखिदैन । मानसिक क्षमताका हिसाबले बरु पुरुषभन्दा महिला अझ बढी अब्बल देखिने गरेका छन् । तर हामी जुन समाजमा जन्मियौँ, हुर्कियौँ (पितृ सत्तात्मक समाज) त्यो समाज आज पनि महिलालाई पुरुषसरह समान मान्न तयार देखिदैन ।
अहिले पनि महिलाहरू अधिकांश समाजमा दोस्रो दर्जाको जीवन व्यतित गर्न बाध्य देखिन्छन् । एउटी नारीले आमाको कोखमा बास गरेदेखि नै समाजको कुदृष्टिलाई सामना गर्नुपर्छ । सकेसम्म पृथ्वीमा जन्मिनै नपाई भु्रणकै रूपमा मर्नुपर्छ, जन्मिए पनि नमरुन्जेल उसले महिला भएकै कारण विभिन्न दुःख पीडा र कष्ट भोग्नुपर्छ । एउटी महिलाले जन्मेदेखि नमरुन्जेलसम्म लिंगका आधारमा जे जति पीडा र दुःख भोग्छ, त्यसको कुनै वर्णन गरी साध्य हुँदैन ।
आफूलाई समाजको अब्बल मान्ने दर्जाले समेत महिलाहरूलाई हेर्ने दृष्टिकोणमा अझै परिवर्तन आउन सकेको छैन । त्यसको एउटा उदाहरण हालै मात्र नेपाली कांग्रेसका नेता देवेन्द्र कँडेलले महिलालाई सचेत गराउँदा घर भाँडिने अभिव्यक्ति दिनुलाई मान्न सकिन्छ । मुलुक परिवर्तनका लागि राजनीति गछौँ भन्नेहरूमा त महिलाहरूलाई हेर्ने दृष्टिकोण संकीर्ण छ भने आम समाजले महिलालाई कसरी हेर्छ भनेर आफै मूल्यांकन गर्न सकिन्छ ।
सामान्य एउटा घरकै कुरा गरौँ, छोरा जन्मिदा हर्ष र उत्साह गर्ने बाबुआमा छोरी जन्मिदा खुसी हुन सक्दैनन् । शिक्षा दिक्षाकै कुरामा पनि छोरा र छोरीबीचको भेदभाव हुन्छ । छोरीलाई खुल्ला आकाशमा घुमफिर गर्न प्रतिबन्ध लगाइन्छ । छोरी सानो हुँदादेखि नै उसको बाबुआमाबाट गलत प्रशिक्षण दिन सुरु गरिन्छ । उनको सानो बालसुलभ मानसिकतामा यसले कस्तो असर पार्छ भन्ने हेक्का छोरीको हकमा अभिभावकले गरेको पाइदैन, देखिदैन ।
कतिसम्म भने पछिल्लो समय मानवअधिकार र मौलिक अधिकारको दायराभित्र पर्ने चौथो आधारभूत आवश्यकता यौनका विषयमा समेत समाजले महिलालाई बन्देज लगाउने प्रयास गरिरहेको छ । त्यही समाजमा एउटा पुरुषले धेरै सम्बन्ध बनाउँदा उसलाई मर्दको उपमा दिइन्छ र उसले त्यो कुरालाई छाती खोलेर आफू एकै पटक धेरै जनासँग सम्बन्धमा भएको भनेर गर्व गर्छ । त्यही कुरा महिलाले गर्ने हो भने समाजले महिलालाई चरित्रहीनको संज्ञा दिँदै उनलाई समाजबाटै बहिष्कारको नीति लिइन्छ । एउटै कुरा पुरुषको हकमा गर्व गर्न लायक र महिलाको हकमा हीनतावोध र चरित्रहीन कसरी हुन्छ ?
यो पितृसत्तात्मक समाजको उपज हो । हाम्रै समाजमा एकजना पुरुषले दुई वा त्यसभन्दा बढी श्रीमती राख्दा त्यो सामान्य मानिन्छ । जबकि एउटी महिलालाई त्यो छुट दिन हाम्रो समाज तयार छैन, कदापि हुँदैन पनि । कतिसम्म भने अहिलेको अवस्थामा पनि महिलालाई केवल यौनको प्यास मेटाउने वस्तुका रूपमा मात्र हेर्ने प्रवृत्ति हाम्रो समाजमा छ । जसले पुरुषको भन्दा अग्रस्थानमा पुगेर आफ्नो क्षमता प्रदर्शन गर्न सक्षम महिलाहरूले हिंसा भोग्न बाध्य भइरहेका छन् । अहिले पनि उनीहरूप्रति सामाजिक दृष्टिकोण निकै संकीर्ण र संकुचित देखिन्छ ।
जब सम्भावनाका हरेक ढोकाहरू बन्द हुन्छन्, तब महिलाहरू आफ्नो पेट पाल्नका लागि यौन व्यवसायमा लाग्न बाध्य हुने गरेका प्रशस्त उदाहरण पाइन्छन् । तिनै बाध्यताको परिबन्दमा परेका महिलासँग कुनै पुरुषले यौनको प्यास मेटाउँछ, त्यो पुरुषप्रति समाजले कुनै प्रश्न उठाउँदैन । तर ती महिला समाजको नजरमा बेश्या हुन पुग्छिन् । कानुनी पाटोबाट समेत महिलाहरूमाथि अन्यायपूर्ण व्यवहार गरिन्छ । अरु कुनै माध्यम नभए पनि पेट पाल्ने माध्यमका रूपमा यौन पेशा अवलम्बन गरेका महिलाहरू हरेक दिन प्रहरीको कठघरामा उभिन बाध्य हुन्छन् । सबै विकल्प बन्द भएपछि बाध्यतामा परेकी एउटा नारीलाई कठघरामा उभ्याउँदा प्रहरी प्रशासन आफूलाई गौरवान्वित ठान्छ । एउटा प्रहरी अधिकृतका लागि काम देखाउने अरु बाटो भएन भने स्वतन्त्र रूपमा आफ्नो काम गरिरहेका महिलाहरूलाई समाजका अगाडि उभ्याएर काम देखाउँछ र त्यसबापत प्रमोसन खोज्छ । तर उनीहरू कुन बाध्यताले त्यसो गरिरहेका छन् भन्ने कुरा कहिल्यै पनि सोचिदैन ।
कुनै पनि व्यक्तिले विकल्प रहेसम्म आफ्नो शरीरसँग खेल्ने काम पक्कै गर्दैन । तर पितृसत्तात्मक समाजबाटै विकास भएको कानुन र त्यसको कार्यान्वयन गर्ने निकायले पनि महिलालाई नै दोषी बनाउँदा आफूमा खुसी देख्छ । यसै पनि यौन भन्ने कुरा व्यक्तिको स्वतन्त्र अधिकारको कुरा हो । उसले समाजका लागि आफ्नो यौन कुण्ठालाई दबाइरहनु पर्छ भन्ने होइन । तर समाजले यौनलाई हेर्ने दृष्टिकोणबारेमा गलत व्याख्या गरेका कारण यसलाई हेर्ने दृष्टिकोणलाई नै गलत ढंगले हेर्ने गरिएको छ, जसको सबैभन्दा ठूलो असर महिलाहरूलाई नै पर्ने गरेको छ ।
यस्ता विषयमा आमूल परिवर्तनका लागि सबैभन्दा पहिले पितृसत्तात्मक सोचबाट समाजलाई मुक्त गराउन आवश्यक छ । साथै छोरीहरूलाई समाजमा ठाडो शीर पारेर हिंड्ने अवस्था सृजना गर्नका लागि उनीहरू जन्मिएदेखि नै बीमाको व्यवस्था, बैंक खाता तथा निःशुल्क र अनिवार्य शिक्षाको व्यवस्थाका साथै व्यवसायको ग्यारेन्टी गरी आत्मनिर्भर बनाउन आवश्यक छ । उनीहरूलाई पनि छोराहरूलाई जस्तै समान अवसर र व्यवहारको खाँचो छ । छोरीहरू भनेका हाम्रौ गौरव हुन् भन्ने कुरा जबसम्म समाजलाई बुझाउन सकिदैन, त्यतिबेलासम्म समाजको अन्यायपूर्ण व्यवहार सहन उनीहरू बाध्य बनिरहने छन् । त्यसका लागि राज्य र समाजको सचेत वर्गले अग्रसरता लिन आवश्यक छ । [email protected]
जनधारणा साप्ताहिक


















