प्रहरीको अपराध महाशाखामा शुद्धीकरण अभियान

200

काठमाडौं /  महानगरीय अपराध महाशाखामा शुद्धीकरण अभियान थालिएको छ । काम नगर्ने तर महाशाखामा अड्डा जमाएर बस्ने प्रहरी कर्मचारीलाई सम्बन्धित कार्यालयमा रमाना गर्ने काम थालिएको हो । महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहकुलबहादुर थापाले आन्तरिक शुद्धीकरण अभियानअन्तर्गत पहिलो चरणमा वर्षौदेखि महाशाखामा अड्डा जमाएर बसेका प्रहरी कर्मचारीहरूलाई सम्बन्धित कार्यालयमा रमाना गरिएको जानकारी दिएका छन् । अभियानअन्तर्गत शुक्रवारसम्म करिब ३५ प्रहरी कर्मचारीलाई सम्बन्धित कार्यालयमा फर्काइएको छ । यसरी दरबन्दी फिर्ता पठाइनेमा प्रहरी जवानदेखि प्रहरी नायब निरीक्षक (सई) सम्म छन् ।

महाशाखाले काठमाडौं उपत्यकामा हुने विशेष खालका अपराधको अनुसन्धान गर्दै आएको छ । तर, महाशाखामा पछिल्लो समय ड्युटीभन्दा पनि आराम गर्न आउने कर्मचारीको संख्या बढेको छ, जसले मशाखामा अनावश्यक प्रहरी कर्मचारीको संख्या धेरै देखिन्छ । ‘धेरै प्रहरी कर्मचारी वर्षौदेखि काजमा बसेको पाइयो, महाशाखाको कामको प्रकृति अनुसारको दक्ष जनशक्ति मात्र राख्नेगरी अनावश्यक प्रहरी कर्मचारीलाई सम्बन्धित कार्यालयमा फिर्ता गरेका छौं ।’ महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले भने ।

एसएसपी थापाका अनुसार केही प्रहरी कर्मचारी ६÷७ वर्षदेखि महाशाखामा अड्डा जमाएर बसेको भेटिएको छ । महाशाखाले भटाभट दरबन्दी फिर्ता गर्न थालेपछि केही प्रहरी कर्मचारीहरू महाशाखामै थमौती गराउन शक्तिकेन्द्र धाउन थालेका छन् । त्यसो त अपराध अनुसन्धान तथा इन्टेलिजेन्समा विशेष दख्खल राख्ने जुनियर अधिकृत तथा जवानहरू दशकौंदेखि महाशाखामा कार्यरत छन् । उनीहरूलाई अन्यत्र पठाउदा महाशाखाको कामकारबाहीमा असर पर्ने भएकोले दरबन्दी मिलान गरी काममा लगाउने गरिएको छ ।

यसैबीच, प्रहरी प्रधान कार्यालयले दुई प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ । सरुवा सुचीअनुसार महानगरीय अपराध महाशाखामा कार्यरत एसपी केदार ढकालको आतंकवाद प्रतिरोध संयन्त्रको सचिवालयमा सरुवा भएको छ । एसपी ढकाल एसएसपी बढुवाका प्रतिस्पर्धी हुन् ।

प्रहरी महानिरीक्षक (आईजी) सर्वेन्द्र खनालले महानगरीय अपराध महाशाखाको काम कारबाहीलाई थप प्रभावकारी बनाउन भन्दै लामो समय अपराध अनुसन्धानको क्षेत्रमा काम गरेका एसपी हृदय थापालाई महानगरीय अपराध महाशाखामा सरुवा गरेका छन् । डीएसपी हुँदा २०६७ सालदेखी करिब साढे तीन वर्ष महानगरीय अपराध महाशाखामै काम गरिसकेका एसपी थापा अपराध अनुसन्धानमा राम्रो दख्खल राख्छन् ।

२०६७ साल अगाडि तत्कालीन प्रतिआतंकवाद निर्देशनालय (हालको विशेष ब्यूरो) मा करिब १० वर्ष काम गरेका एसपी थापा केही महिना अगाडि रूपन्देही प्रहरी प्रमुख थिए । जिल्ला प्रहरी कार्यालय रूपन्देहीको एकबर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका उनी गृहसचिव नेतृत्वको आतंकवाद प्रतिरोध संयन्त्रको सचिवालयमा कार्यरत थिए । एसएसपी बढुवाको दाबेदार रहेका एसपी थापा व्यावसायिक र इमान्दार प्रहरी अधिकृतको रूपमा परिचित छन् ।

– जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here