रतन तिरुवाको जुत्ता प्रहारले दिएको सन्देश

95

– हुकुमबहादुर सिंह

नेपालका राजनीतिक दलका नेताहरूमाथि किन यसरी बारम्बार आक्रमण हुन्छन् ? र यस्ता आक्रमणमा खासगरी पुष्पकमल दाहाल प्रचण्डलाई नै किन बारम्बार ‘टार्गेट’ बनाइन्छ । पुष्पकमल दाहाल प्रचण्डलाइ आक्रमण गर्नेहरू न त हिजोका राजावादी समर्थकहरू देखिएका छन्, न कांग्रेस समर्थक, न विगतको एमाले समर्थक देखिएका छन् । उनलाई आक्रमण गर्नेहरू १०वर्षे माओवादी जनयुद्धमा कुनै कुन रूपले साइनो भएकाहरूमध्ये नै पाइएका छन् । आफ्नै पार्टी वा आफ्नो नेतृत्वमा माओवादी जनयुद्धका दौरानमा काम गरेका तर अहिले अर्कै माओवादी पार्टीमा क्रियाशील कार्यकर्ताबाट वा स्वतन्त्र भएर रहेकाहरूबाट उनीमाथि आक्रमण गरिएको पाइएको छ । यसको अर्थ भविष्यमा अन्यबाट उनीमाथि आक्रमण नहोला भन्न सकिने आधार छैन । तैपनि अहिलेसम्म जनयुद्धका सहिद परिवार तथा अन्य बेपत्ता र घाइते परिवारका नजिकका सदस्य नै देखिएका छन् ।

क्रान्तिमा नेताहरूप्रति माया औधी हुन्छ, जसको परिणाम ज्यानलाई हत्केलामा राखेर बलिदानीपूर्ण भट्टीमा जनता र कार्यकर्ता हाम्फल्छन् र यही प्रचण्डको नेतृत्वमा पनि भएको थियो । हजारौं हजारले आफूलाई क्रान्तिको बलीवेदीमा परिवार, नातागोता, साथीसंगी आदिलाई त्यागेर प्रचण्डको आव्हानमा क्रान्तिमा हाम फालेका थिए, परिवर्तनका लागि, सर्वहारा क्रान्तिको सफलताका लागि । तर उनीहरूका ती सबै सपनालाई प्रचण्डले चकनाचुर पारिदिए र अहिले उनीमा वर्ग परिवर्तन भएको देखिरहेका छन् । एउटा धनाढ्य नेताका रूपमा उनी र उनका परिवार नातागोता आदि सबै ऐसआरामको जीवन बिताइरहेका छन् तर उनको नेतृत्वमा भाग लिएकाहरूमध्ये लाखौ जनता झन झन गरिब र बेसहारा बन्दै गएका छन् । प्रचण्डकै नेतृत्वको राज्यसत्ता प्रशासनद्वारा अपहेलित बन्दै गएका छन् । तिनीहरूका लागि प्रचण्ड अब एउटा घृणाका पात्र बन्दै गएका छन् र उनका हरेक क्रियाकलाप र व्यवहार देखेर उनीहरूलाई घृणा जाग्दछ । त्यसैकारण २०६९ कार्तिकमा भृकुटीमण्डपमा बाग्लुङका पदम कुँवरले मञ्चमा नै गएर उनका गालामा थप्पड हानेका थिए । र उनी पनि १० वर्षे माओवादी जनयुद्धमा संलग्न परिवारका एक सदस्य थिए ।

अहिले फेरि उनीमाथि उनकै पार्टीका १०वर्षे माओवादी जनयुद्धमा ज्यान गुमाएका एकजना सहिद परिवारका छोराले कार्यक्रमस्थलमै गएर जुत्ता प्रहार गरेका छन् । पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार गर्ने अरु कोही नभएर १०वर्षे माओवादी जनयुद्धमा ज्यान गुमाएका एकजना सहिद परिवारका छोरा भएको खुल्न आएको छ । रतन तिरुवाका बाबु मोहन तिरुवा सशस्त्र द्वन्दमा माओवादीमा सक्रिय रहँदा २०५६ सालमा (आजभन्दा २० वर्ष अगाडि) सशस्त्र द्वन्दमा सहिद बनाइएका थिए ।  केही वर्षपछि रतनकी आमाले अर्कैसित विवाह गरिन् । मान बहादुर माओवादीतर्फका सहिद हुन् । तत्कालीन सरकारी सेनाले उनको हत्या गरेको थियो, ज्यान गुमाएका थिए । उनी जुम्ला जिल्लाअन्तर्गत सिंजाको वासिन्दा थिए ।  पारिवारिक अवस्था अत्यन्त कमजोर, खानबस्नसमेत समस्या भएका र प्रचण्ड बारम्बार सरकारका हर्ताकर्ता हुँदासमेत सहिद परिवार, बेपत्ता योद्धा परिवार घाइते आदिलाई राज्यद्वारा अपहेलित भएर बस्न पर्ने अवस्थाका कारण प्रचण्डप्रतिको उनीहरूको घृणा बढ्दै गएको पाइन्छ ।

रतन तिरुवाका बुबा सहिद हुँदा रतन केबल ४ वर्षका थिए र उनकी आमा श्रीमान सहिद भएपछि अर्कैसँग विवाह गरेर हिंडेकी थिइन् र रतन एउटा सहिद परिवारको बेसहारा छोराको रूपमा बढ्दै गएका थिए । उनी एक प्रकारले अराजक अवस्थाबाट गुज्रिएको पाइन्छ । उनमा पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनतालाई, नेपाली क्रान्तिलाई धोका दिएको भन्ने रहिआएको प्रमाणित हुन्छ किनभने प्रहरीसँगको बयानमा उनले भनेका छन्– ‘काम एकातिर कुरो अर्कैतिर भएपछि सहन सकिन अनि जुत्ता फुकालेर प्रहार गरें ।’

पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा संचालित जनयुद्धमा नेपाली जनताको मुक्तिका लागि ज्यान गुमाएका रतन तिरुवाका बाबु मोहन तिरुवाजस्तै १७ हजारले सशस्त्र द्वन्दमा ज्यान गुमाएका परिवारका सदस्यहरू अहिले रतन तिरुवाले जस्तै प्रचण्ड, बादल, अनन्त आदिप्रति घृणाको भारी बोकेर हिंडिरहेका छन् । यस्तो घृणाको अभिव्यक्ति कहिले कसरी र कोमाथि पोखिने हो हेर्न बाँकी नै छ ।

सबैलाई थाहा छ दशौ हजार नेपाली आमाका आँटिला र असल छोराछोरीहरू सहिद बन्न पुगेका छन् । हजारौको संख्यामा अपांग र घाइते बन्न पुगेका छन् । त्यसबेलामा जनताको त्यो त्याग र बलिदान जनमुक्ति सेनाको त्याग, बलिदानका कीर्तिमान बन्न पुगेका माओवादी योद्धाहरू प्रचण्डकै कारण अहिले ती सबै प्रतिक्रियावादीहरूको चौघेरामा बन्दी बन्ने अवस्था आएको छ ।

प्रहरी बयानमा उनले भनेका कुरालाई विश्लेषण गर्ने हो भने प्रथम यो आक्रमण राजनीतिक नेतृत्वप्रति खासगरी प्रचण्डको नेपाली जनता र नेपाली सर्वहारा वर्गीय क्रान्तिप्रतिको धोकाबाट जन्मेको जनताको घृणा र आक्रोश हो । यस्तै घृणा र आक्रोशले २०७३ मंसिर २२ मा पोखरामा बाबुराम भट्टराईमाथि पनि संजीव भट्टराईले जुत्ता प्रहार गरेका थिए । यस्ता आक्रोशपूर्ण घटना दुर्घटनाहरू भविष्यमा बढ्दै जाने सम्भावना झन् दरिलो देखिन्छ । रतन तिरुवाले भनेझै ‘काम एकातिर कुरो अर्कैतिर भएपछि सहन सकिन अनि जुत्ता फुकालेर प्रहार गरें ।’ उनको यो भनाइ सबैका लागि प्रेरणा नबनोस् भन्नका लागि प्रचण्डमा आमूल रूपान्तरणको आवश्यकता छ तर वास्तविकता उनीबाट घेरै टाडा पुगिसकेको छ । तै पनि मानिस हो, मानिसबाट गल्ती कमजोरी हुन्छ र त्यसमा सुधार्ने वा झन्–झन् जनविरोधी प्रतिक्रियावादी खेमामा जाने पनि व्यक्तिकै सोच हो । भविष्यमा माओवादी आन्दोलनभित्र प्रचण्ड–बाबुराम चिन्तन प्रवृतिको अन्त्यका साथै एउटा क्रान्तिकारी आशावादको विकास होस्, त्यसैका लागि माओवादी आन्दोलनका नेताहरूले सोच्नु जरुरी भएको छ । –[email protected] –  जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here