राष्ट्रिय अर्थतंत्रलाई कोरोनाको प्रभावबाट माथि उठाउन केही सुझाव

154
– राधा बुढाथोकी मगर  
कोरोना भाईरसको संक्रमणबाट बिश्वजगत नै आक्रान्त छ । यस्तो अवस्थामा नेपाल जस्तो बैदेशिक रोजगारीबाट नेपाली युवाहरुले पठाएको रेमिट्यान्सबाट चलेको अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्नु स्वाभाबिक हो । यस्तो अवस्थामा सरकारले अब बिलम्ब नगरी जनतालाई जसरी हुन्छ कृषिमा लाग्ने वातावरण बनाउन जरुरी छ । खेतीको मौसम बित्यो भने मौसमलाई फर्काउन सकिने छैन । सरकारले किसानहरुलाई घरभित्र थुनेर राख्नु भन्दा कसरी खेतमा पुग्ने वातावरण मिलाउन सकिन्छ भन्नेतर्फ ध्यान दिन आवश्यक छ । कोरोनाको प्रभाव शिथिल होला र गरौंला भनेर लापरवाही गरियो भने ठूलो पश्चाताप हुनेछ ।
 कोरोनाकै कारणबाट बिश्भर नै खाद्यान्न संकट पर्ने निश्चितै छ , नेपालका युवाहरु लाखौंको संख्यामा बिदेशबाट स्वदेश फर्किने तयारीमा छन् , ती युवाहरुलाई कसरी ब्यवस्थापन गर्ने भन्ने सम्बन्धमा सरकारसँग कुनै योजना छैन भन्ने कुरा सरकारले सार्वजनिक गरेको वार्षिक नीति तथा कार्यक्रमबाटै स्पस्ट हुन सकिन्छ । सरकारले ब्यवस्थापन नगर्ने हो भने अरु कस्ले गर्ने ?
बिदेशिएका युवाहरुलाई देशभित्र ल्याउने अहिले राम्रो अवशर बनेको छ । यस्तो अवस्थामा सरकारले उत्साहका साथ युवाहरुलाई स्वदेश फर्काउन पहलकदमी लिनु जरुरी छ । बिदेशिएका युवाहरुलाई कसरी स्वदेशमा ल्याउने ? कसरी खर्चको ब्यवस्था गर्ने ? उनीहरुलाई कसरी क्वारेन्टाईनको ब्यवस्था गर्ने ?कसरी रोजगारीमा लगाउने ? आदिबारे योजना बनाएर जानु पर्दछ । सरकारले ब्यवस्थापन गर्न चाहने हो भने समस्या समाधानका लागि बिदेशबाट फर्किन चाहेका नेपनलीहरुको सहयोग पनि हुन सक्दछ ।
सर्वप्रथम त सरकारले बिदेशिएका युवाहरुलाई स्वदेश फिर्ता गराउनु नै मुख्य काम हो । आफ्नै खर्च लगाएर पनि स्वदेश फर्किन चाहनेहरुको बिदेशमा लामबन्दी नै लागेको छ । प्रतिदिन कति संख्यामा ल्याउन सकिन्छ भन्नेबारे योजना बनाउने , त्यसपछि उनीहरुलाई देशभित्र ल्याएर १४ दिनसम्म क्वारेन्टाईनमा राखेर परिक्षण गर्ने , परिक्षणबाट नेगेटिभ आएकाहरुलाई कृषि लगायतका ब्यवशायहरुमा पठाउने , पोजेटिभ देखिएकाहरुलाई अबिलम्व उपचारको ब्यवस्था गर्ने, दक्षिणतर्फबाट खुला सिमानाको दुरुपयोग गरी आउनेहरुको रोकथामका लागि प्रभावकारी उपायहरु अवलम्बन गर्ने । छिमेकीपनको ब्यवहारबाट शत्रुतापूर्ण मूर्खतामा उत्रिईसकेको छिमेकीसंग दीर्घकालीन रुपमै समस्या समाधानको उपाय अवलम्बन गर्नु जरुरी छ ।
 तीन दशक अघिसम्म खाद्यान्न निर्यात गर्दै आएको हाम्रो देश आज किन कंगाल बनिरहेको छ ? कृषि प्रधान देश भएर पनि हामी किन कृषि उत्पादनमै परनिर्भर भैैरहेका छौं ? आत्मसमीक्षा गर्नु पर्ने अवस्थामा हामी उभिएका छौं । कोरोना भाईरसको संक्रमणले उत्पन्न गरेको संकटलाई हामीहरुले अवशरका रुपमा लिएर ब्यवस्थापनतर्फ ध्यान दिन सकियो भने हाम्रो देश वास्तबमै चमत्कारपूर्ण बिकासको गतिमा लम्किने निश्चित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here