कांग्रेसको कब्जामा प¥यो एन्फा, नेपाली फुटबलमा राजनीति कहिलेसम्म ?

92

— रिदेन महर्जन

विश्वका अधिकाशं राष्ट्रले सर्वाधिक मन पराउने खेल मध्ये फुटबल पनि एक हो । जस्को संसारभरमा छुट्टै विशिष्ट महत्व रहेको छ । हुनत नेपाली राष्ट्रिय टोली  अहिलेसम्म एशियन गेम तथा विश्वकपमा पुग्न सकेको छैन । तर कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी प्रशिक्षकका रुपमा नेपाली राष्ट्रिय फुटबल टोलीमा आएपछि नयाँ आशाका साथै नयाँ जोश, उमंग नेपाली  खेलाडी र दर्शकहरुमा छाएको छ । विशेष गरी उनले नेपाली खेलाडीहरु पनि जुनसुकै बलियो टोलीलाई पनि चुनौति दिन सक्नेलाई  उनले विगतका दिनहरुमा नेपाली टोलीले रक्षात्मक मात्र खेल्ने गर्थे, तर अव  नेपाली टोलीले आक्रामक शैलीमा खेल्न सक्ने आकलन गरी उनको नेतृत्वमा नेपालले इराकविरुद्ध मैत्रीपूर्ण खेल तथा विश्व कप र एसिया कपका ३ गरि कुल ४ खेल खेलबाट एक्काशी नेपाल चर्चाको शिखरमा पुग्यो ।

तर गत आइतबार एक्कासी नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पदबाट राजीनामा दिने घोषणा गरेपछि नेपाली खेलाडी र दर्शकमा निराशा छाएको थियो । प्रशिक्षक अलमुताइरीले वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङका कारण आफुले पदबाट राजीनामा दिन लागेको जनाएका थिए । उनले यसबारेमा सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका थिए ।  उनले पछिल्लो तीन हप्तादेखि वरिष्ठ उपाध्यक्ष नेम्वाङले समस्या उत्पन्न गराईरहेको उल्लेख गरेका थिए ।  ‘प्रिय नेपाली फ्यान म राजीनामा दिन एन्फा जाँदैछु । वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङको कारणले गर्दा म राजीनामा दिँदैछु । उनले पछिल्लो ३ हप्तादेखि समस्या उत्पन्न गराईरहेका छन् ।’ उनले लेखेका थिए ।

यो घटनाले सम्पूर्ण नेपालीमा प्रश्न खडा गरेको छ नेपाली फुटबलमा राजनीति कहिलेसम्म हो ? एन्फाले किन यस्तो घृणित राजनीति गरिरहन्छ ? खेलकुदमा पनि विदेशी प्रशिक्षकमा समेत राजनीति ? अहिले नेपाली टोली साफ च्याम्पियनसीप र एशियन गेम छनौटकोे तयारीमा रहनु पर्नेमा अचानक यस्तो विवादमा एन्फा मुछिएपछि  हरेक नेपालीमा अव नेपालले फुटबलमा विकास गर्छ भन्ने आशा हराएको थियो । तर एन्फाको फोहरी राजनीतिका कारण प्रशिक्षक अल्मुताइरी राजीनामा गर्न समेत पछि हटेनन् ।

अल्मुताइरीको राजीनामा घोषणाले गर्दा सामाजिक सञ्जालमा राजीनामा फिर्ता लिन आग्रह तथा नेपाली फुटबलमा उपाध्यक्ष नेम्वाङ नभए केही फरक नपर्ने तर अल्मुताइरी आवश्यक रहेको तर्क समेत गरियो ।  नेपाली फुटबलको स्तर उकास्नका लागि एन्फाले गत चैतमा अल्मुताइरीलाई राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको थियो ।

उपाध्यक्ष नेम्वाङसहित एन्फाका केही पदाधिकारीले साफ यू–१८ च्याम्पियनसिपमा नेपालको खराब नजिताको कारण देखाउँदै चेतनारायण श्रेष्ठलाई पद छाड्न दबाब दिएका थिए । नेपाल समूह चरणबाटै बाहिरिएपछि उपाध्यक्ष नेम्वाङको निर्देशनमा चेतनारायणलाई राजीनामा बुझाउन दबाब दिइएको थियो । एन्फा अहिले  कांग्रेसको कब्जामा रहेको छ । पदाधिकारीदेखि सदस्यसम्ममा अधिकांश कांग्रेस निकट व्यक्तिहरु आसिन छन् । जसका कारण कांग्रेसमा झैं एन्फामा पनि गुटगत राजनीति हाबी छ । त्यसैले एन्फामा सधैं किचलो हुने गरेको छ ।

अध्यक्ष कर्माछिरिङ कांग्रेसको संस्थापन इतर समूह निकट छन् । उनी कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह निकट मानिन्छन् । उपाध्यक्ष उपेन्द्रमान सिंह शेर्पासँगै छन् । तर, वरिष्ठ उपाध्यक्ष नेम्वाङ र वीरबहादुर खड्का शेर्पाको विरुद्धमा छन् । अर्का उपाध्यक्ष कृष्णबहादुर थापा पनि शेर्पाको विरुद्धमा देखिएका छन् । उनले हालै एन्फाको टेक्निकल कमिटीको संयोजकबाट राजीनामा दिएका थिए ।

नेम्वाङ र खड्का कांग्रेसको संस्थापन समूहसँग नजिक छन् । नेम्वाङ देउवा निकट नेता मोहनबहादुर बस्नेत नेतृत्वको कांग्रेसको खेलकुद विभागका सदस्य हुन् भने खड्का बस्नेतको गृह जिल्ला सिन्धुपालचोकका हुन् ।

एन्फाको राजनीतिमै सक्रिय रहेका र अहिलेको विवादलाई नियालिरहेका एक सदस्य भन्छन्, ‘एन्फामा कांग्रेस र कांग्रेसभित्रकै गुटको लडाइँ चलिरहेको छ । त्यसको मारमा नेपाली फुटबल परेको छ ।’ उनका अनुसार गुटगत हिसाबमा एन्फाका पदाधिकारीहरु बीच आरोप–प्रत्यारोप र एकअर्काविरुद्ध खनिने प्रवृत्तिले नेपाली फुटबलको विकासमा ठूलो असर पर्ने देखिएको छ । ‘एन्फाका पदाधिकारी फुटबलको विकासमा एकजुट भएर लाग्नुपर्ने हो, तर घिनलाग्दो राजनीतिमा चुर्लुम्म डुब्दा नेपाली फुटबल सधैँ अस्थिरता र किचलोको घनचक्करबाट माथि उठ्न नसक्ने भो,’ एन्फाका ती सदस्यले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here