आजदेखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज खुल्ला

107

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आन्तरिक तथा बाह्य पर्यटकका लागि खुला गरिएको छ। पर्यटकीय गतिविधिका लागि निकुञ्ज खुला गरिएको हो।

विश्वव्यापी सङ्क्रमणका रूपमा फैलिएको दोस्रो चरणको कोरोना भाइरसको भयावह परिस्थितिलाई मध्यनजर गर्दै वैशाखदेखि बन्द गरिएको पर्यटकीय गतिविधि निकुञ्जमा खुला गरिएको हो। हात्ती सफारीबाहेकका पर्यटकीय गतिविधिका लागि निकुञ्जमा नियमानुसार अनुमति लिई प्रवेश खुला गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले बताए।

जङ्गल सफारी, जङ्गल वाक, र्‍याफ्टिङ तथा डुङ्गा विहार, क्याम्पिङ र फिसिङलगायतका पर्यटकीय गतिविधि खुला गरिएको उनले जानकारी दिए। ‘निकुञ्ज प्रवेश गर्नेले तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण रूपमा पालना गर्नुपर्ने छ’, उनले भने, ‘अनिवार्य रूपमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्नुपर्ने र जङ्गल सफारी तथा जङ्गल वाकमा जाँदा अनिवार्य रूपमा नेचरगाइड साथमा हुनुपर्ने छ।’

उनका अनुसार जङ्गल वाकको हकमा एउटा गाइडले तीन र दुई गाइडले १० पर्यटकलाई गाइड गर्न पाउने छन्। तोकिएको रुटमा मात्रै जङ्गल ड्राइभ, जङ्गल वाक, क्याम्पिनिङ तथा फिसिङ गर्न पाइने छ। कोरोना महामारीका कारण बन्द रहेको निकुञ्जमा पर्यटकीय गतिविधि खुला गरिएपछि आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा वृद्धि हुने अपेक्षा गरिएको छ। निकुञ्ज ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ। निकुञ्जको प्रमुख विशेषताका रूपमा ५४ दशमलव पाँच वर्गकिलोमिटरमा फैलिएको घाँसेमैदान र त्यसमा विचरन भइरहने बाह्रसिङ्गेको ठूलो बथान हो। सबैभन्दा बढी पर्यटकले बाह्रसिङ्गेको बथान हेर्ने गर्दछन्। बाघको संख्यालाई र बाघ पाइने क्षेत्रलाई हेर्ने हो भने सानो क्षेत्रमा बाघको घनत्व बढी भएको क्षेत्रका रूपमा सो निकुञ्ज रहेको छ।

निकुञ्जमा ३६ प्रकारका स्तनधारी, १२ प्रकारका घस्रने जन्तु, २० प्रजातिका उभयचर, २४ प्रजातिका माछा, ३५ प्रजातिका पुतली र ४५० प्रजातिका चरा पाइने गर्दछन्। हात्ती र गैँडासमेत निकुञ्जमा रहेका छन्। निकुञ्जमा पुग्ने पर्यटकको आकर्षणका रूपमा घाँसेमैदान, रानीताल, सिंहपाल बाबा मन्दिर, शिलालेख क्षेत्र, कृष्णसार संरक्षण गरिएको हीरापुर क्षेत्र, झोलुङ्गे पुल र कालिकिच ताल रहेका छन्। RSS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here