-प्रविणराज गौतम
बच्चाहरुको हेरचाह गर्ने, स्कुलबाट घर लिएर आउने, बृद्ध आमा बुवाको हेरचाह, घर खर्चको प्रबन्ध र घरका दैनिक रुपमा गरिने कामहरु हाम्रो जस्तो संस्कृतिमा महिलाद्धारा गरिने र समाजले महिलाबाट आशा गर्ने कार्यहरु हुन् जसमा महिलाहरुले भोगेका “भावनात्मक श्रम” को वारेमा न समाजले सोच्छ न घर परिवारले बुझेको हुन्छ । महिलाको यस्तो श्रमले समाजमा कहिल्यै प्राथमिकता पाएन । यदि महिलाले ज्याला विनाको काम गर्न बन्द गरे भने घर तथा अर्थव्यवस्थामा नै नकारात्मक असर पर्न जान्छ । तर यस्तो परिस्थितिमा पनि आजसम्म महिलाले भोग्ने “भावनात्मक श्रम” को पहिचान गर्न र त्यसको व्यवस्थापन गर्ने वारेमा अहिलेसम्म पनि सरोकारवालाहरुले चासो लिएको देखिदैन ।
समाजशास्त्री डा. अर्ली होच्स्चिल्डको द मैनडेड हर्टमा “भावनात्मक श्रम” लाई आफ्नो भावनाहरुलाई नियन्त्रण गर्नुपर्ने महसुस गरी गरिने कामलाई “भावनात्मक श्रम” भनेर परिभाषित गरिएको छ । आफनो वास्तविक भावनालाई नियन्त्रण गरी अरुलाई खुशी पार्नको लागि अर्को भावना अपनाई काम गर्नुपर्ने वाध्यकारी परिस्थितिलाई “भावनात्मक श्रम” भनिन्छ । होच्स्चिल्डले यसलाई परिभाषित गरिसकेपछि यसले श्रम विकासको वहसमा स्थान प्राप्त गरी विकशसत देशमा यसको वारेमा उचित व्यवस्थापन गर्ने तरिका समेतको विकास भैसकेको छ भने हाम्रो जस्तो देशमा यस वारेमा वहस त धेरै टाडाको कुरा सरोकारवालाहरुलाई यसको अवधारणा समेतको जानकारीको अभाव छ । विषेश गरेर सेवा प्रदायक संस्थाहरुमा काम गर्ने श्रमिकहरु “भावनात्मक श्रम” को शिकार हुन्छन् भने हाम्रो जस्तो पितृसतात्मक समाजमा महिलाहरुसमेत यसबाट प्रत्यक्ष रुपमा प्रभावित भैराखेका छन् । महिलाहरुले गर्ने विना ज्यालाको श्रममा दैनिक रुपमा “भावनात्मक श्रम” को अनुभव गरिराखेका हुन्छन् ।
विभिन्न अनुसन्धानहरुले “भावनात्मक श्रम” को तनावको कारणले गर्दा व्यक्तिले शारीरिक र मानसिक स्वास्थको समस्या भोग्नु पर्ने र पारिवारिक जीवनसमेतमा नकारात्मक प्रभाव पर्ने कुरा प्रमाणित गरि सकेको छ ।
यहाँ एक महिलाले आफ्नो भावनालाई नियन्त्रण गरेर तनाव महशुस गरी कार्य गर्नुहुन्छ भने त्यस्तो “भावनात्मक श्रम” को प्रतिफल वहाँहरुले शारिरीक र मानसिक स्वास्थमा नकारात्मक प्रभाव पर्ने गरी व्यहोर्नु पर्ने हुन्छ , तर सामाजिक समर्थनको कारणले गर्दा “भावनात्मक श्रम” को अवस्था महिलाहरुको परिपेक्षमा अक्षै भयावह हुँदै गएको छ ।
शहरमा बसोवास गर्ने भहिलाहरुले भावनत्मक श्रम अलि कम अनुभव गर्नुहुन्छ होला , तर ग्रामीण भेगमा बसोवास गर्ने महिलाहरुको लागि “भावनात्मक श्रम” लगभग दैनिकी नै हो । महिलाले गर्ने घरेलु काममा लाग्ने श्रमलाई मायाको नाम दिएर विना ज्याला काम गराइने र महिलाहरुले आफ्नो भावनालाई नियन्त्रण गरी सो कार्य गर्नुपर्ने हाम्रो जस्तो समाजमा “भावनात्मक श्रम” ले बलियो जरा गाडेको स्पस्ट रुपमा देख्न सकिन्छ ।
सुन्दा नराम्रो लागे पनि महिलाहरुले घरेलु काम गर्दा नत ज्याला पाउछन्, न त काम गर्ने वेला उनिहरुले महशुस गरेका शारिरिक र मानसिक पीडाको मुल्याकंन नै गरिन्छ , वरु यसलाई उनिहरुको दायित्वको पोल्टामा हालेर मायाको आवरणमा कार्य गर्न वाध्य बनाईएको अवस्था देख्न सकिन्छ । यो अवस्था ग्रामीणदेखि शहरी क्षेत्र दुवै ठांउमा वस्ने महिलाहरुले कुनै न कुनै रुपमा भोगिराखेका छन् ।
दुर्भाग्यको कुरा के हो भने महिला अधिकारको वारेमा कुरा गर्ने र अभियान चलाउनेहरुलाई नै यसलाई कसरी परिभाषित गर्ने भन्ने कुरा वारे जानकारीको अभाव देखिन्छ । यसरी आफ्नो भावनालाई नियन्त्रण गरी आफ्नो मनले नमाने पनि हाँसेर सवै कुरा सहन गरी अरुको अपेक्षा पुरा गर्नुनै “भावनात्मक श्रम” हो, जसको परिणाम संधै नै नकारात्मक हुन्छ ।
“भावनात्मक श्रम” को कारणले गर्दा मानसिक स्वास्थमा अत्यधिक नकारात्मक दवाव पर्ने हुंदा यसले शारिरीक स्वास्थ्य अवस्था विगार्ने , आफ्नो पेशागत कार्यमा उत्पादकतामा कमी आउने, घरमा कलह हुने र आत्महत्या गर्ने जस्तो विचार समेत पलाउन सक्ने अवस्थाको सृजना हुने हुँदा यसको व्यवस्थापनको विकल्प छैन ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको महिला विरुद्धको हिंसा अन्त्यका लागि भनेर विभिन्न देशका उत्साहित महिला अधिकारकर्मी समुहले शुरुवात गरेको पनि लगभग ३३ वर्ष भै सकेको छ । यति लामो समय बितिसक्दा पनि “भावनात्मक श्रम” जस्तो अदृश्य हिंसाको वारेमा पर्याप्त वहश हुन नसक्नुले पनि यस्ता कार्यक्रमहरुले सवै पक्षहरुलाई समेटर लान सकेको देखिदैन । केवल देखिने हिंसामात्र हिंसा होइन , कसैको भावना विरुद्ध गई काम गराउनु र गर्न जोडदिनु पनि हिंसा हो र यस प्रकारको हिंसा नै “भावनात्मक श्रम” हो , जसलाई हाम्रो जस्तो देशमा कार्यस्थल र घर दुवैमा महिलाहरुले भोगिराखेका छन् । सन १९९१ बाट क्यानडाका यूवाहरुले सेतो रिवन बाँधेर “म हिंसा सहन्न, आफुपनि गर्दिन, र देखेमा प्रतिकार गर्छु” भन्ने नारालाई अंगालेर अगाडि वढाइएको यस १६ दिने अन्तर्राष्ट्रिय लैगिंक हिंसा विरुद्ध अभियानले २०२१ मा आफ्नो ३० औ वार्षिक उत्सव मनाईरहँदा हाम्रो देशमा महिलाहरुले भोग्ने “भावनात्मक श्रम” लाई समेटन नसकेको देख्दा यस्ता कार्यक्रमहरु र कार्यक्रम संचालकहरुले तुरुन्त यसवारे सुचित गराउने, शिक्षित गराउने र यस्तो प्रकारको अदृश्य हिंसा विरुद्धको कार्यक्रम मुल नाराका साथ अगाडि बढाउनु पर्ने देखिन्छ १ यसको लागि ढिलो भैसकेको छ ।
महिला भएकै कारणले हुने विभेदका परिणामस्वरुप महिलामाथि हुने हिंसाले निरन्तरता पाईराखेको अवस्था हाम्रो नेपाली समाजमा विद्यमान छ । महिला हिंसा विरुद्धको प्रत्येक अभिलेखमा शारिरिक वा मानसिक क्षति वा पीडा पुराइन्छ वा पुराउने सम्भावना छ भने त्यसलाई हिंसा भनेर परिभाषित गरिएको छ । यहाँ समग्र रुपमा उल्लेख गरिएपनि “भावनात्मक श्रम” जस्तो कार्यस्थल र घर दुवै ठांउमा महिला भएकै कारणले सामाजिक रुपमा तोकिएको ज्याला विनाको श्रमले त्यस महिलालाई कति शारिरीक र मानसिक पीडा दिन्छ र स्वास्थमा कस्तो असर पर्छ भन्नेकुराको पर्याप्त मात्रामा वहस भै त्यस विरुद्धको नीति निर्माण नगर्ने हो भने यस्तो १६ दिने कार्यकम मनाईदै गर्दा जसको निम्ति कार्यक्रम गरिएको हो उसले अप्रत्यक्ष रुपमा हिंसा भोगिरहेको अवस्था संधैभरी भै नै रहने छ ।
महिलाविरुद्धको हिंसा संरचनागत विभेदको परिणाम भएतापनि “भावनात्मक श्रम” ग्रामिणदेखि शहरी, गृहणीदेखि कामकाजी जुनसुकै महिलाले भोग्ने हिंसा हो , जसको अदृश्य प्रभावले महिलाको पेशागत, पारिवारिक, शारिरीक र मानसिक स्वास्थ लगाएतका कुराहरुमा नकारात्मक प्रभाव पर्न गै त्यसको फलस्वरुप भयावह परिणामसमेत भोग्नुपर्ने अवस्था आईपर्ने हुनाले सरोकारवालाहरुले यसवारे व्यापक वहश चलाई यस विषयमा अध्ययन गरेका, विशेषज्ञ र नीति निर्माताहरुलाई एकै र्ठांउमा ल्याई यसको व्यवस्थापन गर्ने र हिंसा घटाउनु पर्ने वेला आएको छ । यदि यस गरिएन भने लैगिंक हिंसा विरुद्धका कार्यक्रम होस् वा महिला हिंसा विरुद्धका कार्यक्रम होस् त्यसले सार्थकता नपाउने देखिन्छ ।
हाम्रो जस्तो संस्कृति जहाँ महिला भएकै कारणले गर्नु पर्ने सामाजिक कार्य वा महिलाले यो गर्नु पर्छ भनेर तोकिएको कार्य जहाँ ज्याला विनाको श्रम हुन्छ र त्यो जस्तोसुकै परिस्थितिमा पनि महिलाले गर्नेु पर्छ भन्ने भावना राखिन्छ, त्यहाँ “भावनात्मक श्रम” लाई शून्यमा ल्याउन त्यति सजिलो नहोला , तर यसलाई कम गरी व्यवस्थापन चाहिं गर्नु पर्दछ , जसले गर्दा घर, समाज र देशले क्षति वेहोर्न नपरोस् र एक महिलाले कुनै कार्य गर्दा आफ्नो भावनालाई नियन्त्रण गरी अरुको अपेक्षा पुरा गर्न अरुको भावना अनुसार काम गरी आफ्नो स्थास्थमा नकारात्मक असर र प्रभाव पार्ने अवस्था नहोस् ।
(लेखक स्टेट यूनिभरसिटि अफ न्यूयोर्कबाट जनशक्ति विकासमा विशेषज्ञता हासिल गरी काठमाण्डौ विश्वविद्यालयबाट विकास अध्ययनमा विद्यावारिधि अध्ययन गर्दै हुनुहुन्छ )

















