नयाँ प्लाटफर्म ‘नेपालय ई-कविता’ सञ्चालनमा

139

नेपाली कविताहरू अनलाइनमा पढ्न र सुन्न पाइने नयाँ प्लाटफर्म ‘नेपालय ई-कविता’ सञ्चालनमा ल्याइएको छ।

पब्लिकेसन नेपालयले कवि श्रवण मुकारूङसँगको सहकार्यमा यो काम शुरू गरेको हो। यसका संयोजक तथा क्युरेटर मुकारूङले आफ्नोसहित पुराना र नयाँ कविहरूका अप्रकाशित सिर्जना प्रस्तुत गर्नेछन्। साप्ताहिक रूपमा सार्वजनिक हुने कविताहरू निर्धारित शुल्क तिरेपछि पढ्न र कविहरूकै आवाजमा वाचन सुन्न सकिने नेपालयले जनाएको छ।

नेपालयका किरणकृष्ण श्रेष्ठले कोभिड-१९ को महामारी उत्कर्षमा रहँदा सबै क्षेत्र जस्तै प्रकाशन र पाठक जमातलाई पनि खुम्च्याएको वेला अनलाइनमा उपलब्ध सामग्रीले साहित्यिक भोक मेटेको अनुभवले नै ई-कविताको जन्म गराएको बताए।

“महामारी सिर्जित क्वारेन्टिनको समयमा प्रकाशित र प्रसारित सिर्जनाले सर्जक र पाठक–श्रोताबीच सेतुको काम गरे पनि व्यावसायिक व्यवस्थापनको आवश्यकता पनि महसूस भयो, ई-कविताको परिकल्पना त्यही व्यावसायिक सेतु हो,” उनले भने। यसले पाठकसँग कविहरूलाई व्यावसायिक रूपमा प्रत्यक्ष सम्बन्ध गाँस्ने प्रयास गर्ने उनले बताए।

ई–कविताका संयोजक मुकारुङले कविता लामो समयदेखि व्यावसायिक प्रकाशनको प्राथमिकतामा पछाडि रहनुमा कविता लेख्ने र प्रकाशन गर्ने कामलाई व्यावसायिक बनाउन नसक्नु मुख्य कारण रहेको औंल्याउँदै यो रिक्तता पुर्न नयाँ शुरूआत गरिएको बताए। “ई-कविताले कविहरूलाई गरिमा र सम्मान प्रदान गर्दै सुसूचित बन्ने र किनेर पढ्ने पाठकको संगतमा पनि पुर्या्उनेछ,” उनले भने।

ई–कविताको औपचारिक शुरूआत वैशाख १७ गतेदेखि हुने भएको छ। उक्त दिन आमाको मुख हेर्ने दिन परेकाले शृङ्खलाको पहिलो कविताका रूपमा आमाहरू र अग्रजप्रति सम्मान स्वरूप कवि गोपालप्रसाद रिमालको चर्चित कविता ‘आमा’लाई मुकारूङले वाचन गरेका छन्।

शुरूको महीना पाठक तथा श्रोताले आफ्नो नाम दर्ता गरेर कविताहरू नि:शुल्क पढ्न र सुन्न पाउनेछन् भने त्यसपछि नि:शुल्क पढ्न पाउने कोटा महीनाको एउटा कवितामा सीमित गरिनेछ। सबै कविता पढ्न र सुन्न चाहनेले वार्षिक ग्राहक बन्नुपर्ने नेपालयले जनाएको छ।

नेपालयका श्रेष्ठले कविता विधालाई व्यावसायिक बनाउन आफूहरूले शुरूआती प्रयास गरेको र कविताप्रेमी सचेत पाठकहरूबाट साथ-सहयोग पाउनेमा विश्वस्त रहेको पनि बताए।

ई-कविताको प्राविधिक विकास र व्यवस्थापन थुप्रै डटकमले गरेको छ । थुप्रैले ई-कवितालाई आफ्नो ई-बुक एपबाट पनि पढ्न र सुन्न सक्ने गरी व्यवस्थापन गर्ने जनाइएको छ।

ई-कवितामा उपलब्ध हरेक कविता पढ्न र सुन्न रु.१५ लाग्नेछ भने रु.५२५ तिरेर वार्षिक ग्राहक हुने व्यवस्था गरिएको छ। यस्तै, विदेशमा बस्नेले पाँच अमेरिकी डलरमा वार्षिक ग्राहक बन्न सक्ने नेपालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here