मच्छिन्द्रनाथको रथ जात्रा सुरु

154

ललितपुर । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ शुक्रबार मङ्गलबजारबाट सुन्धारातर्फ तानिएको छ । ललितपुरको पुल्चोकबाट मङ्गलबजार लगिएको रथ त्यहाँबाट तानेर सुन्धारातर्फ ल्याइएको हो । वैशाख शुक्ल प्रतिपदामा सुरु भएर आषाढ शुक्ल चतुर्थीसम्म हुने जात्रा हेर्न ठूलो सङ्ख्यामा सर्वसाधारण भेला भएका थिए । सडकदेखि घरको छतसम्म रथयात्रा हेर्ने मानिसको भीड थियो ।

पाटनको सबैभन्दा महत्त्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा लिइन्छ । हिन्दु धर्मावलम्बी मच्छिन्द्रनाथलाई ऐतिहासिक करुणामयी रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ अर्थात् पञ्चबुद्धमध्येका चौथो बुद्धका रूपमा पूजा गर्ने स्थानीय पुजारी सञ्जय राजोपाध्यायले जानकारी दिनुभयो ।

उहाँले पुल्चोकमा रथारोहण गरी सुरु भएको मच्छिन्द्रनाथको रथयात्रा गाःबहाल, मङ्गलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पु-याएर भोटो देखाइने बताउँदै योसँगै मच्छिन्द्रनाथलाई सानो खटमा राखी बुङमतीमा लगिएपछि जात्रा  समापन हुने बताउनुभयो ।  लगातार दुई वर्ष कोरोना महामारीका कारण औपचारिकतामा सीमित बनेको जात्रा यस पटक पूर्ण विधिका साथ मनाइएको छ ।

जात्रा सञ्चालनका लागि स्थानीय १९ वटा गुठीले सहकार्य गर्दै आइरहेका छन् । जात्राका क्रममा टीकाभैरव, क्रोध भैरव, श्वेत भैरव र चन्द्र भैरवको विधिवत् पूजाआजा गरिने राजोपाध्यायले जानकारी दिनुभयो । यस्तै संस्कृतिविद् हरिराम जोशीका अनुसार मानवीय क्षति नहोस् भनेर यी देवताको पूजाआजा गरिन्छ । रथ गुडाउनुभन्दा अघि पाङ्ग्रामा क्षमा, सिद्धि पूजा र भैरव प्रतिस्थापन गर्नुपूर्व चित्रकारहरू रङरोगन गर्छन् । जात्रालाई सहकालका देवताका रूपमा हिन्दु र बौद्ध धर्मावलम्बीले पनि मनाउँछन् । पौराणिक कथनअनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवले यो जात्राको सुरुवात गराएको किंवदन्ती छ ।

“मच्छिन्द्रनाथ जात्रा खेतीकिसानीसँग सम्बन्धित रहेको किंवदन्ती छ,” उहाँले भन्नुभयो, “करिब १६ सय वर्षअघि सुरु भएको मच्छिन्द्रनाथको रथ जात्रा नेवारी परम्पराअनुसार ३२ हात अग्लो रथ बाजागाजाका साथ ललितपुरका विभिन्न टोल परिक्रमा गराउने परम्परा छ ।” तिथिमिति नजुरेको समयमा भने छ महिनासम्म पनि जात्रा चलिरहने जोशीले बताउनुभयो ।

किंवदन्तीअनुसार यो जात्रा इस्वी संवत् ५४६ देखि सुरु भएको मानिन्छ । यो जात्रालाई सहकालका देवताका रूपमा हिन्दु र बौद्ध धर्मावलम्बीले पनि मनाउँछन् । पौराणिक कथनअनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवले यो जात्राको सुरुवात गराएको किंवदन्ती छ । हिन्दु धर्मावलम्बी मच्छिन्द्रनाथलाई ऐतिहासिक सन्तगुरु करुणामयका रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ पञ्चबुद्धमध्येका चौथो बुद्धका रूपमा पूजा गर्छन् ।

“लामो बाटो धाएर मच्छिन्द्रनाथ यहाँसम्म ल्याएपछि पानी परेको किंवदन्ती छ,” संस्कृतिविद् बुद्धिराज बज्राचार्यले भन्नुभयो, “भारतको कामरुकामक्षबाट मच्छिन्द्रनाथलाई बोकेर ल्याएपछि कहाँ राख्ने भन्ने विषयमा फेरि काठमाडौँ, भक्तपुर र ललितपुरवासीबीच हानथाप चल्यो, विवाद चर्कियो, ललितपुरका ज्यापु अलि बाठा भएकाले ललितपुरमै राख्न सफल भए ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here