सुशासनको प्रत्याभूति हामीले जनतालाई दिलाउन सकेनौँ

36

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक १०/१५ वर्षपछि जनतामा नैराश्यता आउनुमा राजनीतिक नेतृत्व नै दोषी रहेको बताएका छन्।

हरेक सफल क्रान्तिपछिका १०–१५ वर्षको बीचमा जनतामा नैराश्यता आउनुमा जनताको आर्थिक अवस्था र सुशासन दिन नसक्नु प्रमुख कारण रहेको बताएका हुन्।

अध्यक्ष दाहालले राजनीतिक आन्दोलनले देशमा ठूला परिवर्तन ल्याएको भन्दै राजनीतिक दलहरुले जनताका एजेण्डालाई प्रमुख बनाउन नसक्दा सुशासन कायम हुन नसकेको बताए। उनले ठूला परिवर्तन भएको १०/१५ वर्षपछि राजनीतिक परिवर्तन र राजनीतिक एजेण्डाहरु विस्तारै कमजोर हुँदै जाने खतरा देखापर्दै आएको उल्लेख गरे।

अध्यक्ष दाहालले अहिले पनि एकथरी मानिसहरु राजनीतिक दल र नेताहरुलाई गाली गर्दै आइरहेको भन्दै उनीहरु देशलाई पुनः अन्धकारको सुरुङतिर लैजान लागिपरेको आरोप लगाए। उनले राजनीतिक परिवर्तनसँगै आर्थिक क्रान्ति, आर्थिक परिवर्तन एवं सुशसाको प्रत्याभूति जनतालाई दिलाउन नसक्नुले देश अस्थिरतामा गइरहेको जिकिर गरे। उनले राजनीतिक नेतृत्व क्रान्ति गर्न सिपालु भए पनि जनतालाई त्यसमा समावेश गरी क्रान्तिलाई सफल बनाउने कुरामा कमजोर रहेको बताए।

उनले भने, ‘राजनीतिक आन्दोलनले परिवर्तनलाई ल्याएका पनि छन्। चाहे सात सालको कुरा गरौँ, चाहे ४६ सालको कुरा गरौँ वा ३६ साल वा २०६२–०६३ सम्म आउँदाको क्रान्तिको कुरा गरौँ, यी सबै ठूला परिवर्तन सम्भव भए। तर, ठूला परिवर्तन भएको १०/१५ वर्ष बितेपछि त्यो राजनीतिक परिवर्तन र राजनीतिक एजेण्डाहरु विस्तारै कमजोर हुँदै जाने खतरा देखापर्दै आएको छ। अहिले पनि २०६२/०६३ को क्रान्तिपछि नै एकथरी मानिसले पार्टी र नेताहरुलाई गाली गर्ने र अर्कै दिशातिर अन्धकारको सुरुङतिर देशलाई लैजाने त्यस्ता मानिस छन्, निरंकुशता र सामन्तवादका पक्षधर छन्। राजनीतिक परिवर्तनसँगै आर्थिक क्रान्ति, आर्थिक परिवर्तन र गुड गभर्नेन्स, सुशासनको प्रत्याभूति हामीले जनतालाई दिलाउन सकेनौँ।’

प्रचण्डले थपे, ‘सुशासनको निम्ति कर्मचारीतन्त्रमा गर्नुपर्ने सुधार, ऐन, कानूनमा गर्नुपर्ने त्यहीअनुसारका संशोधनहरु, नयाँ ऐन, कानूनहरु बनाउने प्रक्रिया जनताको जीवनमा आर्थिक समृद्धिको यात्रा शुरु भयो भन्ने अनुभूति दिलाउने योजना र भिजन र मिसनको कमि भयो। राजनीतिक नेतृत्व क्रान्ति गर्न सिपालु तर जनतालाई त्यसमा समावेश गरी क्रान्तिलाई सफल बनाउने कुरामा कमजोर भएकै हो। हामीमा त्यो इच्छाशक्ति देखिन सकेन। त्यहाँ अन्तरविरोध भयो। त्यसकै कारणले जहिले पनि देश राजनीतिक अस्थिरतामा गयो।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here