राष्ट्रपतिको निर्वाचन पश्चात मन्त्रिपरिषद् विस्तार हुने

94

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले राष्ट्रपतिको निर्वाचनपछि मात्रै मन्त्रिपरिषद् बिस्तार हुने बताएकी छन् । मन्त्रिपरिषद्ले मंगलबार गरेको निर्णय सुनाउन मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले मन्त्रिपरिषद् विस्तार राष्ट्रपतिको निर्वाचनपछि हुने बताएकी हुन् ।

नयाँ गठबन्धन बनेको र को–को सरकारमा जाने भन्ने विषयमा पनि छलफल गर्नुपर्ने भएकाले त्यसको टुंगो लागिसकेपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने उनको भनाइ छ । त्यस्तै प्रधानमन्त्रीले विश्वासको मत पनि राष्ट्रपतिको निर्वाचन पछि मात्रै लिने उनले जानकारी गराइन् ।

राष्ट्रपतिको निर्वाचनका लागि ध्यान केन्द्रित गर्नुपरेकाले त्यसअघि विश्वासको मत लिने कार्यक्रम नरहेको उनले स्पष्ट पारिन् ।

उनले भनिन्, ‘राष्ट्रपतिको निर्वाचन पछाडि नै यसलाई व्यवस्थित ढंगले, केही छलफल पनि गर्नुपर्ने हुन्छ गठबन्धन दलभित्र । सरकारबाट निस्किसकेको अवस्थामा कुन-कुन पार्टी सरकारमाप्रवेश गर्ने त्यो कुराको पनि टुंगो लगाइसकेपछि मन्त्रिपरिषद् विस्तार हुन्छ ।’

उनले देशमा फेरिएको राजनीतिक परिस्थितिका कारण संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को ५२ औँ सभामा भाग लिन तत्कालीन परराष्ट्रमन्त्री विमला राई पौड्याल जान नसकेको बताइन् । सो कार्यक्रमका प्रयोजनका लागि मात्रै प्रधानमन्त्रीको सल्लाहकारको रुपमा नेपालको प्रतिनिधित्व गर्दै पूर्वकानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालालाई पठाइएको उनले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here