निमकान्त पाण्डे
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जनयुद्धमा उठाएका मुद्दा बेलाबेलामा सम्झना आउने गर्छ । यस्तो सम्झनाको संयोग भने माओवादी प्रायःजसो विपक्षी दल हुँदा हुने गरेको देखिन्छ । सत्तामा रहँदा भने प्रायः उनले जनयुद्धका मुद्दा बिर्सन्छन् । जब अप्ठ्यारो पर्छ, प्रचण्ड फेरि फुत्त जनयुद्ध सम्झन्छन् । पार्टीको जनाधार कमजोर हुँदै गएको कुरा गर्छन् । तर, माओवादी इमानदार भएको र सत्तामा गए केही वर्षमै देशमा कायापलट गर्ने कुरा गर्दै आफूहरुलाई विश्वास गर्न जनतालाई आग्रह गर्छन् । गत साता दाङमा आयोजित एक कार्यक्रममा प्रचण्डले यही विषय दोहोराए । उनले जनतासँग माओवादीको सम्बन्ध कमजोर भएको स्वीकारे । जुन वर्ग र समुदायको मुधा लिएर जनयुद्ध गरेको त्यही वर्गको मुद्दा छाड्दा पार्टी कमजोर भएको उनको स्वीकारोक्ति थियो । उनले अब त्यही वर्ग र समुदायलाई अगाडि बढाउने संकल्प पनि गरे । तर, सत्तामा पुगेपछि प्रचण्डले आफ्नो संकल्प सम्झेलान् ? जनयुद्धका मुद्दा सम्झेलान् ? विगतमा सत्तामा पुग्दाको उदाहरणले भने जनतालाई निराश मात्र तुल्याउँछन् ।
माओवादी शान्ति प्रक्रियामा आएपछि निरन्तरजसो सत्तामा छ । कहिले सत्ताको नेतृत्व गरेको छ त कहिले सरकारमा सहभागी भएको छ । यसरी सरकारमा सहभागी भइरहन पाउनु माओवादीलाई जनताको पक्षमा काम गर्न पाउने अवसर पनि हो । तर, माओवादीले भने जनतालाई सधैं निराश मात्र तुल्यायो । त्यही कारण अहिले माओवादीले जनताको विश्वास गुमाउँदै गएको छ । माओवादी २०६४ सालको संविधानसभाको निर्वाचनमा पहिलो पार्टी भएको थियो । २०७९ सम्म आइपुग्दा आमनिर्वाचनमा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १८ र समानुपातिक १४ सिट जितेर तेस्रो स्थानमा पुगेको छ । माओवादीले पाएको मत प्रतिशत विश्लेषण गर्दा पनि उसको जनमत क्रमशः घट्दै गएको देखिन्छ । २०६४ मा २९ प्रतिशत, २०७० मा १५ प्रतिशत, २०७४ मा १३ प्रतिशत हुँदै गत आम निर्वाचनसम्म आइपुग्दा उसले ११ प्रतिशतको हाराहारीमा मत पाएको छ । नेताहरुको गल्ती र कमजोरीका कारण माओवादीको विरासत गुम्ने अवस्थामा पुगिसकेको छ । सत्तामा पुगेर पनि देश र जनताका लागि योगदान दिन नसक्दा माओवादीले जनताको विश्वास पनि गुमाइरहेको छ ।
२०६३ मंसिर ५ मा बालुवाटारबाट सार्वजनिक भएको माओवादी त्यसपछिका १८ वर्षमा बनेका १३ वटा सरकारमध्ये १० वटामा सहभागी भएको छ । जसमा ४ वटा सरकारको नेतृत्व आफैँले गरेको छ । १८ वर्षमा जम्मा ४३ महिना मात्रै माओवादी विपक्षी बन्यो । तर माओवादीमा अब व्यापक रुपान्तरणको आवश्यकता देखिएको छ । माओवादीको एक हिस्सा सुरुवातदेखि नै संसदीय राजनीतिमा रमाएको छ । विप्लव नेकपालगायत क्रान्तिलाई निरन्तरताका लागि लडिरहेका छन् । यसलाई प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले पनि मनन गर्न आवश्यक छ । सत्तामा दुई दशक बिताउँदा पनि त्यसको उपलब्धि के भयो ? माओवादीले कहाँ बाटो बिरायो ? यसको निर्मम समीक्षा हुन जरुरी छ ।
माओवादीप्रति जनविश्वास घट्दै जानुको पहिलो कारण हो, सत्तामा पुगेर पनि जनअपेक्षा अनुसार काम गर्न नसक्नु । माओवादी जनयुद्ध गरेर शान्ति प्रक्रियामार्फत संसदमा त आयो । तर, कुनै बेला ‘खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने’ थलोको रुपमा आफैले गाली गर्दै आएको संसदको फोहोरी खेलमा आफू स्वयं सहभागी भयो । यसबीचमा माओवादीका प्रचण्ड, डा. बाबुराम भट्टराई नेतृत्वमा सरकार बन्यो । अन्य दलको नेतृत्वमा पनि माओवादी सहभागी भयो । तर, यसले माओवादीका नेताको जीवनस्तरमा मात्रै सुधार ल्यायो । उनीहरु नवधनाढ्यका रुपमा उदाए ।
माओवादीका नेताहरु मात्रै होइन, स्वयं प्रचण्डको आर्थिक अवस्थाबारे पनि पटकपटक प्रश्न उठ्ने गरेको छ । त्यही कारणले आफ्नै सहयोद्धाले एकपछि अर्को गर्दै प्रचण्डको साथ छोड्दै गए । पार्टी पनि पटक(पटक विभाजित भयो । यसले पनि जनतामा माओवादी क्रमशः घट्दै गएको पाइन्छ । जनताले माओवादी पनि पुरानै ढर्राका पार्टीभन्दा फरक नभएको महसुस गर्न थाले । जसको असर अहिले माओवादीको हैसियतले स्पष्ट पारेको छ ।
अर्कोतर्फ माओवादीको नेतृत्वमा लामो समयसम्म एउटै नेताको कब्जा हुनु पनि यो पार्टी अलोकप्रिय हुनुको अर्को कारण मान्न सकिन्छ । हाल नेपालका राजनीतिक दल मात्र नभई सिंगो राजनीति नै सीमित नेताहरुको कब्जामा छ । जसका कारण जनतामा पुराना दलप्रति निराशा बढ्दै गएको छ । यसले नयाँ पार्टी र स्वतन्त्रहरुले आफ्नो पक्षमा जनलहर र वितृष्णाको मत पाउन थालेका छन् । माओवादी पार्टीको नेतृत्वको कथा पनि उस्तै नै छ ।
त्यति मात्र नभई पछिल्लो समय माओवादी राजनीतिक अस्थिरताको एउटा कारण पनि बन्दै गएको छ । अध्यक्ष प्रचण्डको राजनीतिक स्वार्थका कारण दलहरुलाई सहयोग गर्नेबारे बार्गेनिङ हुँदा राजनीतिक अस्थिरता सृजना भएको छ । माओवादी सरकारमा सहभागी हुन थालेयताका कुनै पनि सरकारले ५ वर्षे कार्यकाल पूरा गर्न सकेका छ्रैनन् । यस्तो हुनुमा धेरथोर मात्रामा माओवादीको भूमिका पनि छ भन्ने यथार्थलाई नकार्न सकिन्न ।
त्यसकारण कमरेड प्रचण्डलाई पंक्तिकारको सुझाव छ, यति माओवादी पार्टीप्रति फेरि जनताको भरोसा जित्ने हो भने पार्टीकै नेता र कार्यकर्तालाई एकजुट र उत्साहित बनाउन आवश्यक छ । त्यसका लागि नेतृत्व हस्तान्तरण वा योग्यलाई जिम्मेवारी दिने पहिलो शर्त हुन सक्छ । अर्कोतर्फ सरकारमा गएर पार्टीको सिद्धान्तअनुसार मजदुर श्रमिक र गरिब वर्गको हितमा हुने काम गर्न सकेमा र भ्रष्टाचार अनियमिततामा संलग्न आफ्नै नेतालाई कारबाही गर्न सकेमा मात्र जनविश्वास पनि बढ्दै जानेछ । जनधारणा साप्ताहिक


















