सरकारको विपद् पूर्वतयारी प्रशंसनीय

3

बर्खायाममा नेपालका हिमाली र पहाडी क्षेत्रमा पहिरो, बाढी र अन्य प्राकृतिक विपद्को जोखिम बढ्ने गर्छ । विगतका वर्षहरूमा यस्ता घटनाले ठूलो जनधनको क्षति भएको तथ्यांकले देखाउँछ । यस सन्दर्भमा हालै सरकारले देखाएको पूर्वतयारी प्रशंसनीय छ । देशभरका ८० राजमार्गका विभिन्न खण्डमा पहिरोको जोखिम बढेपछि सडक विभागले १५५ वटा उपकरण परिचालन गरेको र थप १२२ उपकरण तैनाथ राखेको जानकारी सार्वजनिक भएको छ । यसले विपद्को सामना गर्न सरकार सतर्क छ भन्ने स्पष्ट सन्देश दिएको छ ।
नारायणगढ–मुग्लिन, नागढुंगा–मुग्लिन, कान्ति राजमार्ग, बीपी राजमार्ग, कोशी, कर्णाली जस्ता महत्वपूर्ण सडक खण्डहरूमा पहिरोको जोखिम उच्च छ । मौसम पूर्वानुमान महाशाखाको सूचनाअनुसार रातको समयमा सवारी आवागमन रोक्ने निर्णय चितवन जिल्ला प्रशासनले गरेको छ । यो कदमले दुर्घटनाको जोखिम घटाउने अपेक्षा गर्न सकिन्छ । सडक विभागले पहिरो खस्नासाथ पन्छाउन मेसिन र जनशक्ति तयारी अवस्थामा राखेको छ । अहिलेसम्म लामो समय सडक अवरुद्ध नभए पनि निरन्तर वर्षा भएमा चुनौती बढ्न सक्ने अनुमान गरिएको छ । यस्तो पूर्वतयारीले यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिएको देखिन्छ ।
यसका साथै सरकारले मोबाइल फोन प्रसारण प्रणाली (सेल ब्रोडकास्ट) मार्फत विपद्को पूर्वसूचना दिने तयारी गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गृह मन्त्रालयसँगको समन्वयमा यो प्रणाली लागू गर्न लागेको हो । यो प्रणालीले जोखिमयुक्त क्षेत्रका सबै नागरिकको मोबाइलमा एकैपटक चेतावनी सन्देश पठाउन सक्छ । साइरन जस्तो विशेष ध्वनि बज्ने भएकाले सन्देश नहेरे पनि ध्यानाकर्षण हुन्छ । यसले रातको समयमा पनि नागरिकलाई समयमै सचेत गराउन मद्दत गर्छ ।
विगतमा एसएमएस प्रणाली प्रयोग हुँदा सन्देश ढिलो पुग्ने, कतिपयले नहेर्ने र डेलिभरीमा ढिलाइ हुने समस्या थियो । नयाँ प्रणालीले यी कमजोरीलाई सम्बोधन गर्छ । बाढी, पहिरो मात्र होइन, अन्य प्राकृतिक तथा मानवीय विपद्मा पनि यो प्रभावकारी हुने अपेक्षा छ । प्रारम्भिक अनुमानअनुसार यसको कार्यान्वयनका लागि ४० देखि ७५ करोड रुपैयाँ लाग्ने अनुमान छ । प्राविधिक छलफल र समन्वय भइरहेको छ । यो प्रणालीले विपद् व्यवस्थापनलाई आधुनिक र प्रभावकारी बनाउने छ ।
सरकारको यो पूर्वतयारीले विपद् न्यूनीकरणमा नयाँ सोच देखाएको छ । नेपाल भूकम्पीय जोखिम, जलवायु परिवर्तन र भौगोलिक संवेदनशीलताका कारण विपद्प्रति अत्यन्त संवेदनशील छ । विगतमा पूर्वसूचना अभावमा ठूलो क्षति भएको थियो । अब सूचना प्रविधिको प्रयोग र भौतिक पूर्वतयारी दुवैलाई जोड दिइएको देखिन्छ । सडक विभागको उपकरण परिचालनले तत्कालीन व्यवस्थापनलाई मजबुत बनाएको छ भने मोबाइल ब्रोडकास्ट प्रणालीले दीर्घकालीन पूर्वचेतावनी प्रणालीको आधार तयार पार्छ ।
तर प्रशंसनीय प्रयासका बाबजुद चुनौतीहरू पनि छन् । पूर्वतयारीलाई पूर्ण प्रभावकारी बनाउन स्थानीय तहसँग समन्वय आवश्यक छ । ग्रामीण क्षेत्रमा मोबाइल नेटवर्कको पहुँच र साक्षरता स्तरलाई ध्यान दिनुपर्छ । उपकरण परिचालनमा नियमित मर्मत सम्भार र जनशक्ति तालिमलाई निरन्तरता दिनुपर्छ । विपद् पुनःस्थापना र राहत वितरणमा पनि पारदर्शिता कायम गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here