जुम्ला : ‘मोतीको दाना’

379

-विजय खत्री

नेपालको राजधानी काठमाडौंदेखि जुम्ला करिब ८१९ किलोमिटर दुरीमा रहेको छ भने यो सामुद्रिक सतहदेखि करिब ४५१४ मिटर उचाईमा पर्दछ । इतिहासलाई कोट्याउने हो भने नेपाली भाषाको सुरुवात पनि सिजा भ्याली, जुम्लाबाट नै सुरु भएको पाइन्छ । त्यस्तै बाइसे चौविसे राज्यमा विभाजन भएको ताका बाइसे राज्यको राजधानी यही जुम्ला भएको कुरा केही इतिहासकारहरु बताउँछन् । जुम्लामा ललितकलाको विकास र सम्भावना, विभिन्न जडिबुटीहरु, कृषि, पर्यटन आदि पक्षहरुलाई केलाउँदै यीनका विशेषताहरु माथि कलम चलाउने प्रयास गरेको छु ।

ललितकला : 

जुम्ला जिल्लामा भित्ते चित्रकला, मूर्तिकला, वास्तुकला, हस्तकलाहरु ठाउँ–ठाउँमा पाउन सकिन्छ । त्यहाँका केही घरका भित्ताहरुमा ठूला–ठूला विभिन्न जिवजनावर, ताल, पहाड, हिमालका चित्रहरु कोरिएका छन् । घरहरुमा लगाइएका रंगहरु पनि प्रकृतिसँग मेल खाने खालका छन् । त्यस्तै पुलको द्वारहरुमा काठका मूर्तिहरु बनाइएका छन् भने जुम्लीहरुको मूर्ति प्रतिको माया, रुचि र अकर्षण कै कारणले गर्दा कर्णाली हस्पताल अगाडी मानव सेजुवालको शालिक स्थानीय बासीको अग्रसरतामा प्राज्ञ धनबहादुर याखाद्वारा वि.स. २०७२ सालमा निमार्ण गरिएको छ । वास्तुकला अन्तरगत ः त्यहाँ भएका सबै घरहरु परम्परागत वास्तुकलाको जगमा टेकेर निमार्ण भएका छन् । बलियोको हिसाबले पनि यहाँ १०० वर्ष भन्दा पुराना घरहरुले वि.स. १९९०, २०४५,२०७२ सालको महाभुकम्पलाई पनि चुनौति दिएर उभिएका छन् । यसलाई हेर्ने हो भने यहाँका घरहरु पहिलेदेखि नै भुकम्प प्रतिरोधी भएको पुष्टि हुन्छ ।

जुम्लीहरु हस्तकलामा आजभन्दा धेरै पहिलेदेखि नै अब्बल देखिन्छन् । उनीहरुले बनाएका राडी, पाखी, कम्बलहरु नेपालमा मात्रै नभएर विदेशका विभिन्न देशहरुमा निर्यात हुने गरेको छ । जसले जुम्लीहरुको आर्थिक वृद्धिमा मात्र नभएर राष्ट्रिय आम्दानीमा पनि सहयोग पुगेको छ । त्यस्तै उनीहरुको घरमा आवश्यक पर्ने सामानहरु आफ्नै वरिपरिको कच्चा पदार्थहरुको प्रयोग गरेर आफै निमार्ण गर्ने गर्दछन् । जस्तै ः डोको, डालो, नाम्लो, नाङ्लो, मान्द्रो, खुर्पेटो, हलो, जुवा आदि ।

यसरी जुम्लीहरु ललितकलामा पहिलेदेखि नै पाइला चालिरहे पनि कलाको मूलधारमा आउन सकिरहेका छैनन् । त्यहाँ स्थित स्थानीय कलाकार उत्तम श्रेष्ठ सिर्जनात्मक क्षमताका भए ता पनि साईन बार्ड लेख्ने, स्केचहरु बनाउने बाहेक कलाका अन्य आयामहरुको बारेमा उनी जानकार नभएको पाइयो । यदि उनि जस्तै कलाकारहरुलाई नेपाली कला, कलाको विकास र महत्वको बारेमा कार्यशाला, गोष्ठी, अन्तरक्रिया जस्ता कार्यक्रममा सहभागी बनाउन सकेमा जुम्ला कलामा पनि धनी हुने कुरामा दुई मत छैन् ।

जडिबुटि :

जुम्लीहरुले धेरै रोगको उपचार आफै आफ्नै घरआगन भिरपाखामा उमारिएका र उम्रिएका जडिबुटीहरुको प्रयोगबाट गर्ने गर्दछन् । जुम्ला जडिबुटिको हिसाबले आत्मनिर्भर छ । शिरदेखि पाउसम्म र टाउको दुखाईदेखि हृदयघातसम्मका रोगहरुको औषधी पाउन सकिन्छ । जस्तै :

क) जटामसी : हाड जोर्नीहरु दुखेको समयमा यसलाई पिँधेर तेल बनाई दुखेको ठाउँमा मसाज गर्नाले दुखाई हटेर जान्छ । जुम्लीहरु जटामसिको तेललाई आफु मात्रै प्रयोग नगरेर हिँउदमा तराइ र पहाडका विभिन्न जिल्लाहरुमा गई विक्रि वितरण गर्ने गरेको पाइन्छ ।

ख) देवदारुको तेल : यो तेलको प्रयोग विशेष गरि गाईवस्तुको शरिरमा पर्ने जुम्राहरु मार्नको लागि प्रयोग गरिन्छ । जसको प्रयोगले वस्तुभाउलाई कुनै पनि असर नगरि जुम्राहरु मार्ने गर्दछ भने सर्पले टोकेको ठाउँमा यसको तेल लगाउनाले सर्पको विष स्वत नष्ट भएर जान्छ ।

ग) हात्तिजरा : यो एक प्रकारको जरा जस्तै बनस्पति हो । जण्डीस लागेको बेला यसको रस सेवन गर्नाले जण्डिस उन्मुलन हुन्छ । त्यस्तै अपच भएको बेला यसलाई रस बनाई पिउनाले खाना सजिलै पच्दछ ।

घ) कटुके : रुघाखोकी लागेको बेलामा यसलाई बेसारसँगै पिँधेर सेवन गर्नाले रुघाखोकी लागेको निको हुने हुनाले जुम्लीहरु सधैं कटुकी घरमा राखि रहने गर्दछन् ।

ङ) जिवनबुटी (यार्सागुम्बा) : जुम्लाका भिरपाखाहरुमा पाइने सुनका टिक्राहरु हुन यार्सागुम्बा । रौंहरु बीच जुम्म्रा खोजे जस्तै खोज्नु पर्ने यस जडिबुटीले मुटु रोग तथा हृदयघात हुनबाट जोगाउँदछ । डाक्टरहरु यसलाई पिँधेर मनतातो दुधसँग दिनहुँ खानाले मुटु रोग र हृदयघात नहुने कुरा बताउँछन् ।

च) सिलाजित : सिलाजित अचम्मको औषधी हो । जसले घाउचोट र काटेको ठाउँलाई छिटै निको पार्दछ । यसलाई काटेको या घाउचोट लागेको ठाउँमा लगाउने गरिन्छ । शिलाजित चट्टानहरुमा पाउन सकिन्छ ।

छ) बोजो : हिलोमा हुने बोजो विशेष गरि खोकि लाग्दा यसको टुक्रा मुखमा राखि रस सेवन गर्नाले खोकी निको हुन्छ भने केही गायक गायीकाहरु स्वर राम्रो हुन्छ भन्दै प्रयोग गर्ने गरेको पाइन्छ ।

ज) वनलसुन : यो वनमा पाइने जडिबुटि हो । हृदयघात, ज्वरो र काटेको बेला पिँधेर खाने÷लगाउने गर्नाले निको हुने स्थानीय वासीहरु जनाउँछन् ।

झ) सल्लाको खोटो : सल्लाको खोटोलाई नुन र तेलसँग मिसाएर शरिर फुटेको ठाउँमा लगाउनाले फुटेको निको हुन्छ ।

ञ) तिनइजरी : यो एक प्रकारको झार हो । यसलाई पिँधेर खानाले अपच नहुने र ग्यास्टिक कम हुन्छ भन्छन् त्यहाँका स्थानिय बासी मुन बहादुर वि.क. ।

यी त भए त्यहाँका केही प्रतिनिधी जडिबुटीहरु । यी बाहेक पनि विभिन्न प्रकारका जडिबुटिहरु यहाँ पाउन सकिन्छ । यीनै जडिबुटिहरुको उचित प्रयोग र प्रचार–प्रसार मात्रै गर्न सक्ने हो भने पनि यसबाट मनग्य आम्दानी गर्न सकिन्छ । यी जडिबुटीहरुलाई सरकारी, गैरसरकारी तथा व्यक्तिगत तवरबाट ध्यान दिँदै अग्रगामी कदमहरु चाल्नु पर्ने देखिन्छ साथै जुम्लामा जडिबुटिहरु कै उद्योग खोल्नु पर्दछ । त्यसो गर्दा त्यहाँका जडिबुटिहरुको सदुपयोग हुनुको साथै यसको महत्व बढेर जान्छ ।

कृषि :
जुम्ला नेपालको हिमाली जिल्लामा अवस्थित रहेको जिल्ला हो । मौसमको हिसाबले चिसो ठाउँ भएकोले त्यहाँ स्याउ, ओखर, सिमी अन्य ठाउँहरुको तुलनामा बढि नै उत्पादन हुने गर्दछ । जुम्लाको जुनसुकै ठाउँमा लगाए पनि स्याउ र सिमी प्रशस्त मात्रामा उत्पादन हुने जनाउँछन् स्थानीय कृषकहरु । असोज कात्तिक महिना जुम्लीहरु अन्न भित्राउनमै व्यस्त हुन्छन्।

जुम्लामा उत्पादित स्याउको उचित भण्डारण र विक्रि वितरणको समस्याका कारणले जुम्ली किसानहरु हतोत्साहित भइरहेका छन् । स्थानीय सरकारले किसानलाई कि त स्याउको उचित भण्डारण र विक्रि वितरण गर्ने वातावरण सिर्जना गर्नु पर्दछ या त स्थानीय सरकारले किसानलाई मुनाफा दिएर उत्पादित वस्तुहरु खरिद गरि विक्रि वितरण गर्नु जरुरि रहेको पाइन्छ । यदि यसो गर्न सकेको खण्डमा नेपालमा विदेशी स्याउको आयातमा कमि हुने हुँदा नेपाली मुद्रा बाहिरिन पाउँदैन भने नेपाली स्याउले राम्रो बजार पाउन सक्ने थियो ।

जुम्लाका जंगलहरुको भुमीमा हाल रुखबाट झरेका ओखरहरु विस्कुन सरि लम्पसार छन् । यहाँ दाँते र हाडे दुवै थरिका ओखरहरु पाउन सकिन्छ । ओखरको उत्पादन निकै गर्न सकिने भए पनि त्यसको महत्व नबुझ्दा ओखर र पतिंगरको मूल्य समान छ । हाडे ओखरको तुलनामा खान सजिलोको कारणले दाँते ओखर अलिक प्यारो छ । हाडे ओखरको ठाउँमा दाँते ओखर रोप्ने र त्यसलाई सहज रुपमा विक्रि वितरण गर्न सकेमा जुम्ला बासीको आम्दानीको लागि ओखर सरकारी जागिर भन्दा प्रिय लाग्ने छ ।

स्वादमा गेडागुडीको राजा हो सिमी । त्यसमा पनि यहाँको सिमीमा छुट्टै स्वाद लुकेको पाइन्छ । हो, त्यहाँको जुनसुकै स्थानमा पनि उम्रिन र फल लाग्न सफल गेडागुडी नै सिमी हो । यसको उत्पादन निकै हुने भए ता पनि यसको विक्रि वितरण शहरबजारसम्म पुराउन सकिइरहेको पाइदैन । त्यसैले जुम्लाका किसान तथा व्यवसायीहरु सामान आयातका लागि ल्याएका सवारी साधनहरु(ट्रक, ट्याक्टरहरु) खाली नपठाउने उद्देश्यका साथ अगाडी बढिरहेको स्थानीय व्यवसायी नवराज श्रेष्ठले जनाउनु भयो । यसरी सरसर्ती हेर्दा जुम्ला कृषिमा पनि अगाडी रहे ता पनि उत्पादित वस्तुहरुलाई बजारको अभाव भएको पाइन्छ । यसमा सरकारी तथा स्थानीय निकायको ध्यान पुग्नु आवश्यक छ ।

पर्यटन : 
पर्यटकीय दृष्टिकोणले भौगोलिक कलात्मकता, प्राकृतिकरुपले भरिपूर्ण र रारा ताल जानआउनको लागि ट्रान्जिक्ट प्वइन्ट भएकोले पनि पर्यटनबाट जुम्लीहरुले धेरै लाभ लिन सक्ने सम्भावनाहरु जिवित छन् । जुम्लामा अवस्थित तातोपानी, तिला नदि, स्याउ फार्म, के.टि.एस. डाँडा, सिजा भ्याली, गुम्बा आदि मूख्य पर्यटकीय क्षेत्र हुन् ।

तातोपानी आउने धारालाई जुम्ला जिल्लाको प्रमुख विशेषता भन्दा पनि फरक पर्दैन । त्यहाँ बाह्रै महिना, बाह्रै काल, चौविसै घण्टा तातो पानी बगि रहन्छ । यो पानीले नुहाउँदा शरिर दुखेको निको हुनुका साथै पानी पिउँदा पेटमा रहेका विकारहरु निस्किएर निको हुने हुनाले धेरै टाढा–टाढाबाट स्नान गर्न र पानी पिउनको लागि आउने गरेको पाइन्छ साथै हाल बढ्दै गरेको रारा मोहले गर्दा रारा पुगेर फर्किनेहरु यही तातोपानीमा नुहाउन आउनेको लहर बढेको छ । तर यहाँ फोहोरको उचित व्यवस्थापन नहुदाँ प्रदुषण दिनानुदिन बढ्दै गरेको छ ।

Related image

हालको समितिमा रहेका सदस्यहरुले तातोपानीको व्यवस्थापनका लागि बनेका समितिहरु समय–समयमा फेरिइरहने भएकोले फोहोर मैलाको व्यवस्थापन गर्न गह्रो भएको जनाउँछन् तर अब समितिहरु नफेरिने भएकोले बक्ति, फोहोर राख्नको लागि ठूला बाल्टिहरु र थप कर्मचारी नियुक्ति गरेर सरसफाईलाई विशेष ध्यान दिने जनाउनु भयो । एक स्थानीय व्यवसायी तथा समाजसेवी नवराज श्रेष्ठका अनुसार तातोपानी मुहानमा साबुन निशेधित बनाउन जरुरी रहेको जनाउनु भयो । यही तातोपानीलाई व्यवस्थित गर्दै प्रचार–प्रसार गर्ने हो भने आन्तरिक तथा बाह्य पर्यटकहरुको आवत–जावतले जुम्लीहरुको आम्दानी बढेर जानेछ । जसको प्रत्येक्ष परोक्ष असर देशको पुरै अर्थतन्त्रमा पर्ने देखिन्छ ।

त्यस्तै आखाँमा अटाउन नसक्ने सिजा भ्याली अर्को पर्यटकीय गन्तव्य हो । आहा ! लहलह धान झुल्ने ती फाँटहरु र तीनै फाँटहरुको बीचमा प्यास मेटाउन, गर्मीमा सितलता प्रदान गर्नको लागि कलकल बगिरहने सिजा नदि कुनै लोकमा पनि पाइँदैन जस्तो लाग्छ ।

जुम्ला सदरमुकाम हेर्नकै लागि बनाईए जस्तो लाग्ने गुम्बा भर्खर नुहाएर श्रृंगार गरेकी कुमारी जस्तै देखिन्छ । यी र यस्तै पर्यटकीय सम्भावना बोकेका जिल्ला हो जुम्ला ।

अन्त्यमा, जुम्ला आफैमा धेरै कुराहरुले भरिपूर्ण हुँदा हुँदै पनि राजधानीदेखि टाढा भएकोले सधैं ओझेलमा पर्दै आएको छ । यदि जुम्लालाई नेपाली अर्थतन्त्रको एक करंगकोरुपमा लिएर विकास गर्ने हो भने भोलिका दिनमा जुम्लाले नेपाली अर्थतन्त्रमा मेरुदण्डकै रुपमा उपस्थित हुनेछ । त्यसैले सरकारी स्तरबाट यातायात, शिक्षा, स्वस्थ्य, सुचना, दक्ष जनशक्ति उत्पादन आदि क्षेत्रमा मन फुकाएर लगानी गर्नुपर्ने देखिन्छ साथै सरकारी तथा गैरसरकारी संघसँस्थाहरुले विभिन्न जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्नु जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here