
-विजय खत्री
नेपालको राजधानी काठमाडौंदेखि जुम्ला करिब ८१९ किलोमिटर दुरीमा रहेको छ भने यो सामुद्रिक सतहदेखि करिब ४५१४ मिटर उचाईमा पर्दछ । इतिहासलाई कोट्याउने हो भने नेपाली भाषाको सुरुवात पनि सिजा भ्याली, जुम्लाबाट नै सुरु भएको पाइन्छ । त्यस्तै बाइसे चौविसे राज्यमा विभाजन भएको ताका बाइसे राज्यको राजधानी यही जुम्ला भएको कुरा केही इतिहासकारहरु बताउँछन् । जुम्लामा ललितकलाको विकास र सम्भावना, विभिन्न जडिबुटीहरु, कृषि, पर्यटन आदि पक्षहरुलाई केलाउँदै यीनका विशेषताहरु माथि कलम चलाउने प्रयास गरेको छु ।
ललितकला :
जुम्ला जिल्लामा भित्ते चित्रकला, मूर्तिकला, वास्तुकला, हस्तकलाहरु ठाउँ–ठाउँमा पाउन सकिन्छ । त्यहाँका केही घरका भित्ताहरुमा ठूला–ठूला विभिन्न जिवजनावर, ताल, पहाड, हिमालका चित्रहरु कोरिएका छन् । घरहरुमा लगाइएका रंगहरु पनि प्रकृतिसँग मेल खाने खालका छन् । त्यस्तै पुलको द्वारहरुमा काठका मूर्तिहरु बनाइएका छन् भने जुम्लीहरुको मूर्ति प्रतिको माया, रुचि र अकर्षण कै कारणले गर्दा कर्णाली हस्पताल अगाडी मानव सेजुवालको शालिक स्थानीय बासीको अग्रसरतामा प्राज्ञ धनबहादुर याखाद्वारा वि.स. २०७२ सालमा निमार्ण गरिएको छ । वास्तुकला अन्तरगत ः त्यहाँ भएका सबै घरहरु परम्परागत वास्तुकलाको जगमा टेकेर निमार्ण भएका छन् । बलियोको हिसाबले पनि यहाँ १०० वर्ष भन्दा पुराना घरहरुले वि.स. १९९०, २०४५,२०७२ सालको महाभुकम्पलाई पनि चुनौति दिएर उभिएका छन् । यसलाई हेर्ने हो भने यहाँका घरहरु पहिलेदेखि नै भुकम्प प्रतिरोधी भएको पुष्टि हुन्छ ।
जुम्लीहरु हस्तकलामा आजभन्दा धेरै पहिलेदेखि नै अब्बल देखिन्छन् । उनीहरुले बनाएका राडी, पाखी, कम्बलहरु नेपालमा मात्रै नभएर विदेशका विभिन्न देशहरुमा निर्यात हुने गरेको छ । जसले जुम्लीहरुको आर्थिक वृद्धिमा मात्र नभएर राष्ट्रिय आम्दानीमा पनि सहयोग पुगेको छ । त्यस्तै उनीहरुको घरमा आवश्यक पर्ने सामानहरु आफ्नै वरिपरिको कच्चा पदार्थहरुको प्रयोग गरेर आफै निमार्ण गर्ने गर्दछन् । जस्तै ः डोको, डालो, नाम्लो, नाङ्लो, मान्द्रो, खुर्पेटो, हलो, जुवा आदि ।
यसरी जुम्लीहरु ललितकलामा पहिलेदेखि नै पाइला चालिरहे पनि कलाको मूलधारमा आउन सकिरहेका छैनन् । त्यहाँ स्थित स्थानीय कलाकार उत्तम श्रेष्ठ सिर्जनात्मक क्षमताका भए ता पनि साईन बार्ड लेख्ने, स्केचहरु बनाउने बाहेक कलाका अन्य आयामहरुको बारेमा उनी जानकार नभएको पाइयो । यदि उनि जस्तै कलाकारहरुलाई नेपाली कला, कलाको विकास र महत्वको बारेमा कार्यशाला, गोष्ठी, अन्तरक्रिया जस्ता कार्यक्रममा सहभागी बनाउन सकेमा जुम्ला कलामा पनि धनी हुने कुरामा दुई मत छैन् ।
जडिबुटि :
जुम्लीहरुले धेरै रोगको उपचार आफै आफ्नै घरआगन भिरपाखामा उमारिएका र उम्रिएका जडिबुटीहरुको प्रयोगबाट गर्ने गर्दछन् । जुम्ला जडिबुटिको हिसाबले आत्मनिर्भर छ । शिरदेखि पाउसम्म र टाउको दुखाईदेखि हृदयघातसम्मका रोगहरुको औषधी पाउन सकिन्छ । जस्तै :
क) जटामसी : हाड जोर्नीहरु दुखेको समयमा यसलाई पिँधेर तेल बनाई दुखेको ठाउँमा मसाज गर्नाले दुखाई हटेर जान्छ । जुम्लीहरु जटामसिको तेललाई आफु मात्रै प्रयोग नगरेर हिँउदमा तराइ र पहाडका विभिन्न जिल्लाहरुमा गई विक्रि वितरण गर्ने गरेको पाइन्छ ।
ख) देवदारुको तेल : यो तेलको प्रयोग विशेष गरि गाईवस्तुको शरिरमा पर्ने जुम्राहरु मार्नको लागि प्रयोग गरिन्छ । जसको प्रयोगले वस्तुभाउलाई कुनै पनि असर नगरि जुम्राहरु मार्ने गर्दछ भने सर्पले टोकेको ठाउँमा यसको तेल लगाउनाले सर्पको विष स्वत नष्ट भएर जान्छ ।
ग) हात्तिजरा : यो एक प्रकारको जरा जस्तै बनस्पति हो । जण्डीस लागेको बेला यसको रस सेवन गर्नाले जण्डिस उन्मुलन हुन्छ । त्यस्तै अपच भएको बेला यसलाई रस बनाई पिउनाले खाना सजिलै पच्दछ ।
घ) कटुके : रुघाखोकी लागेको बेलामा यसलाई बेसारसँगै पिँधेर सेवन गर्नाले रुघाखोकी लागेको निको हुने हुनाले जुम्लीहरु सधैं कटुकी घरमा राखि रहने गर्दछन् ।
ङ) जिवनबुटी (यार्सागुम्बा) : जुम्लाका भिरपाखाहरुमा पाइने सुनका टिक्राहरु हुन यार्सागुम्बा । रौंहरु बीच जुम्म्रा खोजे जस्तै खोज्नु पर्ने यस जडिबुटीले मुटु रोग तथा हृदयघात हुनबाट जोगाउँदछ । डाक्टरहरु यसलाई पिँधेर मनतातो दुधसँग दिनहुँ खानाले मुटु रोग र हृदयघात नहुने कुरा बताउँछन् ।
च) सिलाजित : सिलाजित अचम्मको औषधी हो । जसले घाउचोट र काटेको ठाउँलाई छिटै निको पार्दछ । यसलाई काटेको या घाउचोट लागेको ठाउँमा लगाउने गरिन्छ । शिलाजित चट्टानहरुमा पाउन सकिन्छ ।
छ) बोजो : हिलोमा हुने बोजो विशेष गरि खोकि लाग्दा यसको टुक्रा मुखमा राखि रस सेवन गर्नाले खोकी निको हुन्छ भने केही गायक गायीकाहरु स्वर राम्रो हुन्छ भन्दै प्रयोग गर्ने गरेको पाइन्छ ।
ज) वनलसुन : यो वनमा पाइने जडिबुटि हो । हृदयघात, ज्वरो र काटेको बेला पिँधेर खाने÷लगाउने गर्नाले निको हुने स्थानीय वासीहरु जनाउँछन् ।
झ) सल्लाको खोटो : सल्लाको खोटोलाई नुन र तेलसँग मिसाएर शरिर फुटेको ठाउँमा लगाउनाले फुटेको निको हुन्छ ।
ञ) तिनइजरी : यो एक प्रकारको झार हो । यसलाई पिँधेर खानाले अपच नहुने र ग्यास्टिक कम हुन्छ भन्छन् त्यहाँका स्थानिय बासी मुन बहादुर वि.क. ।
यी त भए त्यहाँका केही प्रतिनिधी जडिबुटीहरु । यी बाहेक पनि विभिन्न प्रकारका जडिबुटिहरु यहाँ पाउन सकिन्छ । यीनै जडिबुटिहरुको उचित प्रयोग र प्रचार–प्रसार मात्रै गर्न सक्ने हो भने पनि यसबाट मनग्य आम्दानी गर्न सकिन्छ । यी जडिबुटीहरुलाई सरकारी, गैरसरकारी तथा व्यक्तिगत तवरबाट ध्यान दिँदै अग्रगामी कदमहरु चाल्नु पर्ने देखिन्छ साथै जुम्लामा जडिबुटिहरु कै उद्योग खोल्नु पर्दछ । त्यसो गर्दा त्यहाँका जडिबुटिहरुको सदुपयोग हुनुको साथै यसको महत्व बढेर जान्छ ।
कृषि :
जुम्ला नेपालको हिमाली जिल्लामा अवस्थित रहेको जिल्ला हो । मौसमको हिसाबले चिसो ठाउँ भएकोले त्यहाँ स्याउ, ओखर, सिमी अन्य ठाउँहरुको तुलनामा बढि नै उत्पादन हुने गर्दछ । जुम्लाको जुनसुकै ठाउँमा लगाए पनि स्याउ र सिमी प्रशस्त मात्रामा उत्पादन हुने जनाउँछन् स्थानीय कृषकहरु । असोज कात्तिक महिना जुम्लीहरु अन्न भित्राउनमै व्यस्त हुन्छन्।
जुम्लामा उत्पादित स्याउको उचित भण्डारण र विक्रि वितरणको समस्याका कारणले जुम्ली किसानहरु हतोत्साहित भइरहेका छन् । स्थानीय सरकारले किसानलाई कि त स्याउको उचित भण्डारण र विक्रि वितरण गर्ने वातावरण सिर्जना गर्नु पर्दछ या त स्थानीय सरकारले किसानलाई मुनाफा दिएर उत्पादित वस्तुहरु खरिद गरि विक्रि वितरण गर्नु जरुरि रहेको पाइन्छ । यदि यसो गर्न सकेको खण्डमा नेपालमा विदेशी स्याउको आयातमा कमि हुने हुँदा नेपाली मुद्रा बाहिरिन पाउँदैन भने नेपाली स्याउले राम्रो बजार पाउन सक्ने थियो ।

जुम्लाका जंगलहरुको भुमीमा हाल रुखबाट झरेका ओखरहरु विस्कुन सरि लम्पसार छन् । यहाँ दाँते र हाडे दुवै थरिका ओखरहरु पाउन सकिन्छ । ओखरको उत्पादन निकै गर्न सकिने भए पनि त्यसको महत्व नबुझ्दा ओखर र पतिंगरको मूल्य समान छ । हाडे ओखरको तुलनामा खान सजिलोको कारणले दाँते ओखर अलिक प्यारो छ । हाडे ओखरको ठाउँमा दाँते ओखर रोप्ने र त्यसलाई सहज रुपमा विक्रि वितरण गर्न सकेमा जुम्ला बासीको आम्दानीको लागि ओखर सरकारी जागिर भन्दा प्रिय लाग्ने छ ।
स्वादमा गेडागुडीको राजा हो सिमी । त्यसमा पनि यहाँको सिमीमा छुट्टै स्वाद लुकेको पाइन्छ । हो, त्यहाँको जुनसुकै स्थानमा पनि उम्रिन र फल लाग्न सफल गेडागुडी नै सिमी हो । यसको उत्पादन निकै हुने भए ता पनि यसको विक्रि वितरण शहरबजारसम्म पुराउन सकिइरहेको पाइदैन । त्यसैले जुम्लाका किसान तथा व्यवसायीहरु सामान आयातका लागि ल्याएका सवारी साधनहरु(ट्रक, ट्याक्टरहरु) खाली नपठाउने उद्देश्यका साथ अगाडी बढिरहेको स्थानीय व्यवसायी नवराज श्रेष्ठले जनाउनु भयो । यसरी सरसर्ती हेर्दा जुम्ला कृषिमा पनि अगाडी रहे ता पनि उत्पादित वस्तुहरुलाई बजारको अभाव भएको पाइन्छ । यसमा सरकारी तथा स्थानीय निकायको ध्यान पुग्नु आवश्यक छ ।
पर्यटन :
पर्यटकीय दृष्टिकोणले भौगोलिक कलात्मकता, प्राकृतिकरुपले भरिपूर्ण र रारा ताल जानआउनको लागि ट्रान्जिक्ट प्वइन्ट भएकोले पनि पर्यटनबाट जुम्लीहरुले धेरै लाभ लिन सक्ने सम्भावनाहरु जिवित छन् । जुम्लामा अवस्थित तातोपानी, तिला नदि, स्याउ फार्म, के.टि.एस. डाँडा, सिजा भ्याली, गुम्बा आदि मूख्य पर्यटकीय क्षेत्र हुन् ।
तातोपानी आउने धारालाई जुम्ला जिल्लाको प्रमुख विशेषता भन्दा पनि फरक पर्दैन । त्यहाँ बाह्रै महिना, बाह्रै काल, चौविसै घण्टा तातो पानी बगि रहन्छ । यो पानीले नुहाउँदा शरिर दुखेको निको हुनुका साथै पानी पिउँदा पेटमा रहेका विकारहरु निस्किएर निको हुने हुनाले धेरै टाढा–टाढाबाट स्नान गर्न र पानी पिउनको लागि आउने गरेको पाइन्छ साथै हाल बढ्दै गरेको रारा मोहले गर्दा रारा पुगेर फर्किनेहरु यही तातोपानीमा नुहाउन आउनेको लहर बढेको छ । तर यहाँ फोहोरको उचित व्यवस्थापन नहुदाँ प्रदुषण दिनानुदिन बढ्दै गरेको छ ।

हालको समितिमा रहेका सदस्यहरुले तातोपानीको व्यवस्थापनका लागि बनेका समितिहरु समय–समयमा फेरिइरहने भएकोले फोहोर मैलाको व्यवस्थापन गर्न गह्रो भएको जनाउँछन् तर अब समितिहरु नफेरिने भएकोले बक्ति, फोहोर राख्नको लागि ठूला बाल्टिहरु र थप कर्मचारी नियुक्ति गरेर सरसफाईलाई विशेष ध्यान दिने जनाउनु भयो । एक स्थानीय व्यवसायी तथा समाजसेवी नवराज श्रेष्ठका अनुसार तातोपानी मुहानमा साबुन निशेधित बनाउन जरुरी रहेको जनाउनु भयो । यही तातोपानीलाई व्यवस्थित गर्दै प्रचार–प्रसार गर्ने हो भने आन्तरिक तथा बाह्य पर्यटकहरुको आवत–जावतले जुम्लीहरुको आम्दानी बढेर जानेछ । जसको प्रत्येक्ष परोक्ष असर देशको पुरै अर्थतन्त्रमा पर्ने देखिन्छ ।
त्यस्तै आखाँमा अटाउन नसक्ने सिजा भ्याली अर्को पर्यटकीय गन्तव्य हो । आहा ! लहलह धान झुल्ने ती फाँटहरु र तीनै फाँटहरुको बीचमा प्यास मेटाउन, गर्मीमा सितलता प्रदान गर्नको लागि कलकल बगिरहने सिजा नदि कुनै लोकमा पनि पाइँदैन जस्तो लाग्छ ।
जुम्ला सदरमुकाम हेर्नकै लागि बनाईए जस्तो लाग्ने गुम्बा भर्खर नुहाएर श्रृंगार गरेकी कुमारी जस्तै देखिन्छ । यी र यस्तै पर्यटकीय सम्भावना बोकेका जिल्ला हो जुम्ला ।
अन्त्यमा, जुम्ला आफैमा धेरै कुराहरुले भरिपूर्ण हुँदा हुँदै पनि राजधानीदेखि टाढा भएकोले सधैं ओझेलमा पर्दै आएको छ । यदि जुम्लालाई नेपाली अर्थतन्त्रको एक करंगकोरुपमा लिएर विकास गर्ने हो भने भोलिका दिनमा जुम्लाले नेपाली अर्थतन्त्रमा मेरुदण्डकै रुपमा उपस्थित हुनेछ । त्यसैले सरकारी स्तरबाट यातायात, शिक्षा, स्वस्थ्य, सुचना, दक्ष जनशक्ति उत्पादन आदि क्षेत्रमा मन फुकाएर लगानी गर्नुपर्ने देखिन्छ साथै सरकारी तथा गैरसरकारी संघसँस्थाहरुले विभिन्न जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्नु जरुरी छ ।

















