ए पशुपति के मागौं ?
तेरै काखभरि सुखको अभिलाशामा
कयौ भोका नांगा असाहया दुःखीहरु
एक मुठि अन्न र एक मुठि सासको
भिख मागिरहेछन्
तेरो मुर्ति, तेरो टुडाल, तेरो गजुर
रमिता हेरिरहेछ टुलुटुलु, नजवाफ छ
एक मुठि सास पनि बन्धक राखेर
सदैव तँ प्रति आस्थावान
भक्तहरुले के पाउँछन्
के दिन सक्छस् र के दिइ रहेको छस् ?
म एउटा भिखारी
सपनाको रंगिनतामा
चिसाम्य बस्तिहरुको माझ
न्यानो आभाषको भिख मागिरहेछु
अलिकति भक्ति साचेर
अलिकति आस्था च्यापेर
अलिकति बिश्वास बोकेर
तेरो शरण पर्न तल्लिन म
तेरो स्वप्निल दुनियामा भौतारिरहेको म
यो ढोगी मनमा यी धुलाम्मे पाइलाहरुमा
मात्र तेरो अन्तिम साक्षात्कार थियो
तेरो छातीमा लुटपुटिन्छु, रमाउँछु र
दुनियासँग जुध्न सक्छु ।
तर कुरुप छु मेरा चाहना प्रति
सम्बेदना छ तेरो दयाबाद प्रति
तेरो पोल्टानेर पुगेपछि
मेरो भक्ति, आस्था, बिश्वासलाई
सुम्सुम्याउँछु र तिलाञ्जली दिन्छु
म एउटा भिख माग्ने भिखारी
ए पशुपति तलाई एउटा प्रश्न छ
तेरो जवाफ सुन्नको साक्षी
साढे पनि
पर्खाइमै तेरो अघि छ
कैले दिन सक्छस् जवाफ दे
त दयालु कि म ?
त भिखारी कि म ?
म उभिएको मेरो बिश्वास
म उभिएको मेरो सभ्यता
म उभिएको मेरो माटो
मेरो नहोला कि भनेर
एक मुठ्ठि माटो मुठि कसेर
तेरै मौन आँखा अघि
बाग्मती किनारमा
मट्टि दिनलाई
म
मेरै लाशको पर्खाइमा छु ।

एन.बी.अन्जान
पाँचथर
विश्व_कविता_दिवशकाे_शुभकामना


















