धनगढीमा मोवाइलबाटै विकास निर्माणको जानकारी

105

कैलाली । धनगढी उप–महानगरपालिकाले नगर क्षेत्रमा भइरहेका विकास निर्माणका गतिविधि मोवाइलबाटै जानकारी दिन थालेको छ । उप–महानगरपालिकाले सुशासन कायम गराउने उद्देश्यले पूर्वाधार व्यवस्थापन प्रणाली लागू गरेको हो । पूर्वाधार विकास प्रणाली अन्तर्गत नागरिकहरुले आफ्नो मोवाइलबाटै विकास निर्माणको जानकारी लिइरहेका छन् ।
७५३ वटा स्थानीय तहमध्ये धनगढी उप–महानगरपालिकामा पहिलो पटक यो प्रणाली सुरु गरिएको ग्राम विकास तथा अनुसन्धान केन्द्र सुशासन परियोजनाका जिल्ला संयोजक ठाकुर करिया प्रधानले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, ‘७५३ वटा स्थानीय तहमध्ये हामीले धनगढीमा यो प्रणालीलाई प्रयोगमा ल्याएका छौं । अब घरमै बसेर वा कार्यालयमै बसेर पनि विकास निमार्णको गतिविधि अवलोकन गर्न सकिने छ ।’
विकास निर्माणमा हुने ठूलो आर्थिक चलखेल र न्यून गुणस्तरीय कामको अन्त्य गर्न यो प्रणाली सुरु गरिएको उहाँको भनाइ छ । नगर क्षेत्रमा भइरहेका कामहरुको लागत, ठेक्का मिति, अन्तिम समय, लागतको अवस्था इन्टरनेटको माध्यमबाट अहिले सर्वसाधरणले जानकारी लिइरहेका छन् ।
नगरपालिका भित्रमा रहेका सबै वडामा पूर्वाधार व्यवस्थापन प्रणालीको मोबाइल एपमार्फत योजनाका बारेमा गुनासो पनि राख्न सकिने व्यवस्था गरिएको छ । उपमहानगरपालिकाका भौतिक पूर्वाधार सम्बन्धीका गतिविधि इन्टरनेटबाट हेर्न सकिने उप–महानगरपालिकाले जनाएको छ । विकास निर्माणमा भएका कमजोरी र प्रगतिका विषयमा सर्वसाधरणले पनि सुझाव दिन मिल्ने व्यवस्था गरिएको छ ।
अहिलेसम्म १५० ओटा सुझाव र गुनासो आइसकेको धनगढी उप–महानगरपालीकाका सूचना प्रविधि अधिकृत सुयश चन्दले जानकारी दिनुभयो । पूर्वाधार व्यवस्थापन प्रणाली लागू भएपछि पारदर्शिता र गुणस्तरीय काम भइरहेको उपमहानगरपालिका प्रमुख नृपबहादुर वडको दाबी छ । ‘बिगतका दिनहरुमा कागजमै काम सम्पन्न गरेर भुक्तानी बुझ्नेहरुलाई सबैभन्दा ठूलो झड्का लागेको छ,’ उहाँले भन्नुभयो– जनताको निगरानीमा काम हुने भएपछि ढिलासुस्ती, गुणस्तरहीन र लापबाही गर्ने अवस्था छैन ।’
विकासको पहिलो चरणदेखि अन्तिम अवस्थासम्मका गतिविधिहरु इन्टरनेटको माध्यमबाट आम नागरिकले सजिलै हेर्न पाउँने भएकाले पारदर्शी र चुस्त काम हुने उपप्रमुख सुशीला मिश्र भट्टको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here