काठमाडौं । काराेबारकाे दोस्रो कारोबार दिन पनि सेयर बजारमा गिरावट भएको छ ।
बिहीबार सेयर बजार परिसूचक नेप्से १६.६७ अंक (०.८८ प्रतिशत) ले गिरावट हुँदा १८७१.८८ अंकमा बन्द भएको छ । व्यापार उपसूचक बढेपनि बजारलाई लिड गर्ने बैंकिङ सहित अरु सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो । व्यापार उपसूचक १.२१ प्रतिशतले वृद्धि हुँदा निर्जीवन बीमा, लघुवित्त, विकास बैंक, वित्त कम्पनी र हाइड्रोपावर उपसूचक १ प्रतिशत भन्दा माथिले गिरावट भएको छ । यस्तै बैंकिङ उपसूचक पनि ०.७५ प्रतिशतले घटेको हो ।
जसमध्ये नबिल बैंकको सर्वाधिक ३ करोड ६३ लाखको कारोबार हुँदा एनआईसी एशिया बैंकको २ करोड ९३ लाख रुपैयाँ र ग्लोबल आईएमई बैंकको २ करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ ।
यता एशियन हाइड्रोपावर कम्पनीको सेयरमूल्य ५.०३ प्रतिशतले गिरावट हुँदा मायाखोला हाइड्रोपावरको सेयरमूल्य ४.८१ प्रतिशत र जाल्पा सामुदायिक लघुवित्तको सेयरमूल्य ४.४७ प्रतिशतले गिरावट भएको छ ।


















