सबै आफ्नो सीमामा बस

259

राज्यका कुनै पनि निकायमा सबै शक्ति निहित हुने हो भने उक्त पद धारण गर्ने व्यक्ति निरंकुश बन्न सक्छ भनेर नै शक्ति पृथकीकरणको सिद्धान्त विश्वभर अपनाउन थालिएको हो । विशेषगरी प्रजातान्त्रिक मुलुकहरुमा विभिन्न निकाय खडा गरेर शक्ति बाँड्ने प्रचलन रहेको छ । शक्ति पृथकीकरणको मुख्य आशय नै राज्यको सम्पूर्ण शक्ति एउटै निकायमा रहनु हुँदैन भन्ने हो । त्यसैले नै कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अवधारणा आएको हो । विश्वमा धेरै पहिलेदेखि नै शक्ति पृथकीकरणको अवधारणा रहे पनि विशेषतः फ्रान्सका विद्वान् मन्टेस्क्युले यो सिद्धान्तलाई सर्वसाधारणमाझ ल्याउने काम गरेका हुन् । हाम्रो देशमा पनि शक्ति पृथकीकरणको अवधारणालाई नै बुझेर विभिन्न निकायमा शक्ति विभाजन गरिएको छ । कुनै पनि निकाय निरंकुश बन्न खोजे, गलत काम गरे, संविधानको मर्मविपरीत अन्याय गर्न थाले, अर्को निकायले अंकुश लगाउने काम गर्दछ । यी निकायबीच सम्बन्ध सुमधुर रहेमा र एकले अर्कोको सीमा नाघ्ने प्रयत्न नगरे राज्यमा शान्ति अमनचैन रहन्छ । तर, कहिलेकाहीँ यी निकायहरुबीचमा नै अघोषित द्वन्द्व देख्न पाइन्छ, जसले सम्पूर्ण राज्यमा नै गलत असर पुग्दछ ।
नेपालमा समयसमयमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच मनमुटाव भएको पाइन्छ । हालै मात्र पनि यी तीन निकायबीच मनमुटावको अवस्था सृजना भयो । विशेषगरी सर्वोच्च अदालतमा प्रधानन्यायाधीश भएलगत्तै सुशीला कार्कीले आक्रामक रुपमा पुराना र नयाँ केही मुद्दाहरुको फैसला गरिन्, जसले राजनीतिक, सामाजिक तरंगहरु ल्यायो । कार्कीको न्यायनिरुपणले केही विवाद ल्यायो त केहीले प्रशंसा पनि पायो । उनले गरेका धेरैजसो फैसलाले जनमानसलाई दुई भागमा विभक्त ग¥यो । केहीले प्रशंसा र केहीले आलोचना पनि गरे । पछिल्लो समय न्यायपालिकाले कार्यपालिकाले गर्ने निर्णयहरुमा पनि अघि सरेर फैसला गर्ने, आदेश दिने काम गर्न थाल्यो, जसले गर्दा यी दुई निकायबीच शीतयुद्ध सुरु भयो । अख्तियार प्रमुख लोकमानसिंह कार्की प्रकरण, नेपाल प्रहरीको आईजीपी प्रकरण, मैना सुनुवार हत्याकाण्ड, बालकृष्ण ढुंगेल प्रकरण, सुडान घोटाला प्रकरण आदिमा सर्वोच्चले तदारुकताका साथ फैसला ग¥यो, जसमा केही प्रकरणमा कार्यपालिकाले चित्त दुखायो । यही क्रममा नै सत्तारुढ दलका सांसदहरुले प्रधानन्यायाधीश कार्कीविरुद्ध व्यवस्थापिका संसद्मा महाअभियोग प्रस्ताव दर्ता गरे । तर, उक्त प्रस्तावविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता गरियो । रिट निवेदनमा न्यायाधीश चोलेन्द्र शमशेर जबराले निकै भावुक आदेश जारी गरी प्रधान्यायाधीशलाई काममा फर्कने बाटो खोले । यसले व्यवस्थापिका संसद् रुष्ट बन्यो । व्यवस्थापिकामा प्रवेश गरिसकेको विषयमा न्यायपालिकाले हस्तक्षेप गर्न खोजेको र सर्वोच्च अदालत आफ्नो सीमामा बस्नुपर्ने सभामुख ओनसरी घर्तीमगरले सार्वजनिक रुपमा नै जनाइन् ।
यसले यी तीन निकायबीच द्वन्द्वको अवस्था सृजना भयो । कुनै पनि निकाय आफ्नो सीमाभन्दा बाहिर गए त्यसले अवश्य नै द्वन्द्व सृजना गर्छ नै । तीनै निकायले आफ्नो सीमा र कार्याधिकार बुझ्न जरुरी छ । उदाहरणका लागि न्यायपालिकाले जसरी लोकमानसिंह प्रकरणमा कनकमणि दीक्षितलाई काखी च्याप्ने काम ग¥यो, आईजीपी प्रकरणमा कार्यपालिकाले गलत र अयोग्य व्यक्तिलाई आईजीपी बनाउने प्रयास ग¥यो, यी दुवैमा अतिवाद हुन् । त्यस्तै, संसद्मा प्रवेश गरेको विषयलाई अदालतले रोक्ने काम पनि सीमा नाघ्ने काम हो । यसले राज्यमा अस्थिरता सृजना गर्ने र देशको स्वाभिमान र स्वाधीनता खलबल्याउन खोज्ने तत्वहरुलाई मात्र मलजल पुग्छ । यो सबैले बुझ्न जरुरी छ । कुनै पनि निकाय अराजकतातर्फ अग्रसर हुनुहुन्न । सबै आफ्नो सीमामा बस्नुपर्छ । अहिले शक्ति पृथकीकरणको सिद्धान्तअनुसार एक अर्कालाई चाहिएको जति सहयोग र समन्वयको अभाव देखिएको छ । यसर्थ शक्ति पृथकीकरणको सिद्धान्त जीवित राख्नलाई एउटा अंगका सदस्यहरुले अर्को अंगको काम कारबाहीमा भाग लिनुहुँदैन । एकले अर्कोमाथि हस्तक्षेप वा नियन्त्रण गर्नु हुँदैन, एउटा अंगले अर्को अंगले गर्ने किसिमका कामहरु गर्नु हुँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here